अचेल गल्ली होस् वा चिया दोकान, चौतारी होस् वा सडकमा किन नहोस् हरेक तह र तप्काका बुद्धिजीवी, लेखक, सामाजिक अभियन्ता र नागरिक समाजका अगुवा भनिने झुन्डहरुको प्रायः एउटै आवाज हुन्छ । यो देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थापन गर्न सडकमा निस्कौ र आन्दोलन गरौं । मानौं यो देशको संविधान र कानुन यिनकै आदेशमा चल्नुपर्छ । न्यायलयमा विचाराधिन मुद्दामा जुरमुराउने अनैतिक तत्वहरु आफ्नो देशको सिमा मिचिँदा मरे ज्युदो जनतालाई थाहै हुँदैन । हिजो राजनैतिक आवरणमा १७ हजार निहत्था जनता मारिँदा क्रान्ति सफल हुँदैछ भन्दै रिपोर्ट गर्ने र युरोपेली देशको डलर खाने यिनै थिए । गौर हत्या, टिकापुर हत्या, बाँदरमुढेलगायतका घटनामा कहिल्यै आवाज उठाउन आवस्यक नै ठानिएन । यस्ता अनगिन्ती घटनाबारे नागरिकको हकहितमा एकशब्द लेखे बोलेको कुनै घटना छैन । यिनलाई म्यानमारको सैनिक कुमा चाइनिज, मुस्लिमको बारेमा छाती दुख्छ, पाकिस्तानको मामिलामा मुटु पोल्छ । यिनका आँखामा भेनेजुयलाको क्रान्तिले आशु बग्छ । तर आफ्नै देशभित्र राजनीति आवरणमा निरीह व्यक्ति हत्या हुँदा नागरिकमाथि जिउँदै आगो लगाईदा होस् अथवा मन्दिर तोडफोड गर्दै पुजारीको निर्मम हत्या हुँदा न यिनका आँखामा आँशु बग्छ न छाती पोल्छ । यस्ता कुरा यिनका एजेन्डाभित्र पर्दैनन् । परिचालितहरु अरुले अर्हाएको आदेशको मात्र पालना गर्छन् । नश्लिय, जातिय, क्षेत्रीय र भाषिक आधारमा वर्गीकरण गर्दै नेपाली नेपाली बिचमा द्वन्द सिर्जना गर्न आवाज उठाउने, कलम चलाउने यिनीहरु नागरिकमाथि हत्याहिंसा हुँदा कहिल्यै सडकमा निस्किदैन ।
सिमानामा अर्को देशको सैनिकले नेपाली मार्दा चु–सम्म बोल्दैनन् । सरकारले तिब्बती, रोहिङ्गा र भुटानी शरणार्थी पक्राउ गर्यो भने सबैभन्दा पहिले यिनकै एजेन्डा बन्छ । देशभित्र अराजक गतिविधि गर्नेलाई समात्यो भने यिनका मानवअधिकार हनन् हुन्छ । आम नागरिकको पिरमर्का नदेख्ने, आफ्नो एजेन्डा नसम्झने छेपारे तत्वले नागरिक भोकभोकै खाली खुट्टा हिड्दा, प्रवेश नपाएर सिमा नाकामा भोकभोकै छट्पटिदा यिनका आँखामा रतन्दो लाग्छ । बेला बेलामा सडकमा देखिने यस्ता तत्वहरु देश र जनताको हितमा हैन । आर्थिक स्वार्थमा बिदेशीका गोटी बनेर डलर झार्ने र ब्यक्तिगत स्वार्थ पुरा गर्ने उदेश्य राख्छन् । जब देशमा राजनैतिक संकट आइपर्छ, तब मात्र अधिकारवादी, बुद्धिजीवी, लेखक सामाजिक अगुवा, संचारमाध्यम एकैपटक सडक र मिडियामार्फत देशमा अराजकता ल्याउने र द्वन्द निम्त्याउने उद्देश्यले विदेशीद्वारा परिचालित हुन्छन् । यस्ता परिचालन गरियका झुण्डहरुको काम देश र जनताको हितमा भन्दा पनि दातृ निकायलाई खुशी बनाएर ब्यक्तिगत लाभ लिनेबाहेक अन्यथा केहि हुँदैन ।
अब लागौ दातृ निकाय गैरसरकारी संघ संस्थाको बारेमा खोजी गर्न । सरकारी तथ्यांक हेर्दा २०३५/३६ सालमा १७ वटा गैरसरकारी संस्था NGOको दर्ता भएको पाइन्छ । २०४७ सालको बहुदलीय व्यवस्थाले खुकुलो बनाएको कानुन र सत्तामा लोभीपापीको हालीमुहाली हुँदा २०४७ देखि २०५३ मा पार्टीको मान्छेले गैरसरकारी संस्था भित्रिएको थिए । राजनीतिक पहुँचमा रहेका ब्यक्ति र तिनका आफन्तका नाममा बर्गेल्ती खुलेका यस्ता गैरसरकारी संस्था नगन्य मात्रामा सामाजिक काममा लागेपनि धेरैले देशमा द्वन्द्वात्मक र अराजकता सिर्जना गर्नमा लगानी खर्च गरेको पाइन्छ । यसैको एक उदाहरण हो माओवादी जनयुद्ध ! धर्म निरपेक्ष नेपाल संघीयता र गणतन्त्र नेपाल, जातिय राज्यको अवधारणा ! यहि एजेन्डालाई निरन्तरता दिँदै उच्च बिन्दुमा पुर्याउन सफल भए । २०६३ सम्म चानचुन १५ हजार रहेकोे यस्ता संस्था २०६३ देखि हालको अवधी सम्म आइपुग्दा ५० हजार ३ सय ५८ वटा दर्ता छन् । हालैको एक तथ्यांकले जनाए अनुसार INGO मात्रै २४५ रहेकोे छ । जसमध्ये अमेरिकी ७५ वटा र बेलायतको ४५ वटा छ । बाँकी युरोपियन युनियनलगायत देशको १२५ वटा दर्ता भएका छन् । नेपाली कानुनको छिद्र भित्र छिरेर खुलेआम दातृ निकायले नेपालभित्र जातिय द्वन्द्व र धर्म प्रचार प्रसारमा अत्यधिक समय र धनको प्रयोग गर्दै आएको छन् । EU र बेलायतले पटकपटक स्पष्ट रुपमा नेपालको परिबर्तनमा (धर्म निरपेक्ष, संघीयता, गणतन्त्र र जनसरोकार) हामीले गरेको लगानीको सुनिश्चितता हुनुपर्छ भन्दै आइरहेको कुराले पनि प्रष्ट पार्छ ।
ओपन सोसाइटी फाउन्डेसन नेपालको वेबसाईटका अनुसार २०६४ सालको परिवर्तन पश्चात नेपालको मौलिक हक संरक्षणका लागि भन्दै सन २०१३ देखि १५ को अवधीमा मात्रै १,२८,००० (एक लाख २८ हजार) अमेरिकी डलर अर्थात् १,००,४७,००० नेपाली रुपैयाँ कानुनविद्लाई बितरण गरेको थियो । यस्तै मौलिक हकका बारेमा जनचेतना फैलाउन भन्दै सन् २००६ देखि २०१५ को बीचमा विभिन्न पेशागत पत्रकार र सम्पादकलाई १३,९०,००० ( तेह्र लाख नब्बे हजार ) अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँँ झण्डै १६ करोड लगानीको बितरण सार्वजनिक गरेको छ । त्यससँगै युरोपेली देशबाट खासगरी भ्याटिकन चर्चबाट प्रत्येक वर्ष क्रिश्चियन सहायता (धार्मिक परिवर्तनमा) करोडौं रुपैयाँ भित्रिएको कुरा पनि विभिन्न वेबसाईटमा देख्न सकिन्छ । यसै बर्ष पनि ५३ करोड नेपाली रुपैयाँ भित्रिएको आम जनमानसमा सर्वबिधितै छ । आर्थिक बजेट २०१७/१८ मा मात्रै कुल ११ करोड ७८ लाख अमेरिकी डलर अर्थात् करिब १३ अर्ब ४३ करोड अमेरिकाले NGO मार्फत उपलब्ध गराएको थियो, त्यस भित्रबाट ७ करोड ३३ लाख डलर बराबरको रकम प्राविधिक सहायताको थियो । यसरी सरकारी अनुमतिबिना खुलेआम NGO मार्फत भित्रिने रकम दाताले आफ्नो मातहतका ( बुद्धिजीवी, पत्रकार, लेखक, नेतालगायत सामाजिक अभियान्ता र अधिकारवादिहरु)बाट आफ्नो उदेश्य अनुसार सिधै खर्च गर्ने गराउने गर्छन् । सहयोगको नामका बिदेशी एवं नेपालका कन्सल्ट्यान्ट र नेपालका नेता बुद्धिजीबीहरुलाई स्वदेश वा बिदेश घुमाउने, तालिम दिने नाममा दातृ निकायको खर्च सकिन्छ । यद्यपि खास खास ब्यक्तिबाहेक देश र जनताको हक हितमा कुनै ठोस विकासमा खर्च हुँदैन । तथापि नेपाल सरकारले यि कुनै पनि निकायको लेखा परिक्षण र निगरानी नहुनाले पनि यस्ता धन्दाको बढोत्तरी हुँदै गएको छ । सरकारी मातहत नहुने र सरकारको बजेटमा समाबेश नगरिने भएकोले पनि अनियमितता अख्तियारको अधिकार भित्र रहदैन । नेपाल सरकारको यहि गलत पाटोलाई पछ्याउँदै कथित बुद्धिजीबी, प्रशासन, प्राविधिक, नेता बिदेशिले नै बिद्वान बनाईदिएका तिनकै दानापानीमा ज्यान पाल्ने र तिनको गलत कामको पनि खुलेर समर्थन गर्नेहरु नै दाताको अनुसार कानुनको ब्याख्या गर्दै सधै द्वन्द्व, निराशा पैदा गर्छन् । NGO INGO को बिरोध गर्नेहरु खराव र पश्चगामी विकास बिरोधी र देशको अहित चाहने पुरातनवादीको बिल्ला भिराउँछन् । जनताले पनि तिनैका अन्तवार्ता हेरेर र लेख पढेर तिनैलाई बडो बुद्धिजीवी र देशभक्त ठान्छन् ।
अब आम राष्ट्रबादी, देशभक्त आम नेपाली जनताले यस्ता निकायको आर्थिक गतिविधिमा निगरानी राख्ने र तिनका अनैतिक गतिविधिको बारेमा सरकारलाई जानकारी गराउँदै तिनको सम्पत्तिको राष्ट्रिय कारण गरि त्यस्ता संस्था बन्द गराउनमा कटिबद्ध भयर लाग्नुपर्छ । संस्थामा आवद्ध ब्यक्तिको सबै आर्थिक चल–अचल सम्पत्ति रोक्का गर्दै सरकारले आफ्नो मातहत ल्याउनुपर्छ । नेपालमा भित्रने कुनैपनि NGO INGO लाई सरकारले नै एकद्वार प्रणालीमा चलाउन दबाब सृजना गर्नुपर्छ । बिदेशीको दानापानीमा बाँच्न रमाइलो मान्ने र देशभित्र गद्दार गर्ने यस्ता परजीवी सोचाइको जो–कोहीलाई पनि कडा निगरानीमा राख्नुपर्छ । देश चलाउन कुनै दातृ निकायभन्दा पनि देशभक्तले ओतप्रोत भएको इमान्दार, कर्मठ सबैलाई मिलायर स्थानीयसंगै हातेमालो गर्दै सामुहिक काम गर्न सक्ने असल नेतृत्वले मात्र नेपाल नेपालीलाई स्वाभिमानी र समृद्ध बनाउन सक्छ । आशा गरौ नेपालमा त्यो दिन छिट्टै आओस् । हामी सबै मिलेर अगाडि बढौ देश बनाउने जिम्मा हाम्रो पनि हो । जय मातृभुमी नेपाल ।





