बागलुङ, २९ माघ– गण्डकी प्रदेश सरकारले बागलुङमा ६५ किलोमिटर सडक कालोपत्रेको काम थालेको छ । बहुबर्षे योजनाअन्र्तगत गत आर्थिक बर्षमा सुरु भएर आगामी दुई वर्षभित्र काम सक्नेगरी छ सडक कालोपत्रे गर्न थालिएको हो ।
कुल ६५.४८ किलोमिटर सडक उक्त अबधिमा कालोपत्रे हुनेछ । पूर्वाधार कार्यालय बागलुङले विभिन्न पाँचवटा सडकको सम्झौता गरेर काम अघि बढाईसकेको छ । बागलुङ, गलकोट, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङका, ताराखोला गाउँपालिकाका बिभिन्न सडक योजनाहरु कालोपत्रे हुन थालेको कार्यालय प्रमुख शोभियत खड्काले बताए । सदरमुकाम बागलुङ बजारबाट स्थानीय तहका केन्द्र तथा अन्तर स्थानीय तह जोड्ने सडकको कालोपत्रे सुरु भएको हो ।
बागलुङ नगरपालिका–४ फेदीदेखि मालिका, कालिमाटी, काठेखोला गाउँपालिकाको भिमपोखरा, धम्जा तंग्राम, लेखानीहुँदै बागलुङ नगरकै तित्याङ्ग, भकुन्डे, भैरवस्थान जोड्ने सडक कालोपत्रेको काम भैरहेको छ । २०७६ असोज २८ गते सम्झौता भएको यो सडक कालोपत्रेको १४ किलोमिटर खण्डको काम सिंह किराटश्वर काष्टमाण्डप जेभीले गरिरहेको छ ।
एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको यो सडककोे भौतिक प्रगति ९७ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ करोड कुल लागत अनुमान गरेको यो सडकको काम २७ करोड ६८ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । कोरोना महामारीले काममा प्रभाव परेकाले समयमा सकिने सम्भावना कम रहेको खड्काले बताए । यो सडक कालोपत्रेको काम २०७८ आसोज २७ सम्म सकिसक्नु पर्छ ।
जैमिनी नगरपालिका–१ कुश्मीसेरादेखी राङखानी राम्दुकहुँदै बरेङ शान्तीपुर सडक खण्डको खण्डमा कालोपत्रेको काम चलिरहेको छ । २०७६ असोज २८ गते सम्झौता भएको यो सडक कालोपत्रेको १० किलोमिटर खण्डको काम शर्मा क्याराभान जेभीले गरिरहेको छ । एक वर्षमा पाँच किलोमिटरको काम सक्ने लक्ष राखिएको सडककोे भौतिक प्रगति ८० प्रतिशत छ । हालसम्म सडकको काम २४ करोड ४५ लाख रुपैयाँमा कम्पनीले ठेक्का पाएको थियो । यो सडक कालोपत्रेको काम सक्ने सम्झौतामा २०७८ आसोज २७ सम्म सकिसक्नु उल्लेख छ ।
छिमेकी जिल्ला म्याग्दीको रुम जोड्ने गरी गलकोट नगरपालिकाको हरिचौरदेखि ताराखोला गाउँपालिकाको हिल र म्याग्दीको रुम सडकको मुख्यखण्ड स्तरोन्नतीको काम भैरहेको छ । कालोपत्रेको योजना रहेको यो सडक पहिलो चरणमा स्तरोन्नती काम भैरहेको कार्यालयले जनाएको छ । १०.८९ किलोमिटर सडक एपेक्स, खड्का किस्न कम्पनीले कामको जिम्मेबारी लिएको छ । ९० प्रतिशत भौतिक प्रगति देखिएको यो योजना २४ करोडभन्दा धेरै रकमको हो ।
जिल्लाको सुदुर पश्चिम भनेर चिनिने निसीभुजी क्षेत्रमा एउटामात्रै सडकको काम चलिरहेको छ । ढोरपाटन नगरपालिकाको दुवाडी गाडीखोला, चामीद्वार छ्यान्टुङहुँदै म्याग्दी जोड्ने १०.३९ किलोमिटर सडक कालोपत्रेको काम चलेको हो । गत बर्ष कात्तिकमा सम्झौता भएको यो योजनाको समयावधि आउँदो कात्तिकमा सकिँदै छ । श्रेष्ठ क्याराभान कम्पनीले २५ करोडमा कामको जिम्मेबारी लिएको यो सडकमा भौतिक प्रगति ९० प्रतिशत रहेको छ ।
जिल्ला सदरमुकामलाई दक्षिणका पालिकाहरुसँग जोड्ने मालढुंगा, पाग्जा, बलेवा एरपोर्ट, कुश्मिसेरा सडक कालोपत्रेको काम चलिरहेको छ । प्यासेफिक कर्ण जेभीले निर्माणको जिम्मेबारी लिएको यो सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । १० किमी खण्डमा धमाधम काम भैरहेको छ । गत आ.व.मा सम्झौता भएका सडकमध्ये यो सडक समयअघिनै काम सक्ने पहिलो सडक बन्ने छ । २९ करोडमा निर्माणको सम्झौता गरेको कम्पनीले ९८ प्रतिशत भौतिक प्रगति देखाएको छ । चैत लागेपछि कालोपत्रे बिच्छाउने तयारीमा रहेको कम्पनीले चैतको अन्तिमसम्म सडक हस्तान्तरण गर्ने जनाएको छ ।
ताराखोलाको केन्द्र जोड्नेगरी कालोपत्रे योजना रहेको खरीखोला सर्पान्दीहुँदै गाउँपालिकाको केन्द्र जाने सडकको ठेक्का सम्झौता हुन सकेको छैन् । १० किमी सडकका लागि मन्त्रालयले ४७ करोड रुपैयाँबजेट बिनियोजन गरेको छ । टेण्डर प्रक्रिया चलिरहेकाले एकदुई महिनामै यो सडक कालोपत्रे सुरु हुने कार्यालय प्रमुख खड्काले बताए । गण्डकी प्रदेश सरकारले पालिका मुकाम जोड्ने र रणनितिक योजनामा समाबेश गरेर सडकहरु कालोपत्रे र स्तारोन्नतीको काम गरिरहेको हो ।





