मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ताराखोलाले थाल्यो एकीकृत कृषि नमूना कर्म

ताराखोलाले थाल्यो एकीकृत कृषि नमूना कर्म


  • ढोरपाटन सम्वाददाता
  • माघ ३० २०७७, शुक्रबार

बागलुङ, ३० माघ– ताराखोला गाउँपालिकाले एकीकृत सामुदायिक कृषि नमूना फार्म अभियानको काम थालेको छ ।
जग्गाको खण्डीकरण रोक्ने, सामुहिक, व्यक्तिगत कृषि फर्म संचालन गरेर रोजगारी सिर्जना गर्ने र हाइटेक प्रविधि भित्राउने भन्दै गाउँपालिकाले चालु बर्ष झण्डै २ करोड रुपैयाँ बिनियोजन गरेको छ । दर्जनबढी सूचकमा गाउँपालिकाले साझेदारीका कार्यक्रम थालेको अध्यक्ष प्रकाश घर्तीले बताए ।
गण्डकी प्रदेशले एक वर्षअघिनै ताराखोलालाई मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ बनाउने निर्णय गरेको थियो । त्यसका लागि कम्तिमा ५ सय रोपनी जमिन व्यवसायिक कृषि उत्पादनका लागि छुट्टयाउनु पर्ने प्रावधानअनुसार ताराखोलाले बाख्रापालन, किवी खेती, आलु, अलैची खेती र कृषि उपज संकलन केन्द्र निर्माण समेतको काम थालेको हो ।
कृषितर्फ तरकारी खेती र आलु खेती, बोटविरुवातर्फ किबी, अलैची, ओखर लगायतको बोटबिरुवा र पशुपालनमा भेडाबाख्रा फर्म संचालन गर्नेलाई लगानीको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको हो । किवी लागयतका खेतीमा किसानले ५० प्रतिशत लागत सहभागिता जनाउने छन् । ‘भेडा बाख्रा पाल्नेले २ सय रोपनीमा घाँस लगाउनु पर्नेछ’ घर्तीले भने, ‘आठदेखि दश जनाको टिम बनाएर आएपछि मूल्यांकनको आधारमा अनुदान लगानी गरिन्छ ।’ यहाँको धेरै भूगोल घाँसे मैदन र चरन क्षेत्रको रुपमा छ ।
आलु जोनबाहेक लसुन र किवीको पकेट बनाउन पूर्वाधार, उत्पादन र प्रविधिको जोहो गरेको छ । किसान पनि त्यस्ता उत्पादनमा आर्कषित छन् । मुला, साग, भट्टमास र अन्य गेडागुडीको उत्पादनमा पनि ताराखोला अब्बल छ । सिंचाईका लागि पानीको उपलब्धता प्रसस्त छ । केही आयोजना संचालन गरेर खेतबारीमा पानी लैजाने काम गाउँपालिकाले बनाउँदै छ । कृषि ज्ञान केन्द्रमार्फत उक्त केन्द्रको अनुगमन र कार्यान्वयन हुनेछ ।
अहिले यहाँका किसानले आलु र अलैचीको व्यवसायिक उत्पादन गरिरहेका छन् । त्यसबाहेक अदुवा उत्पादनमा पनि लगानी गर्ने तयारी गरिएको हो । ‘काम गरिरहेका किसानलाई समूहमा आबद्ध बनाउने, गर्न चाहेर पूंजि नपाएकालाई अनुदान दिन्छौं’ घर्तीले भने, ‘बजारीकरण र नियमित ढुवानीको काम सामुहिक रुपमा संचालन गरिन्छ ।’ हरेक दिन किसानले उत्पादन संकलन गरेपछि बजार पठाउन सवारी साधनको व्यवस्थापनमा गाउँपालिकाले साथ दिने उनले बताए ।
परम्परागत पेशामा मात्र रहेकालाई कृषिको व्यवसायिकीकरणमा लगाउने योजना यो अनुदानले पुरा गर्ने वडा नं. १ का अध्यक्ष यामबहादुर श्रीषले बताए । वडा नं. १ मा अलैचीको व्यवसायिक उत्पादन भैरहेको छ । त्यसबाहेक मुला, आलु र प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने धेरै किसान छन् । सानो आकारका प्लाष्टिक घरलाई बढाएर हाइटेक प्रविधिमा लैजान पहल भएको श्रीषले बताए ।
गाउँपालिकामा ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम पनि संचालनमा छ । यो कार्यक्रमले बिपन्न परिवारमा पशुपालन र कृषि उत्पादनका लागि लगानी गरिएको छ । गत आर्थिक वर्ष यो कार्यक्रमबाट ८ घरमा आयआर्जन र रोजगारीको सिर्जना भएको उनले बताए । कार्यक्रमका लागि दुइजना सहजकर्ता समेत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->