बागलुङ, २१ माघ– जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले सूचना र संचारको क्षेत्रमा नयाँ पुस्ताको आर्कषण बढ्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिम बुधवार उद्घाटन गर्दै ढुंगानाले पत्रकारिता र संचारक्षेत्रको बिकासले जनताले सही सूचना पाउने अबस्था सिर्जना हुने बताए । नेपाल पत्रकार महासंघले नयाँ पुस्तालाई पत्रकारितामा ल्याउन गरेको पहलकोपनि उनले प्रसंसा गरे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले संचारको युगमा सबै नागरिकलाई सही सूचना पस्कने काममा युवा शक्तीको आर्कषण बढ्नुपर्ने बताए । उनले तालिमलाई सही सदुपयोग गरेर पत्रकारिता क्षेत्रमा लाग्न पनि आग्रह गरे ।
महासंघले बागलुङ नगरपालिकाको सहयोगमा ५ दिने तालिम चलाएको हो । तालिममा ३८ जना युवाहरु सहभागि रहेको महासंघका अध्यक्ष दिल शिरिषले जानकारी गराए । तालिममा समाचार लेखन, रेडियो कार्यक्रम प्रस्तुतीकरण तथा विभिन्न कार्यक्रमहरुको संचालन तथा आम संचार र आधुनिक संचार माध्यमहरुको बिषयमा तालिम दिइने बताइएको छ ।
महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापा अबिरलको संचालन र सदस्य नारायण रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदिप पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





