यतिबेला सबैको ध्यान राजनैतिक घटना परिघटनामा केन्द्रित छ । सरकार, राजनैतिक दलहरु प्रतिष्पर्धात्मक आमसभामा जुटेका छन् । सबैको ध्यान सत्तामा खिचिएको बेला सिंगो समाज नै लज्जित हुने गरी महिला बलात्कारपछि हत्याका घटनाहरु सार्वजनिक भइरहेका छन् । महिलाविरुद्धका अपराधिक घटनाहरु बढ्दै गएका छन् । करिव दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अभियुक्त अझै पत्ता लगाउन सकिएको छैन । यस घटना राजनैतिक नेतृत्वदेखि प्रहरी÷प्रशासनसम्म सबैको टाउको दुखाईको विषय बनेको छ । कोरोना महामारीकै बीचमा पनि बालिका बलात्कार र हत्याका घटनाहरु भए । अहिले फेरि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । भागरथी, गाउँपालिकाको भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययन गर्थिन् । भट्टको बलात्कारपछि भएको हत्याले कञ्चनपुरकी निर्मला पन्तको हत्याको याद दिलाएको छ । बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको थियो । यो घटनाक्रमले अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी न्यायको कठघरामा ल्याउन नसके अपराध बढ्दै जाने देखिन्छ । इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किलोमिटर दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रमुख डीएसपी, प्रमुख जिल्ला अधिकारी,सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोली शुक्रबार बिहान घटनास्थल पुगेर घटनाको संवेदनशीलता देखाएका छन् । प्रमुख जिल्ला अधिकारीले किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको र त्यसपछि कसरी अघिबढ्ने भन्ने उपाय पनि खोजेको देखिन्छ । ‘फरेन्सिक टिम बोलाउने, घटना मुचुल्का गरी किशोरीको शव जिल्ला अस्पताल लाने त्यहाँ चिकित्सको टोलीले पोस्टमार्टम गर्ने र किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानूनी दायरामा ल्याइने तत्परता देखाएको देखिन्छ ।
अपराधीले किशोरीको मोबाइलको ब्याट्री झिकेर फालिएको अवस्थामा प्रहरीले घटनास्थलमै फेला पारेको छ । मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ । प्रदेश सरकारका तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी मुकेश सिंहसहितको टोली घटनास्थलतर्फ गएको छ । धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल लगिएका छन् । नेपाल प्रहरीका डिआईजी उत्तम सुवेदी नै घटनास्थल पुगेका छन् । नेपाल प्रहरीले संवेदनशीलता देखाएमा अनुसन्धान गरेर अपराधीलाई चाँडै गिरफ्तार गर्न सक्ने क्षमता राख्छ । ‘घरमा आमा एक्लै भएको र अभिभावकविहीन भएको मौका छोपेर बलात्कार गरेको हुनसक्ने पीडितका आफन्तले बताएका छन् । भागिरथीका बुवाको एक महिनाअघि धनगढीमा उपचारको क्रममा मृत्यु भएको र उनका दाइ केही दिनअघि किरिया सकेर रोजगारीको खोजीमा भारततिर गएको थाहा पाएका व्यक्तिबाटै यस्तो आपराधिक कार्य भएको हुन सक्छ ।
यस्तै बिराटनगरमा हालै एक १७ वर्षीया किशोरी पनि बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ । ती किशोरी बेहोस अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए । किशोरी बेहोस अवस्थामा भएकीले सहमतिमा यौन सम्पर्कमा भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले उजुरीसमेत लिन नमानेको पीडित पक्षको गुनासो थियो । वास्तवमा नेपाल प्रहरीले बलात्कार जस्तो समाज नै कलङ्कित हुने आपराधिक घटनामा संवेदनशीलता नअपनाउँदा घटना दोहोरिएका छन् । हाम्रो समाजमा महिला, बालबालिकाहरुको असुरक्षा बढ्दै गएको छ । महिला बालबालिका बलात्कारपछिको हत्या भनेको गम्भीर विषय हो । बालबालिका र महिलाको सुरक्षाको लागि राज्यले गम्भिरतापूर्वक सोच्नु पर्ने भएको छ ।
बलात्कारका घटनाका पीडितलाई सरकारले विशेष सम्वोधन गर्नुपर्ने देखिन्छ । सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएको भए पनि कञ्चनपुरकी निर्मला पन्तको जस्तो अपराधी पत्ता लगाउन नसक्ने जस्तो अवस्था आउन दिनु हुँदैन । अनुसन्धानमा खटिने प्रहरीले दोषिलाई कानुनको कठघरामा ल्याउन तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्ने हुन्छ । अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउनु पर्नेहुन्छ । अपराधलाई राजनीतिकरण गर्ने र कसैको कमाउ खेती गर्ने माध्यम बन्न नदिन पनि प्रहरीले अनुसन्धानमा कुनै कमजोरी नहोस् भनेर सचेतता अपनाउनु जरुरी छ ।
समाजका केही पहुँचवालाहरुले बलात्कारका घटना मिलाउने गरेको पनि पाइन्छ । बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गरी मिलाउन खोज्नु भनेको कानूनको अनभिज्ञताले अवश्य होइन । अपराध भइसकेपछि प्रहरी, प्रलोभनमा परेर बेलाबेलामा गर्ने पक्षपातपूर्ण ब्यवहारका कारण समाजमा दण्डहीनता मौलाउँदै गएको हो । निर्मला बलात्कार तथा हत्याकाण्डका अभियुक्त अझै पत्ता लगाउन नसक्नु प्रहरी असफलताको उदारण हो । यसमा के मनोबिज्ञानले काम गरेको देखिन्छ भने पैसाको आडमा गरीब, दलित, असहाय र पीडितमाथि भएको घटना दवाउन सकिन्छ ।
गरीब र दलित परिवारका महिलालाई बलात्कार जस्तो अपराध हुँदा पनि समाज र कानून कार्यान्वयन गर्ने निकायलेसमेत ढाकछोप गर्ने गरेको देखिन्छ । महिलाविरुद्धको जघन्य अपराधबारे सांसदहरुले नै जथाभावी सार्वजनिक रुपमा मिडियाबाटै अभिव्यक्ति दिने गरेको पाइन्छ । सरकारले कानूनको विज्ञको रुपमा सिफारिस गरेको, राष्ट्रपतिद्धारा मनोनित, राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संसद जस्तो मयार्दित ठाउँमा बसेर, संचार माध्यममा आपत्तिजनक अभिक्ति प्रकट गरेका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका बिडारीले ‘उमेर पुगेका मान्छेहरूले रेप (बलात्कार) ग¥यो भन्यो भने त्यो ९० प्रतिशत होइन भन्ने लाग्छ । १० प्रतिशत हुन सक्ला, सहमतिमा इन्जोय गर्ने अनि कुरा नमिलेपछि मुद्दा लगाइदिने । अहिले त अर्को पनि रमाइलो के भएको छ भने रेप गरेपछि, बिहे गरेपछि वा सम्बन्ध विच्छेद भएपछि सम्पत्ति दिनुपर्छ भन्ने कानून बनाइदिएको छ…।’ बिडारीले केही महिनाअघिको एउटा टेलिभिजन कार्यक्रममा यस्तो हल्का ढंगबाट अभिव्यक्त दिएपछि बिडारीको भनाई सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । पदमा बसेका जिम्मेवार अझ कानूनसमेत बनाउने व्यक्तिबाट अपराध पीडित महिलाप्रति यस्तो उटपटाङ अभिव्यक्ति जुन बहसका क्रममा बलात्कारीको पक्षमा बोल्न्छि । कत्ति पनि शोभनीय होइन, अब उनी वकिल जस्तो एकपक्षीय भूमिकामा छैनन् । कानून व्यवसाय पेशाको मर्यादा र आचारसंहिता मिचेर कार्य गरेका कारण कतिपय अपराध पीडितहरु अझ बढी पीडित बन्नुपरेको अवस्था छ । समाजमा प्रतिष्ठीत हँु भन्नेहरुले नै महिलामाथि भएको जघन्य अपराधमा सहजीकरण (मिलाउने) गर्ने पैसामा न्याय खरिद गर्ने गरेको देखिन्छ । गरिबी र अभाव झेलिरहेका पीडितहरुलाई केहि पैसा दिएर बयान फेर्न लगाउने गरिन्छ । अनुसन्धान गर्ने निकायले नै अनुसन्धान फितलो बनाउने गरेकाले पीडितलाई न्याय पाउँछु भन्ने कुराको सुनिश्चितता हुँदैन । यस्तो अवस्थामा न्यायपालिकाबाट पनि सम्वेदनशील भएर व्यवहारिक न्याय प्रदान नगरिएको देखिन्छ । गरिबी र अभाव झेलिरहेका पीडितहरु न्याय नपाए पनि पैसा त पाइन्छ भनेर चुपचाप बस्ने गर्दा फौजदारी न्याय प्रणाली फितलो हुन गएको छ । वास्तवमा अपराधबाट पीडितहरुलाई राज्य (कानून कार्यान्वयन गर्ने निकाय) समाज र सामाजिक व्यक्तिहरुको सहयोग रहेको अवस्थामा अपराधीबाट क्षतिपूर्ति भराउन सक्ने कानून छ । साथै न्याय प्रणाली पनि सरल सहज र शीघ्र हुनु आवश्यक छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जवर्जस्ती करणी सम्बन्धी कानूनको अपर्याप्ता देखेर त्यससम्बन्धी अध्यादेश ल्याउनुभयो । समाजमा बलात्कारका घटना बढ्दै गएपछि मेलमिलाप गराउनेसमेतलाई कारवाही गर्ने अध्यादेश छ । एसिड आक्रमणबाट पीडित भएका महिलाहरुको एसिडजन्य अपराध नियन्त्रण, पीडितको उपचार, क्षतिपूर्तिलगायतका सवाल सम्बोधन गर्न चासो बढाउनु भएको छ । उहाँको यो चासो प्रशंसायोग्य छ । यसले एसिडजन्य हिंसा पीडित र तिनका परिवारलाई परेको पीडा क्षतिलाई सम्वोधन गर्न मद्दत पुग्नेछ । कानून निर्मातादेखि कानूनको कार्यान्वयनकर्तामासमेत बलात्कार र यौन दुब्र्यवहार गरेको आरोप लागेका घटना छन् । हाम्रो समाजमा बालिका तथा महिलाहरुलाई जोगाउन निकै नै कठीन भएकोे अवस्था छ । समाज र छिमेकीबाटै महिलाहरु असुरक्षित हुनु परेको छ । महिलाविरुद्धको अपराधलाई हेर्ने सामाजिक दृष्टिकोण महिला र पुरुषबीच रहेको असमान शक्ति सम्बन्ध, आर्थिक, सामाजिक लैङ्गिक विभेको प्रतिफल हो । यद्यपि, महिलाविरुद्धको अपराधमा आवाज उठाउनेहरूको संख्या बढ्दै गइरहेको छ । तर पनि विभिन्न स्वार्थ (पद,पैसा, नातेदार) का कारणले महिलाविरुद्धका अपराध (बलात्कार) का मुद्दाहरु ढाकछोप गर्ने र समुदायमा नै मिलाउने गरेको पाइन्छ । कानून पर्याप्त भए पनि कार्यान्वयन गर्ने पक्ष बिकाउ भएका कारण पीडकहरुको मनोवल बढ्दै गएको हो । कतिपय अवस्थामा समाज र राज्यले पीडकहरूलाई सजाय दिन नसक्दा यस्ता अपराधहरु झन बढिरहेका छन् । अब राजनैतिक नेतृत्व (प्रधानमन्त्री) को तहबाट महिलाविरुद्धका जघन्य अपराधमा सम्वन्धित निकायलाई कठोर ढंगले कानूनको कार्यान्वयन गर्न निर्देशन हुन जरुरी छ । अब यस्ता अपराधिक घटना हुनै नदिन महिलाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।





