पोखरा, २३ माघ– गण्डकी प्रदेशसभाले तेस्रो वर्ष पूरा गरेको छ । २०७४ साल माघ २२ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यही दिनको सम्झना गर्दै प्रदेशसभा सचिवालयले बिहीबार शुभकामना कार्यक्रमको पनि आयोजना गरेको हो । वार्षिकोत्सवमा बोल्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभासदहरुले सदनलाई प्राथमिकता दिनुपर्ने बताए । सभासदहरु प्रदेशसभाप्रति अझ बढी जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो । वार्षिकोत्सवमा थोरै सभासद उपस्थित भएको सन्दर्भमा उनले सो अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री गुरुङले संघीयता संस्थागत गर्नको लागि सबैको योगदान आवश्यक रहेको पनि बताए । उनले संघीय सरकारको असहयोगकै कारण साझा अधिकारका कानूनहरु बनाउन कठीन भएको धारणा पनि राखे ।
उनले संसद विघटनको विषय अदालतमा प्रवेश गरेको स्मरण गर्दै अहिले यसको विपक्षमा सडकमा उठेका आवाज र व्याख्याहरु प्रायोजित भएको आशंका पनि गरे । उनले बन्द र हड्तालका कार्यक्रमहरुप्रति असन्तुष्टि पनि जनाए । सभामुख नेत्रनाथ अधिकारीले संविधानलाई अगाडि राखेर नीति तथा कार्यक्रम तय हुनुपर्नेमा जोड दिए । प्रदेशसभाले ४६ वटा ऐन बनाउनु उपलब्धी भएको सभामुखको भनाई थियो । प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन नियमावली पारित गरेको थियो । त्यसपछि हालसम्म २२५ बैठक बसेको छ । कार्यक्रममा बोल्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले एकदिनको बन्दले गण्डकीलाई ३८ करोड घाटा हुने तथ्य स्मरण गर्दै बन्द र हड्ताल अर्थतन्त्रको लागि घातक भएको बताए । उनले बन्द र हड्तालको विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले प्रदेश सरकारले झुटको खेती गरेको आशय व्यक्त गरे ।





