
बागलुङ, ३० माघ– राष्ट्रिय राजमार्गमा सूचिकृत भएपनि ढोरपाटन जाने सडक भुजीखोलाको किनारै किनार कामचलाउ मात्रै छ । पहिरोले क्षतबिक्षत भएको बुर्तिवाङ ढोरपाटन सडकको अधिकांस खण्ड खोलाको बगरबाटै ट्रयाक खुलाइएको हो ।
खोलाको बगरमा ट्रयाक खोलिएकोले अप्ठ्यारो गरी जिप र ट्रयाक्टर गुडेका छन् । गत भदौ १७ गतेको बिनासकारी बाढी र पहिरोले १ सय २६ घरको बस्तीसंगै झण्डै १० किमी खण्ड सडक बगेको थियो । ढोरपाटन नगरपालिकाले सडकको अस्थायी ट्रयाक खोलेपछि थप स्तरीय बनाउने काम अझै सुरु भएको छैन ।
ढोरपाटन जाने पर्यटकले खोलाको बगरैबगर कष्टकर यात्रा गरिरहेका छन् । सडकको बिजोग अबस्था कहिले सहज हुने भनेर उपभोक्ताले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।
‘हिउँद भएकोले अप्ठ्यारो भएपनि गएर आयौ, तर बर्षात्मा फेरी बिपत्ती आउनेजस्तो देखिन्छ’ बागलुङ नगरपालिका वडा नं. ९ का चण्डीप्रसाद शर्माले भने, ‘सडक बनाउने कामै भएकै छैन ।’
गत भदौको पहिरोपछि तत्काल सामान ढुवानी गर्न नगरपालिकाले खुलाएको खोलाबगरको बाटोमा अहिले पनि जर्बजस्ती सवारी गुडेको उनले बताए ।
भुजीखोलामा बर्षात्को पानीको सतह बढ्नासाथ अहिले खुलाइएको सडकको ट्रयाक बगाउने वडा नं. ९ का अध्यक्ष हरिबहादुर घर्तीमगरले बताए । ‘सडकलाई मापदण्ड अनुसारको बनाइएकै छैन, कामचलाउमा सवारी गुडिरहेका छन्’ घर्तीमगरले भने, ‘समयमा सडक बनाइएन भने बर्षात्मा अर्को दुर्घटना हुने खतरा पनि छ ।’
एक दशकअघि सरकारले ढोरपाटन सालझण्डी सडक आयोजना सुरु गरेको हो । तर आयोजनाले कहिले पनि ढोरपाटन क्षेत्रमा लगानी गरेको छैन । यो सडक सहज बन्दा तराईबाट छोटो दुरीमा ढोरपाटन पुग्न सकिन्छ । ‘ढोरपाटनकै लागि सडकको नाम र रेखांकन भयो, तर अहिलेसम्म ढोरपाटन लक्षित बजेट लगानी भएकै छैन’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, ‘म कराउँदा कराउँदा हैरान भैसकेको छु, तर आयोजनाका साथीहरु काम गर्न तयारै छैनन् ।’
सालझण्डी, अर्घाखाँची र गुल्मीसम्म आइपुग्दा हरेक बर्षको बजेट सकिएको भन्दै फर्केको उनले टिप्पणी गरे । गत भदौको बाढी पनि पनि आयोजनालाई ढोरपाटन लक्षित काम गर्न लगाएको उनले बताए । तत्काल ट्रयाक खोल्न लागेपछि नगरपालिकालाई सघाउन दुइवटा डोजर पठाएपछि फेरी काम सुस्ताएको समेत नेपालीले बताए ।
यो सडक खण्डको बोबाङदेखि फलेघर र देउरालीमा बढी जोखिमको सडक छ । यो सडकबाट ढोरपाटनका झण्डै एक हजार घरका बासिन्दाले यात्रा गर्छन् । रुकुमतर्फ जाने, पर्यटक समेत गर्दा दैनिक सयौंले सास्ती खेपिरहेका हुन् । नेपाली सेनाको व्यारेक र तिब्बती शरणार्थी शिविरका लागि पनि दैनिक उपभोग्य बस्तु यहींबाट ढुवानी गर्नुपर्छ । सडकको कमजोर अबस्थाले फेरी जोखिम निम्त्याउने खतरा देखिएको घर्तीमगरले गुनासो गरे ।





