बागलुङ, २६ माघ– सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्ने भन्दै बनाएको डिपिआर दुइपटक सच्याएपछि पनि अझै ठेक्का लगाइएको छैन । झण्डै दुइ वर्षअघि बनाएको डिपिआर अझै संचालनमा नआएको हो ।
व्यवस्थित ढल निकासका लागि भन्दै बनाइएको डिपिआरको काम सुरु हुन नसक्दा बागलुङको सरसफाई अभियान प्रभावित भएको छ । सहकारीमार्फत फोहोर उठाउने काम गरिरहेको बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकास बनाएर अर्गानिक मलसमेत बनाउने लक्ष राखेको थियो । ‘डिपिआर अनुसारको ठेक्का प्रक्रियामा जाने तयारी छ, छिट्टै काम शुरु हुनेछ’ इन्जिनियर गौरव शर्माले भने, ‘भूगोल अनुसारको डिजाइ्न र लागत स्टिमेटमा सुधारपछि मात्रै यो कामले गति लिएको हो ।’
झण्डै एक अर्ब रुपैयाँमा बागलुङको ढल निकास बन्ने उनले बताए । व्यवस्थित ढल निकास अभावमा नगरपालिकाले संकलन गर्ने फोहोर कालीगण्डकी र काठेखोला छेउमा अव्यवस्थित रुपमा फाल्दै आएको छ ।
यसरी फालिएको फोहोरले कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी नदीसमेत प्रदुषणमा परेको छ । दैनिक सयौं यात्रीले दुर्गन्ध व्यहोर्न बाध्य छन् भने नदीको प्रदुषणले जलचरलाई समस्यामा पारेको अधिवक्ता राम शर्माले बताए ।
घर घरमा बनाइएका सेफ्टी ट्यांकीबाट निस्कने फोहोरलाई सफाईको नाउँमा खोला, नदी र सार्वजनिक स्थानमा फाल्ने बागलुङमा बढी छ । सेफ्टीट्यांकी सफाइ भन्दै एक ट्रिप ट्रयाक्टरको २० देखि २५ हजार रुपैयाँ उपभोक्ताबाट लिएर सफाई कम्पनीले खोलाछेउमा लगेर फाल्ने गरिरहेका छन् । उक्त समस्याबारे पटक पटक आबाज उठेपछि नगरपालिकाले तीनबर्ष अघि ढलनिकासको योजना बनाएको थियो । तर गुरुयोजनालाई अझै कार्यान्वयनमा नल्याएको हो ।
मानवजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भिर असर परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘फोहोरलाई दुर्गन्धकै रुपमा छाडियो भने रोगको संक्रमण बढी हुन्छ’ गुरौले भने, ‘ढल निकासमार्फत अर्गानिक मल उत्पादन भयो भने रोग लाग्ने र सर्ने खतरा कम हुन्छ ।’
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत ढल व्यवस्थापनको काम गर्ने भनेको नगरपालिकाले समन्वय र सहकार्य भने गर्न नसकेको हो । उक्त व्यवस्था अनुसारको काम भएमा सार्वजनिक स्थानमा ढल बिर्सजन गर्ने काम रोकिने थियो ।
काठमाण्डौको ‘एसडी इन्जिनियरिङ कन्सल्टेनसी’ मार्फत डिपिआर निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । नगरको मुख्य बजार रहेको वडा नं. १, २, ३ र ४ मा ढल निकासको काम गरिने उनले बताए । ढल निकासका लागि व्यवस्थित ‘ट्रिटमेन्ट प्लान’ बनाईने पौडेलले दाबी गरे । ‘ढललाई कम्तिमा ५ वटा ट्रिटमेन्ट प्लान्टमार्फत जैबिक मलको रुपमा उत्पादन गरिनेछ’ उनले भने, ‘खोला र नदीमा फोहोर बग्ने क्रम रोकेर जैबिक मल बनाउँदा उत्पादनमै लगाउन सकिन्छ ।’
जैबिक मल बनाउँदा फस्फोरसको मात्रा बढाउन सकिने इन्जिनियरबाटै सुझाव आएकोले लगानीको खोजी भैरहेको उनको भनाई छ । संशोधित स्टिमेट अनुसार ढल निर्माण गर्दा बजारको सबै सडकको कालोपत्रेसमेत गर्ने गरी लागत राखिएको छ ।
अध्ययन अनुसार नगरक्षेत्रको ३५ हजार जनसंख्यालाई लक्षित गरेर पहिलो चरणको ढल निकास गरिन लागिएको हो । त्यसका लागि दुई किमी मुख्य ढल र ८ किमी शाखा ढल निर्माणको सर्भे गरिसकिएको हो । डिपिआरको प्रारम्भिक प्रतिबेदनमा सरोकारवालाले छलफल गरेपछि पुन बिस्तृत सर्भेक्षण गरेर डिपिआर बुझाउन सुझाव दिए अनुसारको संशोधन भएपछि टेन्डर प्रकृयामा जान लागेको नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।





