पोखरा, ४ फागुन– नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्चले सदर गरे नेपालमा लोकतन्त्रको अन्त्य हुने बताएका छन् ।
कांग्रेस कास्कीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सिंहले कम्युनिष्टको ज्यादतीले आमजनाताले दुःख मात्र पाइरहेको बताए । उनले पुस ५ गतेको संसद विघटनका कारण कांग्रेस सडकमा आउन बाध्य भएको बताए । प्रतिनिधिसभा पुनर्वहाली नहुँदा देशलाई निकै खतरा रहेकाले कांग्रेस पुनर्वहालीकै लागि आन्दोलनमा उत्रिएको वताउदै भने, ‘संसद् पुर्नवहाली नभए देश लामो समयसम्म अन्धकारको सुरुङ्गमा जाने निश्चित छ ।’
दुई तिहाइको सरकार बनाउँदा समेत विघटन गर्ने सरकारले फेरी दुई तिहाइको माग गर्नु हास्यास्पद हो । ‘कम्युनिष्टहरुले देश चलाउन सक्दैनन् भनेर विश्वले नै देखाइरहेको छ । नेपालकाले कसरी चलाउन सक्छन ? जनतालाई भ्रममा पारी मत लिए जस्तो देश चलाउनु हो ?’ प्रधानमन्त्री ओलीले तानाशाही मच्याएको आरोप लगाए । कम्युनिष्टको चरित्र कस्तो किसिमको भन्ने कुरा कम्युनिष्ट नेताले नै बोलेका छन् । ‘कम्युनिष्टमा नै भागबन्डा तलमाथि हुदाँ तल्लो स्तरबाटै आफ्नो चरित्र स्पष्ट देखाएका छन्’ ओलीले चुनाव गराउनको लागि चुनावको मिति घोषणा नगरेको उनको आरोप छ ।
‘ओली सच्चा लोकतान्त्रिक र राष्ट्रभक्त नेता भएकोभए प्रतिनिधि सभाबाटै विश्वासको मत लिने थिए । चुनाव नगराउनकै लागि चुनावको घोषणा गरे ।’ तानाशाही प्रवृत्तिले देशको राजनैतिक अस्थिरतालाई जतिसक्यो त्यति लम्ब्याउँदै आमजनतालाई प्रलोभनमा फसाउने जालझेल हुने उनले बताए । विघटनको मुद्धा सर्वोच्चमा रहेकाले सर्वोच्चले देशको संविधानमा बसेर निर्णय गर्नेमा आफुहरु निर्धक्क रहेको बताए । ‘पहिले पनि विघटन हुदाँ सेटिङको कुरा आएको थियो । अहिले पनि सेटिङकै कुरा आएको छ । तर सम्मानीय न्यायमुर्तीहरुले अब पनि संविधानको मर्म अनुसार नै निर्णय लिनुहुनेछ ।’ अन्यलाई कानुन लागेपनि ओलीले भने कानुन माथि टेकेर संविधानको उल्लङघन गरेको उनले बताए ।
पोखरा महानगरपालिका लेखनाथ–२६ कालिका चोकमा भएको विरोध प्रदर्शनमा पुर्व कानुनमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
नेविसंघद्धारा कांग्रेसकै विरोध
कास्की कांग्रेसमा तानाशाही पद्धतीको हावी भएको भन्दै कम्युनिष्ट विरुद्ध सडकमा उत्रिएको कांग्रेसलाई आफ्नै भातृ संगठन नेवि संघले विरोध गरेको छ । कम्युनिष्ट विरुद्ध उत्रिएको कांग्रेसमाथि नै नेविसंघले तानाशाही कांग्रेस मुर्दावाद भन्दै नारा लगाएका थिए । नेविसंघले विरोधसभामा समर्थन नरहेको जनाएको छ । सोमबार भएको विरोधसभामा सहभागी नेवि संघमाथि सिन्डिकेट गर्दै कास्की कांग्रेसले तानाशाही प्रवृत्ति देखाएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य भानु ढकालले आरोप लगाए । ‘कम्युनिष्ट विरुद्ध आन्दोलनमा जानु अघि कांग्रेस भित्रकै तानाशाही प्रवृत्ति हटाउन आवश्यक छ ।’ विद्यार्थी आन्दोलन विना परिवर्तनको सम्भावना नरहेको बताउँदै ढकालले नेविसंघलाई कांग्रेसले अपमान गरेको आरोप लगाए । ‘एक घण्टासम्म आषण ग्रहण गराइयो तर नेविसंघ भन्ने शब्द एक पटक समेत लिइएन । यो नेविसंघ माथिको अपमान हो’ उनले भने । कांग्रेसको अधिवेशन समेत नजिकिदैँ गर्दा विरोध सभा संचालकले अनौठो किसिमले सबैलाई आसन ग्रहण गराउँदा नेविसंघलाई भने छुटाएको थियो । नेविसंघले विरोध गरेपश्चातमात्र संचालकले सम्बोधन गर्दा विद्यार्थी नेताहरुले विरोध गरेका थिए ।





