बागलुङ, ३ फागुन–भूमी सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको सोमबार पदस्थापना भएको छ ।
जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरेर आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको पदस्थापन गरिएको हो । समितिका अध्यक्ष कृष्णप्रसाद पाठक, सदस्य दिवश खत्री, बिज्ञसदस्य रुद्रप्रसाद पौडेल र सदस्यसचिव जिल्ला समन्वय अधिकारी राजुप्रसाद पौडेलले पदभार ग्रहण गरेका हुन् । मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख र बन डिभिजन कार्यालयका प्रमुख पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
समितिका पदाधिकारीहरुलाई पदभार ग्रहण गराउँदै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले भूमीहिनहरुलाई भूमी उपलव्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधानको काम गर्न चुनौतीपूर्ण भएको बताए । लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न आयोगका पदाधिकारीहरु सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिए । उनले बिचौलियाहरुको चलखेल हुनसक्ने भन्दै वास्तविक भूमीहिनहरुको पहिचान मुख्य चुनौती भएको बताए ।
पदस्थापन कार्यक्रममा समितिका अध्यक्ष पाठकले अर्को पटक आयोग गठन गर्न नपर्नेगरी भूमी सम्बन्धि समस्याको समाधान गर्ने बताए । निजामती कर्मचारीले सरह तलव भत्ता पाउनेगरी नियुक्त भएका आयोगका सदस्यहरुले कर्मचारीले जस्तै काम गर्नुपर्ने भन्दै पाठकले कुनैपनि प्रलोभनमा नपर्ने प्रतिबद्धता जनाए । उनले कर्मचारीको नियुक्ती तथा समितिकालागि कानुनी व्यवस्था भए अनुसारको व्यवस्थापनमा व्यक्तिगत हस्ताक्षेप नगर्ने प्रतिबद्धता समेत जनाए । जिल्ला समन्वय समितिका शाखा अधिकृत खिमबहादुर बिकले कार्यक्रम सञ्चालन गरेका थिए ।






