बागलुङ, २१ माघ– बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार सदरमुकाम बागलुङ बजारमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो ।
तीन वर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङका किसानहरुले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । किसानासँग सम्बन्धित कार्यालयनै भौगोलिक हिसाबले टाढा रहेको भन्दै गुनासो आएपछि सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना थालिएको थियो ।
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु बिज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ ।
कार्यालयको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले किसानलाई सहयोग र सम्मानको आवश्यकता रहेको बताए । देशको प्राण धान्ने मुख्य मेरुदण्डनै कृषि क्षेत्र भएको भन्दै थापाले किसानको सम्मान नभएसम्म कृषि पेशामा लाग्नेहरुबाट राज्यले आशा गर्न नसक्ने धारणा राखे ।
गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्नका लागि नीतिगत तहमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उनको जोड थियो ।
नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझैपनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उनले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारीकरणमा सहयोग गर्ने भन्दै उनले उत्साहित भएर व्यवसायीक कृषिमा लाग्न उनको आग्रह थियो ।
माघ महिनाभित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशुविज्ञ केन्द्र स्थापना भैसक्ने उहाँले जानकारी दिए । सिमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयहरुबाट अधिकतम फाईदा लिन उहाँले किसानहरुलाई आग्रह गरे ।
साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खाली रहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर ज्ञान केन्द्रको लागि भवन खाली गरिदिन उनले आग्रहसमेत गरे ।
‘सुन्दै छु मेयर साप नगरपालिकाको भवन बनाउन जग्गाको खोजीका लागि काठमाण्डौ जानुभएको छ, यो सकारात्मक कुरा हो’ थापाले भने ‘यो आर्थिक वर्षभित्रै वैकल्पिक व्यवस्था गरेर किसानको मर्म बुझ्नुहुने छ ।’
ज्ञान केन्द्रमा तत्कालका लागि बरिष्ठ कृषि बिकास अधिकृत भानुभक्त भट्टराईएको नेतृत्वमा ८ जना कर्मचारीको समुहले सेवा प्रवाह गर्ने छ ।
कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर पुन, मन्त्रालयका सचिव सवनम शिवाकोटी, गण्डकी प्रदेसभा सदस्यहरु मणिभद्र शर्मा, इन्द्रलाल सापकोटा, खिम बिक्रम शाही, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापा, बागलुङ नगरपालिका–६ का अध्यक्ष खिमराज सापकोटा, किसान रेशम थापा क्षेत्रीलगायतले बोलेका थिए ।
जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता, केन्द्र प्रमुख भानुभक्त ढकालको स्वागत र बाली विकास अधिकृत कुमार पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





