बागलुङ, २५ माघ– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् । जनसरकार प्रमुख ढोरपाटन नगरपालिकावडा नं. २ का थम सेन भनिने भुवन सेन र प्रकाश माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
बडिगाड गाउँपालिका वडा नं. १ बाट उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए । उनीहरु शुक्रबार राती बडिगाड गाउँपालिका वडा नं. १ को कुवापानीमा भएको लुटपाटमा संलग्न भएको हुनसक्ने प्रहरीले जनाएको छ । बडिगाडकै दगा सल्लेपोखरावाट उनीहरु पक्राउ परेका देवकोटाले जानकारीदिए ।
शुक्रबार लुटपाटको घटना भएपछि स्थानीय र प्रहरीले खोजी थालेका थिए । लुटेरा खोज्ने क्रममा उनीहरु पक्राउ परेको र थप विवरण आउन बाँकी रहेको देवकोटाले बताए । लुटपाटको घटना सोधपुछ गर्ने क्रममा भागेपछि उनीहरुलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको थियो ।
कुवापानीमा स्थानीय ५४ वर्षिय धनी राम्जालीको १ लाख ५३ हजार नगदसहित गरगहना लुटिएको थियो । उनीहरुको साथबाट महत्वपूर्ण कागजातसमेत बरामद भएको देवकोटाले बताए ।





