बागलुङ, २७ माघ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्ताहरुसँग माफी मागेका छन् ।
पार्टीको एकता जोगाउनका लागि पटक पटक भएका प्रयासहरु असफल भएपछि संविधानको मर्म विपरीत संसद बिघटन हुँदा पार्टीको एकता गम्भिर संकटमा परेको पौडेलको भनाई थियो ।
‘भदौ २६ को स्थाई कमिटिको बैठक र बैठकले बनाएको कार्यदलले तयार परेको दस्तावेज लगायतका प्रयासहरु पार्टी जोगाउनका लागि थिए’ पौडेलले भने ‘प्रधानमन्त्रीले निरन्तर विधि, पद्धती तथा पार्टीका निर्णयलाई कुल्चिएकाले अहिलेको अवस्था आयो, माफ गर्नुहोला पार्टीको बिधि र असंबैधानिक कदमका कारण हामीले पार्टी जोगाउन सकेनौं ।’
मंगलबार नेकपा बागलुङले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बागलुङमा सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीले गरेका सबै निर्णयमा १५ मिनेटमै राष्ट्रपति कार्यालयबाट स्वीकृत हुनु आश्चर्यको भएको बताए ।
पार्टीमा विमति आएपछि धु्रविकरण बढेको भन्दै पौडेलले प्रचण्ड-नेपाल समुहभन्दा बाहिरको समुहले कार्यकर्ता तहमा धाक–धम्की देखाएर तर्साउने काम गरिरहेको बताए । सर्वोच्च अदालतमा परेका रिटहरुमाथि बहस चलिरहेकै बेला पौडेलले नेकपाको आधिकारीक समुह दाहाल नेपाल समुह भएको र संसद पुनःस्थापना भएरै छोड्ने दाबी गरे ।





