बागलुङ, १ फागुन– जिल्लाको जैमिनी नगरपालिकाले संघसंस्था दर्ता तथा नविकरण सम्बन्धि ऐन ल्याएको छ ।
नगरभित्र सञ्चालनमा रहेका संघ संस्थालाई कानुनी दायरामा ल्याउने तथा नयाँ सञ्चालनमा आउन चाहनेहरुको सहजताका लागि नगरपालिकाले कानुन बनाएको हो । शुक्रबार आठौं नगरसभाको पहिलो बैठकबाट २ वटा ऐन, १ वटा निर्देशिका र एउटा निर्देशिकाको संशोधन पारित भएको छ ।
नगरमा वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिका स्रोतको संरक्षणका लागि ऐन निर्माण भएको छ । नगरसभाले ‘वातावरण, विपत् तथा प्राकृतीक स्रोत संरक्षण गर्न बनेको बिधेयक २०७७’ लाई सर्वसम्मतले पारित गरेको हो ।
त्यस्तै, संघसंस्था दर्ता तथा नविकरणको व्यवस्थापन गर्न बनेको विधेयक २०७७, आर्थिक लेखा परीक्षण निर्देशिका २०७७ र घ बर्गको निर्माण व्यवसायी इजाजतपत्र जारी गर्न बनेको निर्देशिका २०७७ को संशोधन सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाले बताए ।
संशोधन प्रस्ताव नगर उपप्रमुख लिला राना र अन्य तीन प्रस्ताव बिद्यायन समितिका सभापति प्रेम सापकोटाले प्रस्तुत गरेका थिए । नगरसभाको अर्को बैठक फागुनको १५ भित्रै बस्नेगरी सकिएको छ ।
नगरसभामा कोईरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले नगर आर्थिक र सामाजिक विकासको गतिमा रहेको बताए ।





