बागलुङ, २८ माघ– समथर जग्गा भएर पनि बलेवामा हिउँदे खेतीका लागि सिंचाईंको असुविधा छ । बर्षा याममा हरावरा देखिने यहाँका फाँटहरु हिउँदको समयमा उराठलाग्दो देखिन्छन् ।
बागलुङ नगरपालिका–१३ को पैञ्युपाटामा पर्छ बलेवा क्षेत्रकै सबैभन्दा ठुलो दम्कको फाँट । यो फाँट अहिले पनि बाँझो छ । बर्षाको समयमा भेलको पानीले धानखेती हुने फाँट हिउँदमा सिंचाईको अभावले बाँझो रहन्छ । दम्कको फाँट जस्तै बलेवा क्षेत्रमा पर्ने अमलाचौर, पैञ्युपाटा र नारायणस्थानका कयौं फाँटहरुमा सिंचाईको असुविधा छ ।
छेउछाउका स–साना खहरेहरुमा बग्ने पानीको सदुपयोग गरेर यहाँका किसानले पारिवारिक प्रयोजनका लागि हिउँदे तरकारी त उत्पादन गर्छन् तर व्यवसायीक खेतीका लागि समस्या छ । पछिल्लो समय बलेवाको पैञ्युपाटाका किसानले सिंचाईको विकल्प खोजेर व्यवसायीक तरकारी खेती गर्न थालेका छन् ।
पैञ्युपाटाका अधिकांश घरमा खानेपानीका एक घर एक धारा पुगेका छन् । खानेपानीका लागि पुगेका धाराहरुमा आउने पानीको सदुपयोग गरेर बाँझो जमिन हराभरा बनाउन थालेको पैञ्युपाटा बडहरेकी व्यवसायीक किसान यमुना ढाकालले बताईन् । यहाँका किसानले करेसाबारीलाई नै व्यवसायीक तरकारी उत्पादन गर्ने थलो बनाउन थालेका हुन् ।
‘धारामा आउने पानी जम्मा गरेर तरकारी बनाईएको छ’ ढकालले भनिन् ‘यहाँ फलेको तरकारी गाउँमै बिक्री हुन्छ ।’ अहिले पनि गाडीभरि तरकारी बोकेर पैञ्युपाटा पुग्ने व्यापारी बिहान पुगे साँझ खाली गाडी लिएर बागलुङ बजार फर्किन्छन् । बाहिरी बजारबाट आउने तरकारीको विस्थापनका लागि मात्रै पैञ्युपाटामा तरकारी खेतीको अभियान चलाईएको छ ।
‘यो बर्ष १ लाख ३० हजारका टनेल बाँडेर तरकारी खेतीमा आकर्षित गर्ने कार्यक्रम थियो’ वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने ‘सोचेको भन्दा धेरै माग आयो, धान्नै सकिएन ।’
वडा कार्यालयले टनेल तयार गरेर मात्रै माग गर्न आउन भनेको थियो । माघको १ गतेदेखि १५ गतेसम्मको समय सिमा दिईएकोमा वडाभरि १ सय १७ वटा टनेल बनेका छन् । ‘धाराकै पानीका भरमा तरकारी खेती गर्न इच्छुक धेरै देखिनुभयो, चरणबद्ध सहयोग गरेका छौं’ पौडेलले भने ‘वडाको स्रोतले नपुगे अन्त कतै मागेर भएपनि किसानलाई व्यवसायसँग जोड्छौं ।’
चालु आर्थिक बर्षमा अदुवा–बेसार कार्यक्रमका लागि छुट्टाईएको बजेटसमेत किसानकै सल्लाहमा टनेल खरिदमा लगाउँदा ५८ वटा टनेल मात्रै किसानले पाएका छन् ।
अझै ५९ वटा टनेल किसानका लागि आवश्यक भएको उनले सुनाए । ‘किनेर खाएको तरकारीले स्थानीय आजित भएको पाएँ, अब आँफै फलाउने र बढी भए बिक्री गर्ने सोँचमा उहाँहरु हुनुहुन्छ’ पौडेलले भने ‘यो वडाका लागि सानो तर लामो समय प्रभाव राख्ने कार्यक्रम हो ।’
वडाबाट बेसिजनमा तरकारीका लागि बाहिरीने पैसा मात्रै रोक्न सकिए ठुलो उपलव्धी हुने उनले सुनाए । खानेपानीका लागि भनेर मिटरमा आउने पानीसमेत निर्धक्क किसानले करेसामा लगाउँछन् । वडा कार्यालयको साथ पाएपछि किसानले घर–घरमा तरकारी फलाउने अभियानमा लागेको वडा सदस्य भवानी प्रसाद रिजालले बताए ।





