बागलुङ, ३० माघ– बागलुङको जैमिनी नगरपालिकाका अधिकांश गाउँहरु ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महंगी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवाहरु माध्यमिक तहको पढाई सकेपछि बैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् ।
युवाहरु विदेसिँदा यहाँको खेतीयोग्य जमिन बाँझो छ । ठुला फाँटहरुमा सिरु फुल्न थालेको छ । नगरका दशवटै वडाबाट विदेश पलायनको अवस्था जानकारी पाएको नगरपालिकाले बाँझो जमिनको उपयोग र युवाहरुलाई स्वरोजगार बनाउन कृषि र पशुपालनमा नयाँ अभ्यास सुरु गरेको छ ।
नगरपालिकाले विदेश जाने क्रम रोकेर गाउँमै रोजगारी सिर्जना गर्न कृषि तथा पशुपालन परियोजना सुरु गरेको हो । ‘नगरप्रमुख कृषि परियोजना’ र नगरप्रमुख पशु विकास परियोजना’ सञ्चालनमा आएको छ । परियोजनाअन्र्तगत चालु आर्थिक वर्षमा तीन सामूहिक गाई फार्म र पाँच सामूहिक खेती समुह तयार गरिने छ ।
‘किसानहरुलाई सामूहिक उत्पादनमा प्रेरित गर्ने योजना हुन्, जसका कारण रोजगारी र उत्पादन दुवै सिर्जना हुन्छ’ पशुशाखा प्रमुख कृष्ण प्रसाद ढकालले भने ‘नगरले बनाएको मापदण्ड पुरा गर्ने समुह तथा सहकारीले अनुदान पाउँछन् ।’
तीनवटा सामूहिक पशुपालन फार्मका लागि नगरले ५४ लाख बजेट विनियोजन गरेको छ । पचास रोपनी जमिन, पच्चिस जनाको समुह र पच्चिस वटा गाई खरिद गरेपछि समुहलाई नगरपालिकाले १८ लाख रुपैयाँ अनुदान दिने कार्यविधि छ । समुहले ३० लाखको परियोजना बनाउनुपर्छ । १२ लाख रुपैयाँ लगानी समुह आफ्नै हुनुपर्ने व्यवस्था छ । जसका लागि फर्म दर्ता भएको हुनुपर्छ भने दश वर्षको जग्गा समझौता र मुनाफामुखी उत्पादन पक्का गरिएको कार्ययोजना नगरपालिकाले मागेको छ ।
‘अधिकतम किसानको सहभागिता होस् भन्ने हाम्रो मान्यता हो’ नगरप्रमुख इन्द्रराज पौडेल भन्छन् ‘सामूहिक रुपमा कृषि र पशुपालन गर्नेहरुको संख्यामा वृद्धि गर्दै समृद्ध नगरपालिकाको सपना साकार पार्नु छ ।’
शाखाले दुईपटकसम्म किसानहरुबाट प्रस्ताव मागेको छ । दुईवटा समुहले प्रक्रिया पुरा गरेर अनुदान लिने तयारीमा रहेको पशुशाखा प्रमुख ढकालले बताए । अर्को परियोजनाका लागि समुह निर्माण र तालिम तथा गोष्ठीका कामहरु भैरहेका छन् । समुहमा गाई पाल्नेका लागि आवश्यक तालिमको व्यवस्था नगरपालिकाले गर्नेछ । चालु वर्षको योजनालाई निरन्तरता दिँदा जैमिनी अबको दुई वर्षमा दुधमा आत्मनिर्भर बन्छ । अहिले पनि यहाँका किसानले दुध उत्पादन र बिक्री गर्दै आईरहेका छन् ।
रैथाने बालीको व्यवसायीक उत्पादनका लागि नगरले नगरप्रमुख कृषि परियोजना लागु गरेको छ । चालु आर्थिक वर्षमा पाँच वटा समुहले ५० रोपनी जमिनमा सामूहिक खेती गर्ने नगरपालिकाले जनाएको छ । रैथानेबालीको सामूहिक खेती गर्ने किसानका लागि प्रतिसमुह पाँच लाख रुपैयाँ अनुदान नगरपालिकाले दिनेछ ।
न्यूनतम ५ जना व्यक्तिको समूह बनाएर खाद्यान्न बाली लगाउने गरी यो परियोजनामा ५ वटा समुह छनौट हुनेछन् । दुवै परियोजनामा बाँझो जमिन प्रयोग गर्नेलाई प्राथमिकतामा राखेको कृषि शाखाले जनाएको छ ।





