मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बेसहाराको साहरा ‘सुमिरा’

बेसहाराको साहरा ‘सुमिरा’

आश्रममा नियमित स्वास्थ्य उपचारका लागि लामाले पहल गर्छिन् । लामाको घर पनि हेटौडा हो ।


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७७, बिहिबार

बागलुङ, २९ माघ– साँढे तीन बर्षकी सृष्टी के थरकी हुन् भन्ने थाहा छैन । सुस्त मनस्थितिकी आमा मिनाले जन्माएकोले उनीहरुको वास्तबिक पहिचान अझै नखुलेको हो ।
चार वर्षअघि बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएकी मिना गर्भवती थिइन् । यहाँको मानवसेवा आश्रमकी संचालक सुमिरा लामाले उनलाई ल्याएर पालनपोषण गराइन् । धौलागिरी अस्पतालमा सुत्केरी भएपछि जन्मेकी सृष्टी भने अविवाहित २७ वर्षिय लामाको काखमा छिन् । साँढे तीन वर्ष पुगेकी सृष्टीले लामालाई नै आमा भनेर चिनिसकेकी छिन् ।
आश्रममा अरु तीन बालिका र एक बालकसहित ४० असहायलाई राखिएको छ । लामाले दानमुठी उठाएर उनीहरुको पालनपोषण गरिरहेकी छिन् । आश्रममा बस्ने बिनु, कोपिला, उषा र सफलसंगै सृष्टी खेल्छिन् । भोक लागेपछि ‘ममी’ भन्दै लामाको काखमा पुग्छिन्, लामासंगै रात कटाउँछिन् । मिनाले बंगाली भाषा बोल्छिन् । तर उनले घर कता हो भनेर बताउन सक्दीनन् । सृष्टीले नेपाली भाषा प्रष्ट बोल्न थालिसकेकी छिन् ।
सबै बालबालिकाको लागि लामा एक्ली आमा हुन् । जन्मदिने आमाहरुमा सन्तानबारे ज्ञान छैन । आश्रममा बस्ने सबैले लामालाईनै अभिभावक मान्छन् । उषा, बिनु र कोपिलाको आमा को हुन्, कता छन् भन्ने थाहै छैन । लामाले सबैलाई दैनिक खाने बस्ने व्यवस्थापन गर्छिन् ।
हेटौंडामा रहेको आश्रमको शाखाको रुपमा चार वर्षअघि बागलुङमा पनि खोलिएको थियो । मानिस नजिक जाँदा भाग्ने, फोहोर उठाउने, नालीमै रात कटाउनेहरुलाई सफाइ गरेर आश्रममा भित्राइएको हो । जिल्लाबासीले जन्मदिन, संघसंस्थाको साधारणसभा, बिद्यालयको वार्षिकोत्सव जस्ता पर्वमा दिने सामग्री, खाद्यान्न जस्ता सहयोगले आश्रम संचालन भैरहेको छ ।
आश्रममा नियमित स्वास्थ्य उपचारका लागि लामाले पहल गर्छिन् । लामाको घर पनि हेटौडा हो । लामाका बाबु सुनित हेटौडामा अटो चलाउँछन् । आमा बिष्णु गृहीणी । लामाले सामाजिक क्षेत्रमा ७ वर्षदेखि क्रियाशिल छिन् । बागलुङ आउनुअघि हेटौडामै खुलेको आश्रममा उनले काम गरेकी थिइन् । चार वर्षदेखि चाडपर्वसमेत नभनी लामाले निरन्तर सेवा गरिरहेकी छिन् ।

बागलुङमा आश्रम खोल्ने निर्णय भएपछि लामा बागलुङमै बसिन् । सडकमा अलपत्र अवस्थामा भेटिएका मानिसलाई जम्मा पारेर नुहाइदिने, उपचार गर्ने र स्याहारमा उनी निरन्तर खटिइन् । शरीरमा घाउचोट लागेकालाई उनले आँफै उपचार गराएर सञ्चो बनाइन् । आश्रममा आएपछि १५ जनाले आफ्नो आफन्त भेटेर पुनस्थापना भएका छन् । केहीको आश्रममै मृत्युसमेत भयो । मृत्युपछि दाहसंस्कार गरिदिने काम लामाले अगुवाई गरेकी छिन् ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अगुवाईमा जीर्ण घरलाई सफाइ गरेर आश्रम स्थापना गराइएको हो । प्रशासनले आश्रमलाई उक्त घरको भोगाधिकार दिलाएको छ । परोपकारी काम भएकोले पाण्डेले आश्रम चलाउने सहमति दिएका थिए । यहाँका युवाहरुले पनि यो आश्रमलाई साथ दिएका छन् । मनिष रायमाझी, शिव बोहोरा, हरि रुचाल, सरिता गौतमलगायतका युवाले यो अभियानमा साथ दिएपछि लामाले हौसिएर थप सेवा गरिरहेकी छिन् ।
बालबालिकासहित अलपत्र मानिसलाई स्याहार गरेको लामाले पारिश्रमिक भने लिएकी छैनन् । ‘रोजगारी पाउनका लागि होइन, सेवा भावले काम गरेकी हुँ’ उनले भनिन्, ‘यस्तो कामबाट मलाई आत्मसन्तुष्टी मिलेको छ ।’ बरु एक वर्षदेखि आश्रममा नवलपुरकी बिपना केसीले साथ दिएकी छिन् । ‘उहाँहरुको सामाजिक सेवा देखेर हामीले पनि सक्दो सहयोग गरेका छौं’ स्थानीय सरिता गौतमले भनिन्, ‘युवाहरुले पनि खुसी भएर जन्मदिनको खर्च सहयोग गर्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->