बागलुङ, २३ माघ– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गतवर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेश गरेर योजना पार्न आब्हान गरेको थियो ।
विशेषगरी खोलाखोल्सीको पानी खानुपर्ने बाध्यता भएका, ज्याला–मजदुरी गर्ने, दलित समुदायलाइ ती योजनामा प्राथमिकता पनि दिइएको थियो । गण्डकी प्रदेश सरकारमार्फत संचालन हुने योजनामा लक्षित वर्गको प्राथमिकता दिएपनि बागलुङबाट निवेदन आएको थिएन । निवेदन नआएपछि डिभिजनले पनि योजना माग गर्न सकेको थिएन ।
तर, ढोरपाटन नगरपालिका वडा नं. ८ को नौघर टोलका झण्डै १ सय घरका बासिन्दाले खोल्साको पानी खाइरहेका थिए । आफै समस्यामा परेको कुरासमेत बताउन नसकेपछि त्यहाँ योजना परेन ।
‘उनीहरुले सास्ती खेपिरहेका थिए, योजना माग्नै कोही आएनन्, डिभिजनले बल्ल उनीहरु समस्यामा छन् भन्ने बुझ्न पायौं’ डिभिजनका सूचना अधिकारी तेजप्रसाद निउरेले भने, ‘काम विशेषले गाउँमा पुगेर उनीहरुको समस्या देखेपछि लक्षित समुदायमा हामी पुग्न सकेका रहेनछौं भन्ने पत्ता लाग्यो ।’ यो समस्या बागलुङका ग्रामीण क्षेत्र र दलीत समुदाय भएको स्थानमा अझै बाँकी छ ।
डिभिजनको तथ्यांकमा पनि अझै बागलुङको २० प्रतिशत क्षेत्रमा स्वच्छ खानेपानी पु¥याउन बाँकी छ । पुरानो प्रविधिबाट बनेका आयोजना पनि मर्मत गरिरहनुपर्ने, बहुबर्षे योजनामा थोरै बजेट आएकोले समयमा नसकिने समस्या पनि उत्तिकै छ ।
डिभिजनमार्फत संचालन हुने ठूला आयोजना, नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत संचालन हुने मझौला प्रकारका योजना र प्रदेश, संघ वा स्थानीय पालिकाबाट संचालन हुने योजनाबाटपनि लक्षित समुदायहरु छुट्ने गरेको भेटिएको हो ।
बनेका ठूला आयोजनापनि बिग्रने र नियमित मर्मत गर्नुपर्ने अवस्था हेर्दा शतप्रतिशतलाई स्वच्छ खानेपानी पु¥याउन कठीन हुने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले बताए । उपभोक्ताले पनि आफ्नो समस्या समयमा देखाउन नसकेको बताए ।
‘समस्यामा परेको कुरा थाहा छ, तर कहाँ गएर कसलाई बताएर काम बन्छ भन्ने थाहा छैन’ बोबाङको नौघरटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष झम्मर बिकले भने, ‘दैनिक ज्याला मजदुरी गरेर खानेले समय निकालेर योजना पार्ने तरिका पनि जानेका छैनौं ।’
उनीहरुको समस्या देखेर नेवाले गत बर्षको योजनाबाट यहाँ खानेपानीको आयोजना संचालन गरेको थियो । नेवाको २६ लाख ७५ हजार रुपैयाँको सहायोग पाएपछि ढोरपाटन नगरपालिकाको ५ लाख र १० लाख श्रमदान समेत जुटाएर ४१ लाखमा आयोजना निर्माण भएको बिकले बताए । यहाँ ८३ घरमा खानेपानी पुगेको छ ।
यहाँका अझै सयबढी घरमा खोलाखोल्सीको पानी खानेहरु छन् । त्यसका लागि चालु वर्ष र आगामी वर्षकालागि कार्यक्रम बनाएर पानी खुवाउन पहल गरिने निउरेले बताए । ‘कम्तिमा माग गर्न आउने वातावरण वडा तहले बनायो भने स्थानीयले पानी खान पाउनेछन्’ निउरेले भने, ‘लक्षित समुदायले हाम्रो लागि कार्यक्रम बन्दैछ भन्ने बुझ्नुपर्छ ।’
वडा अध्यक्ष नन्दे सुनारका अनुसार अधिकांस दलीत र बिपन्न परिवारका बासिन्दा भएकोले योजनाको प्रकृया बारे जान्न समेत नसक्नेहरु रहेको बताए । ‘गर्मी लागेपछि ढोरपाटन जाने र जाडोमा फर्कनेहरु धेरैछन्’ उनले भने, ‘गाउँको बिकासमा खट्नुपर्छ भन्ने नभएर बिकासमा पछि परेका छौं ।’





