मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

बागलुङ, २१ माघ– गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. ९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ ।
बागलुङ घर भई हाल हङकङमा रहेकी टीका राना र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँच÷पाँच जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष दीपक थापाले संयुक्त रुपमा सामग्री हस्तान्तरण गरे । ६० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको अक्षयकोषका सञ्चालक विजय रानाले जानकारी दिए ।
विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एक÷एक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिती अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।
जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टी लागेको प्रतिक्रिया दिए । ‘बाढी प्रभावितको पीडा विस्तारै कम हुँदै गएको छ, धेरैतिरबाट राहत सहयोग आइरहेको छ’, उनले भने ।
विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको प्रअ घर्तीमगरको भनाइ छ । बाढीले सो विद्यालय पनि पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो । भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ ।
पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सह्रानीय रहेको उल्लेख गरे । वडाध्यक्ष थापाले बाढीमा क्षतिग्रस्त विद्यालय भवन छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।
बाढीले सरस्वती आधारभूत विद्यालयका तीन कोठा र शौचालय क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार घर्तीमगरले बताए । खोला किनारमा भएकाले विद्यालय सँधै बाढीको जोखिममा छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको सञ्चालक रानाले बताए । विपन्नताका कारण उपचारबाट बञ्चित हुनु परेका व्यक्तिलाई पनि कोषमार्फत आर्थिक सहयोग गर्ने गरी कार्यविधि बनाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->