पोखरा, २३ माघ– नेपालको निजी क्षेत्रले बन्द र हड्तालका कार्यक्रमहरुप्रति असन्तुष्टि जनाएको छ । राजनीतिक दलहरुले बन्द र हड्तालका कार्यक्रमहरु आह्वान गर्न थालेपछि निजी क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुले त्यसको विरोध गरेका हुन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को आह्वानमा बिहीबार भएको आमहड्तालसँगै ती संघ÷संस्थाहरुले बन्द र हड्ताललाई आन्दोलनको पूरक नबनाउन आग्रह गरेका हुन् ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघसहित गण्डकी प्रदेश उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघलगायतका संस्थाहरुले बिहीबार विज्ञप्ति जारी गर्दै बन्द र हड्तालले कसैको भलो नगर्ने पनि बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै बन्द र हड्तालका कार्यक्रमहरु आयोजना नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै दलहरुसँग यसअघि गरिएका प्रतिवद्धता सम्झँदै बन्दलाई सधैँको लागि बन्द गर्न पनि माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा आउँदा दिनहरुमा बन्द÷हड्तालका कार्यक्रमहरु भए विरोधमा उत्रन बाध्य हुने जानकारी पनि गराइएको छ ।
‘एकदिनको बन्दले अर्थतन्त्रमा पार्ने प्रभाव नकारात्मक प्रभाव महिनौँसम्म कायम रहन्छ । बन्द÷हड्तालले गरिखाने बर्गलाई सबैभन्दा ठूलो पीडा दिएको हुन्छ’, विज्ञप्तिमा भनिएको छ,‘ बन्द÷हड्तालले देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर पार्छ । एकातिर कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर, अर्कोतिर बन्द र हड्तालले दिने पीडा ! यी गतिविधिहरुले देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित छ ।’ विज्ञप्तिमा कोभिड–१९ पछि उत्पन्न परिस्थितिले उद्योगी÷व्यवसायीलाई ठूलो पीडा दिएको उल्लेख गर्दै नेपालको निजी क्षेत्र पीडामाथि पीडा सहन नसक्ने अवस्थामा पुगेको पनि जिकिर गरिएको छ ।
पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले विज्ञप्ति जारी गर्दै पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न भनेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बन्द हडतालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेशगरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । त्यसैले बन्द हडताल चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा कोभिड–१९ को महामारीकाबीच विभिन्नखाले आन्दोलन, बन्द हडतालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ ।
यता, पश्चिमाञ्चल होटल संघले पनि विज्ञप्ति जारी गर्दै बन्द र हड्तालले पर्यटन लगायत अन्य क्षेत्रमा समेत नकारात्मक असर पर्ने भन्दै त्यस्ता कार्यक्रम फिर्ता लिन र भविश्यमा समेत आयोजना नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष विकल तुलाचनद्धारा जारी विज्ञप्तिमा राजनितिक दलहरुलाई कोभिड १९ बाट ग्रसित आमनागरिक र व्यवसायीहरुलाई स्वास्थ्य, सुरक्षा र अन्य विविध समस्याहरु समाधान गर्ने तर्फ केन्द्रित रहन आग्रह गरिएको छ । नेपाल बन्द, चक्काजामजस्ता कार्य आम नागरिक, उद्यमी, व्यवसायी र विशेष गरी दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने श्रमिक र मुलूकको हित विपरित रहेको संघले उल्लेख गरेको छ ।





