बागलुङ, ८ फागुन– अधिकार प्रयोग गर्दा आफ्नो कर्तव्य पनि पुरा गर्नुपर्ने प्रजातन्त्र दिवश कार्यक्रमका सहभागिले बताएका छन् ।
प्रजातन्त्र दिवशको अबसरमा बागलुङ उद्योग बाणिज्य संघ र बागलुङ चेम्बर अफ कमर्सले शुक्रबार मानव सेवा आश्रममा फलफूल बितरण तथा प्रजातन्त्रको महत्व बिषयक प्रवचन कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कर्तव्य पुरा गरेपछि मात्रै अधिकारको खोजी गरियो भने प्रजातन्त्र सफल हुने बताए । उनले नाना, खाना र छाना मानवअधिकार समेत भएकोले प्रजातन्त्रले दिन खोजेको न्युनतम अधिकारकालागि सबैको समान चासो हुनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले प्रजातन्त्र आएको कारण जनताले बोल्न पाएको भन्दै फेरी निरंकुशता मार्फत बोल्ने अधिकार कटौती गर्न खोजिएको टिप्पणी गरे । उनले जनताको अधिकार स्थापित गर्दा कमजोर बन्छु भन्नेहरुले प्रजातन्त्र धरापमा पारिरहेको बताए ।
संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, बागलुङ च्याम्बर अफ कमर्सका सचिव तेजबहादुर कुँवर सन्तोषको संचालनमा सम्पन्न कार्यक्रममा अधिवक्ता राम शर्मा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष राजेन्द्र आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रममा मानव सेवा आश्रममा रहेका असहायकालागि फलफूल बितरण गरिएको थियो । कार्यक्रमका सहभागिलाई आश्रम संचालक सुमिरा लामाले स्वागत गरेकी थिइन् ।





