आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कार्यकर्तालाई नत्थी, नेतालाई मस्ती र नागरिकलाई सास्ती !

कार्यकर्तालाई नत्थी, नेतालाई मस्ती र नागरिकलाई सास्ती !


  • नारायण प्रसाद शर्मा रेग्मी
  • माघ १८ २०७७, आइतबार

कुनै कामको लागि संगठित वा असंगठित रुपमा पारिश्रमिक पाउने वा नपाउने गरि परिचालित व्यक्ती वा समूहलाई कार्यकर्ता भनिन्छ । सरकारी तथा गैरसरकारी संघ संस्थामा वेतनधारी रुपमा नियुक्त यस्ता व्यक्तिहरुलाई कर्मचारी भन्ने गरिन्छ । कार्यकर्ता सामाजिक, राजनीतिकलगायतका हुन्छन् । यहाँ राजनीतिक कार्यकर्ताका विषयमा विश्लेषण गर्न खोजीएको छ । हाम्रो देशको वर्तमान परिवेश वा अवस्थालाई राजनीतिक रुपमा हेर्दा संविधानतः दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त वा अप्राप्त कुनै राजनीतिक दल अथवा सो सँग सम्बन्धीत क्षेत्रमा सक्रिय तथा क्रियाशिल रहेका उच्चतम व्यक्ति वा राजनीतिज्ञलाई नेता भनिन्छ भने ती नेतासँग आवद्ध रहेका माथिदेखी तल्लो तहसम्मका व्यक्ती वा समूहलाई कार्यकर्ता भनिन्छ । त्यस्तै आफ्नो देशको भूगोलभित्र वा बाहिर रहेर राज्यको नीतिनियमलाई अक्षरशः पालना गर्दै कर्तव्यबोधका साथ स्वतन्त्रतापूर्वक बसेका मुलुकको इमान्दार, निष्ठावान् , देशभक्त व्यक्तिहरुलाई वास्तविक अर्थमा सच्चा नागरिक भनिन्छ । हामीकहाँ कुनै पनि नागरिक आफ्नो इच्छा अनुसारको दलमा आवद्ध भै कार्यकर्ताहुँदै नेता बन्न सक्दछ । यहाँ राजनीतिक दलसँग सम्बन्धीत कार्यकर्ताहरु धेरै प्रकारका भएको पाइन्छ । तीमध्ये केहि वैधानिक आवद्धता त कोही साधारण, आस्थावान् र भित्र सुसुप्त रुपमा लुकेर बसेका वा विभिन्न स्वार्थ समूहमा झुण्डीएर रहेका हुन्छन् । तीनलाई देहाय बमोजिमका विश्लेषण गर्न सकिन्छ ।
१. वैधानिक कार्यकर्ता ः तल्लो तहदेखि माथिल्लो तहसम्म कुनै दल वा पार्टी को सदस्यता लिई सोमा आवद्ध भै निरन्तर र सक्रिय रुपमा संस्थाको हित सोचेर नीति पद्दती अनुसार जवाफदेहीपूर्ण रुपले क्रियाशील भै खट्ने व्यक्ति वा समूहहरु । साधारणतया यी स्थायी प्रकृतिका हुन्छन् र प्रायः संस्थागत रुपमा सुविधासमेत लिएका हुन्छन् ।
२. साधारण कार्यकर्ता ः कुनै पार्टी वा दलको नीति सिद्धान्त र घोषणापत्र मन परेर उसैको पक्षमा वकालत गरि सहयोगी भूमिकामा रहेर काम गर्ने ब्यक्ति वा समूहहरु जसलाई संस्थाको पनि भरोसा र विश्वास रहेको हुन्छ । यिनीहरुले संस्थागत वा ब्यक्तीगत रुपमा फाइदा लिदै वैकल्पिक कार्यकर्ताका रुपमा सुरक्षित रहेका हुन्छन् ।
३. आस्थावान् कार्यकर्ता ः नीति विचार र व्यवहार तथा घोषणापत्रका आधारमा विश्वास र समर्थन गर्ने जो–कोही कुनै पनि दल वा संस्थामा लागेका हुन्छन् ति यसअन्तर्गत पर्दछन् । यी ब्यक्ति वा समूह स्वतन्त्र हुन्छन् राम्रो गर्दासम्म मात्र सहयोग गर्दछन अनि यिनीहरु निर्णायक भूमिकामा पनि रहेका हुन्छन् प्रायः यिनीहरु स्वतन्त्र नै रहन रुचाउँछन् भने विवेकशील, इमानदार र निष्ठावान् पनि हुन्छन् ।
४. सुसुप्त वा स्वार्थी समूह ः नीति, सिद्धान्त र कुनै विचार मिले वा नमिले पनि अनुचित लाभ वा सेवासुविधा र सुरक्षा लिएका वा पाउने आशामा झुण्डिएका, नातागोता, आसेपासे, चन्दादाताहरुको झुण्ड समूहहरु र सानादेखि ठूला–ठूला व्यापारी, उद्योगी, धनाढ्यसमेत यसमा रहेका हुन्छन् । यस्ता समूहले चुनावमा तन, मन र धनले काफी सहयोग गरेका हुन्छन् तर चुनावपछि सधै दल, पार्टी वा संस्थालाई अफ्ठ्यारोमा पारिरहेको हुन्छ । यी विचार मिल्नेसंग बढी नजिक भएपनि नमिल्नेसंग पनि समदूरी राखेर सहयोगी भूमिकामा रहेका हुन्छन् आवश्यक सहयोग सबैलाई गर्ने र सत्तामा जो पुगेपनि सहयोगको बदलामा सबैबाट मनग्य फाइदा लिन पल्केका हुन्छन् ।
यसरी हेर्दा हाम्रा देशका दल वा दलमा संगठित नेताहरुले कुनै न कुनै तरिकाले जनतालाई आफूप्रति भरोसा र बफादार बनाई राख्न केहि सुविधा दिएर बाँधिरहेको पाइन्छ । हालको परिस्थितिलाई नियालेर हेर्दा अधिक कार्यकर्ताहरुले आवद्ध दल वा नेतृत्वबाट विभिन्न प्रकारले कुनै न कुनै लाभ वा फाइदा लिएको पाइन्छ । जस्तैः कोही अस्थायी वा करार जागिर, कोही विद्यालय व्यवस्थापन समितिलगायत अन्य नाफामूखी वा सम्मानित संघसंस्थाको अध्यक्ष वा पदाधिकारी, सरुवा, बढुवा, पुरस्कार, राहत सहयोग, निर्माण उपभोक्ता समितिको अध्यक्ष, ठेक्कापट्टा तथा यस्तै यस्तै सेवा र नाफामूलक स्थानमा थन्क्याएर राखेका हुन्छन् । नेताहरु आफू आन्तरिक रुपमा टुटफुट र दलबदल गर्दा पनि यी कार्यकर्ताहरुलाई आ–आफ्ना खेमामा विभक्त गरेर हनुमान् बनाएर हिँडालेको पाइन्छ । हामीले देखे भोगेकै छौ यस्ता समूह वा कार्यकर्ताहरुलाई हरहमेसा सिट्ठीको भरमा कुद्ने र नारा जुलुसमा खट्ने मात्र होइन दायाँबायाँ लाग्न नसक्ने गरी नत्थी लगाएर राखेका हुन्छन्, जसलाई आवश्यक पर्दा भरमग्दूर उपयोग गरी आफ्नो जित सुनिश्चित गर्न वा दुनो सोझाउन सक्ने गरी नियन्त्रणमा राखेको पाइन्छ ।
यसरी हेर्दा वास्तवमा हाम्रा नेता महोदयहरु जसरी नि सत्ता र पार्टीमा टिक्नकै लागि आफ्ना कार्यकर्तालाई विभिन्न प्रलोभन वा वैध वा अवैधानिक तवरले सेवा सुविधा उपलब्ध गराई नियन्त्रणमा राखी तिनीहरुकै मत र बलमा सत्तामा टिक्ने र उनै नागरिकको हकहित माथि कुठाराघात गर्दै राज्य संयन्त्र र सार्वजनिक सम्पतिको दुरुपयोग गरी देश विकास र जनहितकारी कामभन्दा व्यक्ति र आफू अनि आफन्त हितकारी काममा तल्लीन रहेको पाईन्छ । यस्तो अवस्थामा ‘हरेक नागरिकले बुझ्नु पर्ने कुरा यो छ कि हामीलाई सिमित वा सुक्ष्म सुबिधाको प्रलोभनमा राख्दै नेताजीहरु मस्ती गरिरहेका छन् ।’ हामीले तिरेको कर, राजस्वको सहि सदुपयोग गर्नका लागि यीनै नेताद्वारा निर्मित राज्यको वर्तमान नीतिलाई नै कडाइका साथ प्रयोग गरी व्यवहारमा लैजान सके मात्र पनि हामी र हाम्रा सन्ततिलाई फ्री शिक्षा, स्वास्थ्य र रोजगारीको साथै अन्य सेवा सुविधाको सुनिश्चितता हुनसक्दछ भन्नेतर्फ हामीहरु सबैको ध्यान पुगेजस्तो लाग्दैन । उनीहरुले दिएको कृपादानको सुबिधा खोसिने डरले केहि बोल्न नसकी नेतृत्वलाई छाडा छोड्ने गरेको पाइन्छ, यसमा हामीहरुनै धेरै दोषी छौ । जसले गर्दा हाम्रा नेतृत्वहरु राज्यकोषको दुरुपयोग गरि निर्लज्ज रुपले सुख सयलमा रमाएर मस्ती गर्दै बिलासी जिवन बिताईरहेका छन्, यो साहै्र लज्जाको विषय हो । उनीहरु आज देश विकास र जनजिविकाका विषयमा नभै व्यक्तिगत स्वार्थका लागि टुटफुट गर्दछन अनि फेरि मिल्दछ्न । मिल्दा सबै पवित्र, असल र विकासप्रेमी देखिन्छन् तर स्वार्थ नमिल्दा वा लाभबाट बन्चित हुँदा तुरुन्तै फुट्दछन् अनि एकआपसमा अति निकृष्ट र कुण्ठाग्रस्त भएर एक अर्कालाई खरो आलोचना गर्दछन् अनि फेरि स्वार्थ मिल्दा बित्तिकै बडो असल नेता मानि उनैको गुणगान र प्रशंसा गर्दै मिलेर संगै रहन्छन् अनि कार्यकर्ता र नागरिकलाई रनभुल्ल र जिल्ल पार्दछन यस्तो कलाले भरिपूर्ण हाम्रा नेताले मुलुकलाई भने पश्चगमनतर्फ धकेली रहेका छन् ।
अन्ततः यस प्रकार आ–आफ्ना कार्यकर्तालाई बिभिन्न तहमा भुलाएर नेता र नेतृत्वहरुले सच्चा नागरिकलाई सास्ती दिएको पाइन्छ । यहाँका केहि टाठाबाठा नागरिकलाई आफ्नो जालोमा फसाएर केहि सिमित दानापानी र चारो दिएर गलामा दाम्लोले बाँधेर राखेझै आफ्नो भक्तिगान गाउन लगाएर सच्चा निष्ठावान नागरिकलाई राज्यको तर्फबाट पाउने सेवा सुविधाबाट समेत बन्चित गरी भारी कर मात्र तिर्न बाध्य गराईन्छ । सोझासोझी र निरीह सहाराबिहिन नागरिकको झिनो आवाजलाई सुन्ने वा सुन्ने ठाउँसम्म पुर्याइदिने हाम्रो समाजमा कोहि पनि देखिदैन जस्ले गर्दा अधिक नागरिकले सार्ह्रै दुख पाइरहेका हुन्छन् । हामीकहाँ नेता कार्यकर्तामुखी कार्यकर्ता नेतामुखी मात्र चिन्तित, जवाफदेहि र बफादार देखिन्छन् नकि देशको विकास, सुशासन, सामाजिक न्याय अनि शोषित पीडित उत्पीडित, गरिब, निमुखा र सोझा इमान्दार नागरिकको जनजिविका र पिडाप्रति । यहाँ नेतृत्व र नेता छनौटमा भने यहि क्षेत्रका नागरिकको अहम् भूमिका रहेको हुन्छ । जहाँ जसको एक मतले नेता नेतृत्व मा पुगे उनैले कसैलाई नत्थी र कसैलाई सास्ती दिँदै आफूले मस्ती गरिरहेका छन् । यो हो वर्तमान नेपालको वास्तविक अवस्था । जो–कसैको कठपुतली न बनी स्वतन्त्र छन् उनीहरुनै हुन यहाँका सच्चा कार्यकर्ता देशभक्त असल राष्ट्रका सपूत अनि राष्ट्रिय कार्यकर्ता । किनकी अन्तिममा यीनै सच्चा देशप्रति बफादार नागरिकको एक÷एक मत निर्णायक र अनन्तकालसम्म चिरस्थायी रहि नेता वा नेतृत्व र व्यवस्थामा उपयोग भएको हुन्छ । तसर्थ कसैका गोटी नबनी सबै नागरिक यस्तै सच्चा राष्ट्रका कार्यकर्ता बन्नु देश विकासका लागि नितान्त आवश्यक छ । तबमात्र देश विकास सम्भव छ । नत्र भने युगौँयुगसम्म हाम्रो देशको अवस्था यस्तै रहनेछ जसका लागि उनै नत्थीवाला कार्यकर्ता नै बढी दोषी रहनेछन् जसलाई देशले सराप्ने छ । त्यस्तै देशलाई सकारात्मक रुपले बदली उन्नति र प्रगतिको गोरेटोमा हिँडाउन यीनै मस्तीवाला नेता र नेतृत्वको गिदीमा पनि स्वदेशीपनको सद्बुद्धि पलाउनु नितान्त आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->