मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

खेल, कला र संस्कृतिको बिकासमा महोत्सव

खेल, कला र संस्कृतिको बिकासमा महोत्सव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

बागलुङ, ९ फागुन– गाउँ तहमा खेलकुँदको कुनै स्थान थिएन । युवा र बालबालिकाले सडकमै भलिबल खेल्थे । गीत संगीत तथा मौलिक संस्कृतिहरु प्रद्र्धशन गर्ने गाउँलेले कुनै मौका पनि पाएका थिएनन् । सदरमुकाम नजिकै भएर पनि बागलुङ नगरपालिका वडा नं. ४ को कुँडुले बासिले बजारको रौनक नपाएपछि गाउँमै पर्यटक भित्राउने योजना बनाए ।
योजना अनुसार सदरमुकामको बाँङगेचउर खेल मैदानको बिकल्प बनाउने, बिभिन्न खेलकुँदका गतिविधि संचालन गर्ने र लुकेका कला तथा संस्कृतिलाई उजागर गर्न महोत्सव आयोजना गरेका छन् । प्रथम कुँडुले महोत्सव नाम दिइएको यो मेलाबाट स्थानीयले पहिलोपटक सयौं आन्तरिक पर्यटक गाउँमा भित्राएका छन् ।
अधेरीखोलाको नाउँले चिनिएको स्थानमा स्थानीयको अगुवाईमा ठूलो खेल मैदान निर्माणाधिन छ । उक्त निर्माणाधिन मैदानमा महोत्सव आयोजना गरिएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, रत्यौली गीत प्रतियोगिता, खुला भलिबल प्रतियोगिता जस्ता क्रियाकलाप संचालनमा छन् । साथै झण्डै ५० लाख खर्चेर निर्माणाधिन मैदानलाई पूर्णता दिने लक्ष समेत राखिएको तिरुपति बालाजी युवा क्लबका अध्यक्ष गणेश आचार्यले बताए । खेल मैदानका लागि अहिलेसम्म गण्डकी प्रदेश सरकारको ४ लाख र वडाबाट विभिन्न शिर्षकको समेत ४ लाख रुपैयाँ लगानी भएको छ । त्यस्तै तारजालीकालागि ७ लाख रुपैयाँ खर्च भैसकेको हो । अधेरीखोला व्यवस्थापन गरेर ठूलो नालीमार्फत पानी तर्काउने काम भएको समेत उनले बताए ।
गाउँमा पहिलोपटक युवाहरु जागेर काम थालिएकोले नगर तथा अन्य सरोकार क्षेत्रबाट लगानी भित्राउने काममा साथ दिएको वडा अध्यक्ष ध्रुवबहादुर केसीले जानवकारी दिए । तिरुपति चोकदेखि उक्त स्थानसम्म सडक संजालले जोड्ने काम यसअघि नगरपालिकाले गरिसकेको थियो । यहाँ हाल ६ रोपनी ३ आना जमिनमा खेल मैदान बनेको छ । मैदानले ८ रोपनी जग्गा ओगटेपनि केही खण्ड व्यक्तिको छ । प्रकृयागत रुपमा खरिद गरेर उक्त जग्गापनि भित्राउने योजना बनाइएको महोत्सव आर्थिक समितिका संयोजक कृष्णप्रसाद आचार्यले बताए । अहिले सम्म मैदान बनाउनकालािग भने २४ लाख खर्च भैसकेको उनले बताए ।
महोत्सवमा उपस्थित र देश बाहिर भएका युवाले पनि मैदानलाई पूर्णता दिन र गाउँको रौनक बढाउने योजना सफल पार्न सहयोग पनि गरिरहेका छन् । महोत्सवलाई सफल बनाएर हरेक बर्ष खेल गतिविधि संचालन गर्ने, प्रतियोगिताकालागि उचित पुरस्कारको व्यवस्थापन गर्ने लक्ष राखिएको छ । महोत्सवकै असरमा यहाँ १५ टिम रत्यौली गीतका समूहले प्रस्तुती देखाएका छन्भने २२ टिमले भलिबलको प्रतिष्पर्धा गर्दैछन् ।
महोत्सवको अबसर पारेर स्थानीयले कलस यात्रा, भजन प्रतियोगिता, सांगितीक कार्यक्रम समेत गरेका छन् । महोत्सव आयोजना स्थल पुग्ने सडक स्तरीय बनाउन दोहोरो नाली निर्माण र ढलान गर्ने समेतको योजना स्थानीयले बनाएका छन् । त्यसका लागि वडा तथा नगरपालिकाको बजेट समेत परिचालन हुनेछ ।
मेलामा स्थानीय सहकारी संस्था, रेडक्रस लगायतले स्टल राखेर सचेतना र स्वास्थ्य शिक्षाका कार्यक्रमहरु पनि संचालन गरेका छन् । ‘एक बर्ष अघिदेखि कोरोना र लकडाउनले घर बाहिर ननिस्केका बासिन्दाले गाउँमै रमाउने अबसर पनि पाएका छन्’ क्लबकी सहसचिव सोबिता केसीले भनिन्, ‘महोत्सवले व्यवसायलाईपनि साथ दिएको छ ।’ कृषिको पकेट क्षेत्रको रुपमा चिनिएको कुडुलेबासीले दैनिक तरकारी बेच्ने गर्छन् । डोकोमा बोकेर बजार झर्नेको गाउँबाटपनि बिक्रीको संभावना बढेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->