पोखरा, ६ फागुन– इन्द्रेणी थियटर र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीले ‘क्यानभासमा बाल मनोविज्ञान’ शीषर्कमा चित्रकला प्रतियोगिता गर्ने घोषणा गरेका छन् । प्रतियोगितामा समावेश गरिने सबै तस्वीरहरु अनलाइनबाट लिइने आयोजकले जनाएका छन् । दुई चरणमा गरिने प्रतियोगिताको लागि चित्रहरु बुधबारबाटै www.indrenitheater.com.np मा पठाउन सकिने इन्द्रेणी थियटरका अध्यक्ष केदारनाथ पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार विद्यार्थीले आंफूले बनाएको चित्रकलासहित आफ्नो नामथर, ठेगाना, जन्ममिति, सम्पर्क नंबर, इमेल, अध्ययनरत विद्यालयको नाम र ठेगाना, कक्षा, रोल नम्बर, विद्यार्थी परिचयपत्रको दुवै तर्फको फोटो र प्रतियोगी चित्रको फोटो खिचेर वा स्क्यान गरेर फागुन २५ गतेसम्म पठाउनु पर्नेछ । पठाएका चित्रहरुमध्ये १० उत्कृष्ट १० छनौटसँगै उनीहरुलाई पोखरामा नै बोलाएर एकैठाउँमा राखेर चित्र कोर्न लगाइने छ । उनीहरुको यातायात, खानाखाजा लगायतका सम्पूर्ण खर्चहरू आयोजकले नै व्यहोर्ने पनि उनले जानकारी दिए ।
गण्डकी प्रदेशभित्रका ८ देखि १२ कक्षासम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगितामा पहिलो चरमा बालअधिकारः समाज निर्माणको आधार र दोस्रो चरणमा वातावरणः जीवनको आधारशीला शीर्षक दिइएको अर्को आयोजक संस्था लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका अध्यक्ष सुनिलकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्रमशः ९,६,३ र १ हजार नगदसहित पुरस्कृत गरिनेछ ।





