पोखरा, २८ माघ– सरकारले गण्डकी प्रदेशमा पहिलो चरणमै चुनाव गराउने कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीसहित प्रदेश नम्बर १, २, कर्णाली र लुम्विनी प्रदेशमा चुनाव गराउने निर्णय गरेको हो । घोषित मितिमा चुनाव भए अब गण्डकीमा आउँदो वैशाख १७ गते प्रतिनिधिसभाको चुनाव हुनेछ । बागमती, र सुदूरपश्चिममा भने वैशाख २७ गते चुनाव गराउने सरकारको तयारी छ ।
चुनावबारे अन्यौल नै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोग पुगेर चुनावको तयारी थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी हुन् । त्यही दिनदेखि विभाजन भएका नेकपाका दुई पक्षमध्ये प्रचण्ड–नेपाल समूह ओलीले असंवैधानिक कदम चालेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।साथै कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन् । योलगायत नेकपाका दुई पक्षबीच जारी पार्टी आधिकारिताको विवादका कारण पनि वैशाखमा चुनाव हुनेमा धेरैले आशंका गरेका छन् ।





