बागलुङ, २३ माघ– शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । सदरमुकाम जोमसोममा यो समाचार तयार पार्दासम्म हिमपात भएको छैन् । उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ क्षेत्रमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी हिरा पौडेलले बताईन् ।
हिमपातका कारण स्थानीय घर बाहिर निस्किन सकेका छैनन् । मुस्ताङको लेतेमा समेत हिमपात भएको छ । हिमाली जिल्ला म्याग्दीका उच्चपहाडी क्षेत्रमा भारी हिमपात भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
उपल्लो मनाङमा हिमपातका कारण जनजिवन प्रभावित भएको छ । तल्लो मनाङको चामेसम्म हिमपात भएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले जानकारी दिए ।
शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको थियो । गोरखाको पहाडी क्षेत्रमा हिमपात भएको स्थानीय रेडियोहरुले जनाएका छन् । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ । बिहानैदेखि शिकार आरक्ष क्षेत्र सेताम्मे देखिएको छ ।
ताराखोला, तमानखोलाको सोलेडाँडा र लामेला हिमपात भएको छ । घुम्टेको डाँडामा हिमपात भएको स्थानीयले जानकारी दिए । पानी नपरेकोले हिउँदेबालीमा समस्या परेको किसान बेदु किसानले बताए । पानी अभावले तोरी, गहुँ, फापरजस्ता खेती बिग्रेकोले झरीले साथ दिने उनले बताए ।
झरी र हिमपातका कारण ढोरपाटन क्षेत्रमा मानिस घर बाहिर निस्कन नसकेपछि भित्रै छन् । झरीका कारण पशुचरनका लागि निस्कनेहरु पनि भित्रै बसेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । उत्तर पर्वतमा पनि सामन्य हिमपात भएको छ । हिमपातले किसान खुसी छन् ।






