पोखरा, १ फागुन– कक्षा ११ को परीक्षा दिन भन्दै छात्रालाई होटेलमा लगेर बलात्कार प्रयास गरेको आरोप लागेका पोखराका शिक्षक शिरीषकुमार बस्ताकोटी पुर्पक्षको लागि जेल चलान भएका छन् । पोखराको टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका ती शिक्षकलाई जिल्ला अदालत कास्कीको आदेशमा गत बिहीबार जेल चलान गरिएको अदालतका सूचना अधिकारी नील पनेरूले जानकारी दिए ।
शिक्षक बस्ताकोटीले गत मङ्सिर १२ गते एक छात्रालाई ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिलाउन भन्दै मोटरसाइकलमा राखेर रुपाताल किना स्थित एक होटेलमा पुर्याएका थिए । मौका परीक्षा विद्यालयमै लिनुपर्ने नियम भएको भएपनि ती शिक्षकले कानुन विपरीत होटेलमा लगेर परीक्षा लिएको पाइएको थियो ।
छात्रालाई होटेलमा लगेपछि कोठामा राखेर बियर र मासु खाँदै जबरजस्ती यौन सम्बन्ध राख्न खोजेको आरोप समेत उनीमाथि लागेको छ । दुई महिनापछि घटना बाहिरिएपछि आरोपित शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उक्त मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटीलाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश दिएको हो ।
यस विषयमा कास्की प्रहरीले शिक्षक बस्ताकोटी सहित विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी र अर्का शिक्षक घनश्याम रेग्मीलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले तथा प्रधानाध्यापक तिवारी र पीडित छात्रासँग प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले धरौटी मागिएकोमा बस्ताकोटी बाहेक अरू सबै जना धरौटीमा रिहा भएका छन् ।





