बागलुङ, २७ माघ– ‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चारपाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार भन्दै उजुरी लिएर आउँछन्, व्यवहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानुनले त्यसो भन्दैन् ।’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठले आफ्नो प्रस्तुती धाराप्रवाह दिँदै थिए ।
‘रामले श्यामेसँग ऋण लियो, ऋणमा लिएको पैसा माग्न श्याम आयो भनेर सुसाईट नोट लेख्छ र हाम फाल्छ, सरासर हेर्दा श्याम दोषी देखिँदैन तर कानुनले त्यसो भन्दैन् ।’ प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका सभासदहरु सम्मेलित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गरेका श्रेष्ठले बलात्कार र आत्माहत्या दुरुत्साहनका मुद्धाले अनियमितता बढाएको बताए ।
पछिल्लो समय उजुरी लिएर प्रहरीमा आउने कयौं त्यस्ता घटनाहरु कानुनको नजरमा जायज र व्यवहारिकता हेर्दा नाजायज हुने गरेका घटना उनले सुनाए । ‘कोही कसैसँग सामान्य मनमुटावकै आधारमा उजुरी हुन्छ, हामी कानुनको पालकहरुले प्रक्रिया थाल्नै पर्यो’ श्रेष्ठ भन्छन् ‘एउटा निर्दोष मान्छे वर्षौंसम्म थुनामा रहन्छ भने त्यो अनियमितता होईन र हजुर’ श्रेष्ठ भन्छन् ‘प्रतिशोधका घटनाका कारण वास्तविक घटनाका पीडितहरु मारमा परेका छन् त्यो अर्को अनियमितता हो ।’
संघीय संसद, राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आयोजनामा बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक अन्तरक्रिया सोमबार होटल दि राजनमा थियो ।
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु एकै ठाउँमा भेला थिए । प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालय प्रमुखहरु, नागरिक समाज र पत्रकारसमेत सहभागि कार्यक्रममा अनियमितताका अनेक रुपको विषयमा चर्चा भयो । प्रहरी कार्यालयको तर्फबाट आफ्नो प्रस्तुती राखेका श्रेष्ठले पछिल्लो समय कानुनी झण्झट र दोहोरो अर्थलाग्ने व्यवस्थाका कारण बाध्य भएर नागरिकले पाएको दुःखका विषयमा लामो चर्चा गरे ।
‘एउटा ठाडो उजुरी लेखेका अधिबक्ताहरुले हजारौं लिनुहुन्छ, उहाँहरुले कति लिने भन्ने कसले व्यवस्था गरेको छ ?’ सभाहलमा उपस्थित सरोकारवालालाई प्रश्न गर्दै श्रेष्ठले भने ‘उजुरी लेखाउने रकम नभएकै कारण पीडित फर्किने अवस्था छ । हामीले सबै उजुरी लेखिदिन मिल्दैन्, वकिल सा’पहरुको मनलाग्दी शुल्क अनियमितता हो कि हैन ?’ उनले आमाको नामबाट नागरिकता लिने बेला पु¥याउनुपर्ने प्रक्रिया र बलात्कार, दुरुत्साहनजस्ता मुद्धामा सबै प्रकृतिका घटनालाई एउटै डालोमा राख्दा अनियमितताका श्रंखलाले बढवा पाएको दाबी गरे ।
अन्तरक्रियामा बिभिन्न क्षेत्रका ७ वटा कार्यपत्र प्रस्तुत भए । थोरै छलफल र धेरै कार्यपत्र प्रस्तुतकर्ताहरुले आफ्ना बिषयगत क्षेत्रको बिषयमा जानकारी गराए । जिल्लाको शान्ति सुरक्षा र सुशासनबारे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे ।
जिल्लामा पूर्वाधार विकासको बिषयमा कार्यपत्र प्रस्तुत गरेका समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले अनियमितताको अर्को रुप औंल्याए । ‘जिल्लामा तीन ठुला सडकका आयोजना छन्, तीमध्ये मध्यपहाडी लोकमार्गको अवस्था कहालीलाग्दो छ’ ढुंगानाले बागलुङ–अक्षेते खण्डको काममा समयको अनियमितता भएकोप्रति संकेत गर्दै भने ‘पटक पटक थपिएको म्यादमा पछिल्लो पटक प्रतिबद्धता गरेर काम सुरु भएको छ, भरोसा गर्ने अझै वातावरण छैन् ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका विपिन आचार्यले आफ्नो कार्यपत्र प्रस्तुत गरे । गत वर्षको पौष मसान्तसम्म ६ सय १६ उजुरी परेकोमा यो बर्ष सोही अबधिमा ७३८ उजुरी दर्ता भएको उनले सुनाए ।
अख्तियारका अनुसार संघीयताको कार्यान्वयनसँगै अनियमितता पनि बिकेन्द्रीकरण भएको छ । स्थानीय विकास मन्त्रालयअन्र्तगत धेरै उजुरी छन् । गण्डकी प्रदेशका १० जिल्लाको तथ्यांक केलाउँदा २ सय ६४ उजुरी स्थानीय तहसँग जोडिएका छन् । त्यसमा पनि शिक्षासँग सम्बन्धित उजुरीको संख्या १ सय १८ रहेको तथ्यांक छ ।
स्थानीय तहमा सिफारिसमा आश, पूर्वाधार निर्माणमा गुणस्तर, दोहोरो योजना बनाएर भुक्तानी, हाजिर नभएका शिक्षकलाई तलबभत्ता, विद्यालयका प्रश्नपत्रमा चलखेल, सार्वजनिक जग्गा व्यक्तिका नाम बनाएर अनियमितता लगायतका शिर्षकमा भ्रष्टाचार हुने गरेको छ ।
स्वास्थ्य क्षेत्रमा नचाहिएको उपकरण तथा औषधिको खरिद गरेर कमिसन खाने र स्टोरमा राखेर बिल बनाउनेको बिगबिगी रहेको आचार्यले औंल्याए । स्थानीय तहमा सबैभन्दा धेरै कर्मचारीको चलखेल सार्वजनिक खरिदमा हुने गरेको छ । अख्तियार कार्यालय पोखराका अनुसार, प्रक्रियामा प्रबेशनै नगरी सार्वजनिक खरिदमा सरिक हुने र लाभ लिने गरेको पाईएको छ ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय, डिभिजन वन कार्यालयले बिषयगत क्षेत्रको प्रगति र अनियमितताका श्रृंखलाहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सम्पन्न भएको थियो ।





