मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ढोरपाटन सामाचार प्रभाव : प्रेम बहादुरको उपचार खर्च नगरले व्यहोर्ने

ढोरपाटन सामाचार प्रभाव : प्रेम बहादुरको उपचार खर्च नगरले व्यहोर्ने


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७७, शुक्रबार

बागलुङ, २३ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ ।
बागलुङ नगरपालिका–५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे)को उपचारमा समस्या भएको समाचार ढोरपाटन न्युज अनलाईनमा प्रकाशन भएपछि बागलुङ नगपालिकाले उनको उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो ।
आर्थिक अभावका कारण अस्पतालहरुले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको थियोे । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वडा अध्यक्ष र आफ्नो सचिवालयका कर्मचारीलाई फोन गरेर प्रेम बहादुरको उपचार खर्चको व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
काठमाण्डौमा रहेका प्रमुख पौडेलले गण्डकी अस्पताललाई नगरले खर्च व्यहोर्ने अनौपचारिक जानकारी गराएको र नगरपालिकाको तर्फबाट सहयोगका लागि प्रक्रिया थालिएको बताए । ‘उहाँहरु अहिले अस्पताल पुग्दै हुनुहुन्छ, हामी कुनै न कुनै रुपमा त्यहाँ उपस्थित भएर व्यवस्था मिलाउँछौं’ पौडेलले भने ‘उपचार सकिएपछि बिल भरपाईका आधारमा सबै खर्च नगरपालिकाले व्यहोर्छ ।’
वडा कार्यालयले पनि प्रेमबहादुरको उपचारका लागि सहयोग स्वरुप पाँच हजारको चेक तयार रहेपनि परिवारका सदस्यहरु नभेटेका कारण उपलव्ध गराउन नसकेको जनाएको छ । ‘चेक बनाएर राखेका छौं, दिने मान्छे भेटिएनन्’ वडा अध्यक्ष शिवप्रसाद सापकोटाले भने ।
माघ १९ गते रुखबाट लडेका प्रेमबहादुरलाई धौलागिरी अस्पताल बागलुङ ल्याईएको थियो । बागलुङमा उपचार सम्भव नभएको भन्दै अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको थियो ।
मणिपालले पहिले उपचारका लागि आवश्यक रकम जम्मा गर्न भनेपछि उनको उपचार हुन सकेको थिएन् । मणिपाल अस्पतालले हातखुट्टा भाँचिएका प्रेम बहादुरलाई फिर्ता पठाएपछि उद्योग वाणिज्य संघ बागलुङले उनको उपचारको लागि आर्थिक अभियान सुरु गरेको थियो ।
उद्योग बाणिज्य संघले शुक्रबारसम्म ३० हजार रुपैयाँ सहयोग संकलन गरेर सार्कीलाई पोखरा पठाएको थियो । बाटोमै रहेका बेला पीडित प्रेम बहादुरकी श्रीमती कमलालाई नगरपालिकाले खर्च व्यहोर्ने जानकारी गराएको छ ।
मालिका स्थायी घर भएका प्रेमबहादुर बागलुङ नगरपालिका–४ मा अस्थायी बासोबास र ज्याला मजदुरी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->