बागलुङ, २६ माघ– संघीय संसद, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा सोमबार बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सम्मिलित कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, राष्ट्रिय सभा सदस्यहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लाका विभिन्न कार्यालय प्रमुखहरु, नागरिक समाज र पत्रकारहरुको उपस्थिति थियो ।
दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न ७ वटा निकायका प्रमुखहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । तीमध्ये जिल्लाको शान्ति सुरक्षा र सुशासनको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे ।
डिभिजन बन कार्यालयले जिल्लाको वनको अवस्था, रुखहरुको विवरण, स्थानीय चुनौती, भाबी कार्यदिशा, जिल्लामा जलवायु परिवर्तनको अवस्था, कार्बन उत्सर्जन, वनजंगलले गर्ने वातावरणीय असर र दिगो विकासको लक्ष्य, कोष तथा लेखा नियन्त्रण कार्यालयले बेरुजुका प्रकार, काम गर्ने र खर्च गर्ने तरिकाबारे आएका समस्याबारे चर्चा गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका विपिन आचार्यलगायतले जिल्लामा भएका भ्रष्टाचार, अनियमितता र सुशासनमा अपनाउनु पर्ने बिधिबारे आफ्नो प्रस्तुती गरे । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाको पूर्वाधार विकासको बिषयमा कार्यपत्र प्रस्तुत गरे ।
भ्रष्टाचार सम्बन्धी जनप्रतिनिधि तथा नागरिक समाज र पत्रकारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विभिन्न प्रश्नहरु गरे । सभापति तारादेवी भट्टले तीनवटै तहका सरकारहरुको बिकासको मुद्दामा एक बुझाई नहुन्जेल दिगो विकास सम्भव नहुने बताईन् ।





