
बागलुङ, २४ माघ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला सरकार राजनीतिक किचलोमा अल्झिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको असंवैधानिक कदम रोक्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरता बढेको उनको तर्क थियो । जनमोर्चाले जिल्लाको गलकोट हटियामा आयोजना गरेको विरोध सभामा बोल्दै केसीले यो समयमा सरकारको ध्यान कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
स्थायी सरकारको लागि जनमत पाएपनि ओलीले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा बिघटन गरेर गलत गरेको उनको दावी थियो । उनले संघीयताले मुलुकको आर्थीक अवस्था झनै कमजोर भएको भन्दै एउटा सरकार थाम्न गाह्रो भईरहेको समयमा ७÷७ वटा प्रदेश आवश्यक नरहेको जिकीर गरे । बिरोध सभा अघि सुरु भएको जुलुसले हटिया बजार परिक्रमा गरेको कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सल्लाहकार एवं गलकोट नगर समितिका अध्यक्ष टंक बहादुर के.सी.को अध्यक्षता, राष्ट्रिय जनमोर्चा गलकोटका सदस्य तथा अखिल नेपाल महिला संघ गलकोटका अध्यक्ष देबी खत्रीको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।





