पोखरा, ८ फागुन- यसवर्ष गण्डकी प्रदेशमा राज्य पक्षबाट ९२ र गैरराज्य पक्षबाट ३८५ गरी ४७७ जना मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । राज्य पक्षबाट ६ महिला र ८६ पुरुष गरी ९२ जना तथा गैरराज्य पक्षबाट ३५३ महिला र ३२ पुरुष गरी ३८५ जना पिडित भएका हुन ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलका अनुसार गएको वर्ष राज्य पक्षबाट १५ महिला र २०५ पुरुष र गैरराज्य पक्षबाट ४१२ महिला तथा ६२ पुरुष गरी ४७४ जना पीडित भएको अभिलेख गरिएको थियो । गएको वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाटभएका घटनामा ११३ जनाको कमी भएको छ । गैरराज्य पक्षबाट भएका घटनामा ८५ जनाले कमि आएको खकुरेलले जानकारी दिए । उनका अनुसार यसवर्ष वालअधिकार घटनामा ११५ जना बालिका तथा ६ बालक गरी १२१ जना वालवालिका पीडित भएका छन् । उनीहरुमा बलात्कारबाट ७४ बालिका पीडित भएका छन् । यौन दुव्र्यवहार घटनामा ३४ वालिका र ४ बालक रहेका छन् । यस पटक बालअधिकारका घटनामा ३१ बालबालिका बढी पीडित भएका छन् । गण्डकीमा सबैभन्दा बढी कास्कीमा २० बालिका र ३ बालक गरी २३ जना पिडित भएका छन् भने मुस्ताङ जिल्लामा सबैभन्दा कम २ जना बालिका वलात्कार घटनाबाट पिडित भएका छन् ।मानवअधिकारअन्तर्गत २२५ जना पिडित भएका र सबैभन्दा बढी घरेलु हिंसाबाट १६२ जना पिडित भएको अभिलेखन भएको छ । महिला अधिकार उल्लंघनका घटनामा ३१० जना पीडित भएकोमा यो संख्या गएको वर्षको तुलनामा ८५ ले कमि भएकोले यो वर्ष महिला अधिकारको अवस्थामा केही सुधार भएको देखिएको छ । इन्सेक गण्डकी प्रदेशले ‘मानवअधिकार वर्ष पुस्तक २०२१’ शुक्रबार पोखरामा सार्वजनिक गर्ने क्रममा यो जानकारी दिइएको हो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमिरेले पुस्तक सार्वजनिक गरेका हुन ।
सन् १९९२ देखि नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा सन् २०२१ सम्म आउदा २९औं संस्करण पूरा गरेको इन्सेकले बताएको छ ।प्रमुख अतिथि मुख्य न्यायाधिवक्ता डाक्टर घिमिरेले नेपालमा द्वन्दकालीन समयको भन्दा अहिले मानवअधिकारको क्षेत्रमा धेरै सुधार भएको बताए ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले विगतका वर्षहरुको तुलनामा मानवअधिकारको अवस्थामा सुधार आएको बताए । तरे अपेक्षा गरे अनुसार नागरिक तथा राजनीतिक अधिकारमा सुधार आएको देखिए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा सुधार हुन नसकेको उनले बताए ।





