मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलकोटमा आँखा उपचार केन्द्र स्थापना

गलकोटमा आँखा उपचार केन्द्र स्थापना


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७७, शनिबार

बागलुङ, १७ माघ– ग्रामीण भेगका जनसाधारणलाई लक्षित गरी गलकोट नगरपालिका–७ मल्ममा ‘श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । केन्द्रको बिहीबार वडाध्यक्ष टीकाबहादुर थापाले शुभारम्भ गरेका थिए । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका उपाध्यक्ष वसन्त केसीले बताए । केन्द्र स्थापनाका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक सहयोग गरेको छ ।

‘उपकरणदेखि स्वास्थ्यकर्मी र कर्मचारीको प्रबन्ध पनि श्रीकृष्ण नेत्रालयमार्फत भएको छ’, उपाध्यक्ष केसीले भने, ‘वडा र नगरपालिकासँग समन्वय गरेर आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।’ केन्द्रमा इञ्चार्जका रुपमा आरपी पहाडी र प्राविधिक छमी बोहरा छन् । तत्काललाई शल्यक्रियाबाहेकका सबै उपचार सेवा केन्द्रबाट प्रदान हुने र छिट्टै शल्यक्रिया सेवा पनि शुरु गर्ने तयारी छ ।

श्रीकृष्ण नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीले दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार सेवा केन्द्रबाट प्रदान हुने बताए । डा केसीले भने, ‘आँखाको सामान्य उपचार गर्न, चश्मा लिन अब टाढा जानुपर्ने अवस्था आउँदैन ।’

गलकोटमै जन्मनुभएकी डा केसीले केन्द्र स्थापनाका लागि विशेष पहल गरेका थिए । ‘म गलकोटमा भएका आँखा शिविरमा जाँदा धेरै व्यक्तिमा आँखाको समस्या भेट्थेँ, शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या उत्तिकै हुन्थ्यो’, डा केसीले भने, ‘त्यसपछि गलकोटबाटै आँखा उपचार सेवा दिनुपर्छ भन्ने सोच आयो ।’

घरदैलोमै पुगेर बालबालिकाको आँखा जाँच गर्ने र उपचार आवश्यक पर्नेलाई केन्द्रमा ल्याएर सेवा दिइने उनको भनाइ छ । हाललाई खाली रेडक्रस भवनबाट केन्द्र सञ्चालनमा ल्याए पनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना व्यवस्थापन समितिको छ । वडाध्यक्ष थापाले आँखा उपचार केन्द्रको सेवालाई सहज र स्तरीय बनाउन वडाले आवश्यक सहयोग गर्ने बताए ।

केन्द्रमार्फत तीन÷तीन महिनाको अन्तरमा निःशुल्क आँखा उपचार शिविरसमेत गरिने भएको छ । आँखा उपचार केन्द्रको पूर्वाधार निर्माण, उपकरण खरीदलगायत व्यवस्थापकीय काममा गलकोट समाज जापानले पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->