नेकपा प्रचण्ड माधव समूहकी नेता युवा नेता भनिएकी रामकुमारी झाँक्रीले गोरखाको सिरानचोकमा भएकोे सभामा सम्मानीत संस्था र राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध अत्यन्तै निम्नस्तरको अमर्यादित अभिव्यक्ति दिएकी छन् । झाँक्रीले निन्दनीय अभिव्यक्ति दिएपछि अखिल नेपाल महिला संघले झाँक्रीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महिलाहरुले सामाजिक संजालमार्फत् विरोध गरेका छन् । झाँक्रीको अभिव्यक्तिले राष्ट्रपति मात्रै होइन नेपालमा पतिको वियोगमा वर्षाँैसम्म एक्लै जीवन गुजारा गरिरहेका एकल महिलाहरुको भावनामासमेत चोट पुगेको छ । नेकपा माधव प्रचण्ड समूहका युवा जमातको नेतृत्व गर्ने भनिएकी झाँक्रीको सोच कस्तो निकृष्ट रहेछ भन्ने कुरा प्रमाणित गरेको छ । वास्तवमा झाँक्री जस्ती महिला राजनीतिमा रहेसम्म एकल महिला मात्र होइन उनको प्रतिष्पर्धामा आउन सक्ने जो कोही क्षमतावान असल चरित्र भएका महिलाले स्थान नपाउने देखिन्छ । उनले व्यक्त गरेका विचारले धेरै महिलाहरुलाई राजनीतिमा आउन हतोत्साही बनाएको छ । उनकै समूहमा पनि महिलाहरु नेतृत्वमा स्थान नपाउने भए पछि झाँक्री जस्ता अराजक र सामन्ती सोच बोकेकाहरुलाई नेता बनाउन आउने छैनन् । उनले फरक विचार, सिद्धान्त र दृष्टीकोण राख्नेहरु महिलाहरुलाई यसै गरी चरित्र हत्या गरेर सिध्याइदिन्छु भन्ने सोच बोकेकी रहिछन् । उनले अरुको चरित्रहत्या गर्दा आफ्नो चरित्र के हुन्छ भन्ने कुरा पनि सोच्नु पर्ने हुन्छ । सायद केही दिनअघि राष्ट्रपति र प्रधानमंत्रीसंग जोडेर सडकबाट लगाईएका अर्मादित नारा पनि पनि झाँक्रीले नै लगाएको हुनु पर्छ । माधव प्रचण्ड समूहमा महिलाहरु र एकल महिलाहरुको सम्मान नपाउने निश्चित छ ।
एकल महिला खुसी रहरले हुने कुरा होइन । परिस्थितिले एकल बनाउने हो । उनको एकल महिलाहरुप्रतिको सोच दृष्टिकोण घृणित रहेछ । उनको भनाइले एकलमहिला कुनै शीर्ष स्थानमा पुग्नु हुँदैन भन्ने सोच देखियो । त्यस माथि पनि एकल महिलाले जुनसुकै क्षेत्रमा हाँसिल गरेका प्रगति, उपलब्धी र पदीय हैसियतलाई चरित्रसँग जोडेर झाँक्रीले अमर्यादित टिप्पणी गरेकी छन् । यस्तो चरित्रहत्या र लान्छनाले झाँक्रीको हैसियत निर्धारण गरेको छ । झाँक्री युवा नेता होइन, गाउँका अशिक्षित महिला जतिको हैसियतकी पनि रहिनन् । एकलमहिलालाई गाँउघरका अशिक्षित महिलाहरुले चेतनाको अभावमा बोलेका हुनसक्छन् । तर पढेलेखेकी झाँक्रीले सोची सम्झीई राष्ट्रपतिमाथि अमर्यादित टिप्पणी गरेकी छिन् । आफू जस्तो उनको अभिव्यक्ति पनि त्यस्तै सायद झाँक्रीले पनि त्यस्तै गरेर यो हैसियत बनाएकी होलिन् । उनको भनाइले एकल महिलाहरु तथा शहिद पत्नीहरु राजनीतिमा ठूलो स्थानमा आइपुग्न मृत पतिको योगदानबाट फाइदा उठाउने गर्छन् भन्ने देखियो । पतिको मृत्युपछि एकल महिला भएर जिवन बिताउनुको पीडा उनि जस्ता पाखण्डी, ढोंगी महिलालाई के थाहा छ । झाँक्रीले गोरखाको सिरानचोकमा ‘मदन भण्डारीको हत्यापछि सेतो सारी ल्याएर शक्ति आर्जन गर्ने जुन गलत सांस्कृतिक अभ्यास गरेको थियो एमालेले, त्यसको प्रत्युत्पादन हो विद्या भण्डारी ’ भनेर उत्ताउलो र निन्दनीय अभिव्यक्ति दिइन् । त्यो लान्छना काही नेपाली महिलाले सहन सक्दैन । तल्लोस्तरको व्यक्तिगत लान्छनामा उत्रिएकी छिन्, झाँक्री ।
झाँक्रीले विधवा महिला र सधवा महिलाबीचको विभेदको रेखा प्रष्टसँग कोरिदिएकी छिन् । यसै त महिलाहरु ठूलो स्थानमा पुग्दा समाजले बिना कारण, बिना प्रमाण लान्छना लगाउने गर्दछ । झाँक्रीको भनाईले विधवा महिलाले आफ्नै दक्षता र क्षमताले केही गर्न सक्दैनन । स्वर्गीय पतिको पद र हैसियतलाई पार्टीले फाइदा उठाएको भन्ने छ , जुन सरासर गलत विचार हो । विकृत मानसिकताको उपज हो, झाँक्री । महिला भएर महिलाको क्षमता र दक्षतालाई नजरअन्दाज गरेकी छन् । यो भनाइले उलाई आफ्नै क्षमतामा पनि विश्वास छैन र उनी पनि उनले भनेजस्तै आफ्नै चरित्रमाथि विश्वास गर्दिन रहेछिन् । हुन त,उनको क्षमता भए भए यसरी जथाभावी बोल्ने थिइन्,आफ्नै भूगोलमा काम गरेर देखाउने थिइन् होला । रामकुमारी झाँक्रीमा राजनैतिक संस्कार नभएकीले राष्ट्रपतिको इज्जत र चरित्रमाथि धावा बोल्ने काम गरिन् । उनमा सैद्धान्तिक ज्ञानको खडेरी परेको रहेछ । यस्तो निम्नस्तरको चेतना भएको मानसिक सन्तुलन समेत गुमाएकाहरुलाई माधव प्रचण्ड समुहले सेलीब्रिटी युवा नेता बनाएका रहेछन् । उनले सम्मानित संस्था राष्ट्रप्रमुखलाई निम्नस्तरको चारित्रिक लान्छना लगाएकी छिन् । वास्तवमा रामकुमारी झाँक्री चुनाव लड्ने क्षमता र जित्ने आँट नभएर समानुपातिकमा खुम्चिएर सांसद बनेकी हुन् । उनी सांसद जस्तो गरीमामय पदमा जान लायक होइन रहिछन् । माधव प्रचण्डको कोटामा यस्तै अराजकहरुको भीड छ, जसले मर्यादाको हद पार गरेकोछ । अरुको भावनाको सम्मान नगर्ने, ख्याल नगर्नेहरु राजनैतिक मान्छे हुन सक्दैन । राष्ट्रपति विद्या देवी भण्डारीलाई उनको, चुनौति दिने हैसियत होइन । राष्ट्रपति विद्या भण्डारीले सायद झाँक्रीहरु नजन्मिँदै भूमिगत राजनैतिक जिवन सुरु गर्नुभएको हो । झाँक्रीले अहिले भनेजस्तै जननेता मदन भण्डारीको मृत्यु पश्चात एकैपटक नेताको श्रीमती भनेर टिपेर नेतृत्वमा ल्याइएको होइन । उहाको हैसिय रातारात निर्माण भएको होइन । विद्यार्थी राजनीति गर्दै मोरंग क्याम्पस स्वबियुको कोषाध्यक्ष हुनु भयो । जसरी पूर्व सभामुख कृष्ण बहादुर मोहोराले गरेका थिए । धेरै कार्यकर्ता र जनताको माझमा बसेर सबैको मन जितेर पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा जित्नुभयो । धेरै संर्घषपश्चात उहाँ अहिले राष्ट्रपति बन्न सफल हुनु भएको छ । उहाँलाई विश्व समुदायले पत्याएको छ ।
झाँक्रीले मदन भण्डारीको मृत्युपश्चात एमालेले विद्या भण्डारीलाई नेतृत्वमा ल्याएको कुरालाई गलत संस्कृति भनेकी छिन् । पतिको मृत्युपश्चात एकल महिलाले राजनीति गर्न नपाउने भन्ने उनको सोच दृष्टिकोण दोषी छ । राष्ट्रपति भण्डारीले सेतो साडीको आडमा राजनीति गरेको भन्न सक्ने उनको महिलाविरुद्धको हिंसात्मक अभिव्यक्ति हो । उनलाई राष्ट्रपतिविरुद्ध घृणित (हेट स्पिच) अभिव्यक्ति दिएकोमा कानूनी कारवाही हुनुपर्छ । सिंगो एकल महिला समूहविरुद्धको लान्छना लगाउने आशयको भाषण गरेकोमा पनि कारवाही हुनुपर्छ । महिलाहरुको विरुद्धमा सानो कुनै घटना हुँदा बुरुक्क उफ्रिने महिला अधिकारकर्मीहरु यो बेलामा सम्मानित संस्था राष्ट्रपतिकोविरुद्ध व्यक्तिगत लान्छना लगाउदा समेत मुखमा बुजो हालेर बसेका छन् । राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारीले बाल्यवस्थादेखि आफ्नी आमा विरुद्धको लान्छना सहदै आएको मार्मिक स्टाटस सामाजिक संजाल पोष्ट गरेकी छिन । जसले पीडा भोगेको छ, उसलाई मात्र पीडा बोध हुन्छ । एकल महिला हुनुको पीडा र बाल्यवस्थामा बाबु गुमाउनुको पीडा त छँदै थियो । त्यै माथि पनि राजनीतिका नाममा भएको यस्तो घृणित हिंसा सहन सक्ने होइन । आफूबाहेक राजनीतिमा अरुको अस्तित्व स्विकार गर्न नसक्ने झाँक्री जस्ता अराजकको कुनै स्थान छैन । यस्तो घृणाको अभिव्यक्ति,त्यही माथि सार्वजनिक पदमा रहेको सम्मानित व्यक्ति बिरुद्ध सार्वजनिक रुपमा दिने झाँक्री जस्ता, नेताको नाममा कलंकितहरुलाई कानूनी दायरामा ल्याई चाँडोभन्दा चाँडो कारवाही गर्नुपर्छ ।





