पोखरा, २५ माघ- लमजुङबाट शुक्रबार पोखरा आएका दीपेन्द्र श्रेष्ठ शनिबार फेवाताल किनार बाराहीघाट पुगे । साँझपख उनी पुग्दा तालको पानी ह्वात्तै घटेको थियो । कामना विकास बैंकको स्टाफ मिटिङका लागि पोखरा आएका श्रेष्ठ र उनका साथीहरुले तालको पानी भने छुनै नसकिने गरी पर पुगिसकेको थियो ।
‘तालको पानी त ह्वात्तै सुकेछ’, उनले भने, ‘कति छिटो फेवातालको पानी घटेछ ।’ तालमा पानीको सतह घटेर बाराही मन्दिर नजिक पुगेको छ । तालको पानी प्राकृतिक रुपमा सुकेर घटेको भने होइन । दीपेन्द्रलाई थाहा थिएन कि तालमा पानी जम्मा गर्न बाँधिएको बाँधका ४ वटै ढोका खोलेर पानी बगाइएको छ ।
शुक्रबार दिउँसो बाँधको ढोका खोलेपछि साँझसम्म धेरै पानी बगेर गइसकेको छ । जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार फेवातालको पानी १ मिटर भन्दा बढी घटिसकेको छ । तालको पानी १ मिटर मात्र घट्दा पनि पानीले ओगटेका ठुलो भुभाग जमिनमा परिणत भएको छ ।
शुक्रबार र शनिबार जस्ता विदाको समय पारेर धेरै नेपाली घुम्न निस्कन्छन् । नेपाली होस् या विदेशी नेपाल घुम्न निस्कँदा धेरैजसोको पहिलो रोजाई पोखरा हो । शनिबार पोखरा घुम्न आएको पर्यटकले पनि तालको पानी घटेको देखेर चकित बने ।
जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका अनुसार तालको पानी खोलामा बगाइनुका कारण भने बाँधको मर्मत सम्भार हो । ‘३५ सालदेखि बाँधको मर्मत भएको थियो’, कार्यालय प्रमुख आचार्यले भने, ‘बाँधको मर्मत र फेवातालबाट सिचाईका लागि लगिएको कुलो मर्मतका लागि तालको पानी सुकाइएको हो ।’ अहिले १ मिटर मात्र पानी घटाएर मर्मतका लागि प्रयास गरिने र नभए २ मिटरसम्म पानी घटाउनुपर्ने अवस्था आउने उनले बताए ।
बाँध र नहर मर्मतका लागि सरकारले २ करोड बजेट छुट्याएको छ । जसमा १ करोड रुपैया नहर मर्मत र १ करोड रुपैया तालको बाँध मर्मतमा खर्च हुने आचार्यले जानकारी दिए । मर्मत सम्भार गर्न आइतबार पनि पानी घटाउनुपर्ने र २ महिनाभित्र मर्मत सम्भार सकिने उनले बताए ।
फेवातालमा सबभन्दा पहिलो विक्रम संवत २०१८ सालमा पहिलो पटक बाँध बाँधिएको थियो । भारतीय सहयोग मिसनको १५ लाख रुपैया आर्थिक सहयोगमा ४६ फिट अग्लो बाँध बाधिएको थियो । २९४ मिटर लामो उक्त बाँधका ११ वटा ढोका थिए । उक्त बाँध बाधेर फेवातालको पानी १५ हजार रोपनी जमिन सिंचाईका लागि लगिएको थियो । त्यही नहरको पानीबाट १ मेगावाटको विजुली निकालिएको थियो ।
पहिलो पटक बनेको यो बाध धेरै लामो समय टिकेन । २०३१ सालमा यो बाँध फुट्यो । तालको पानी आधा भन्दा बढी बहेर गयो । बाँध फुट्दा फेवातालवीचमा रहेको बाराही मन्दिर हिँडेरै जान सकिने अवस्था आएको थियो । भारतीय सहयोगमा बनेको उक्त बाँध फुटेपछि संयुक्त राष्ट्र संघको सहायतामा २०३४ सालमा अर्को बाँध बन्यो । पुरानो बाँध भन्दा केही तल बनाइएको यो बाँध भने अहिलेसम्म टिकेको छ ।
जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँधको नियमित मर्मतका लागि अहिले पानी छाडिएको हो । कार्यालय प्रमुख आचार्यले बाँध बनेको ४३ बर्षपछि पहिलो पटक ठुलो मात्रामा मर्मत सम्भार गर्न लागेको बताए । ‘अहिले पानी छोडेर ताललाई केही असर गर्दैन’, आचार्यले भने, ‘बाँध बलियो बनाएपछि पानी फेरि भरिन्छ ।’





