दुर्गम गाउँ जहाँ हिउँदको समयमा मात्रै एकतर्फी गाडीहरु प्रशस्त चल्छन् । जब बर्खा लाग्छ बाढी पहिरो अनि यस्तै यावत् समस्याहरु झेल्दै विकासको गति पर्खीरहेको गाउँको निम्नवर्गिय परिवारमा जन्मिएको म, बाबा आमाले जेनतेन कृषि कर्मबाटै पसिना बगाएर ४ सयका खेताला कमाई पाथीको एक सय रुपैयाँमा अन्न बेची आधापेट खाएर पढाउनु भयो । पुरानो समयको महान् सफलता मानिने डिग्रीसम्मको पढाईपछि सरकारको तारिफदारी गर्दागर्दै निजी विद्यालयमा ठोकिन पुगेको मेरो जीवनले केही सजिलो गरि श्वास फेर्ने मौका पाएको थियो । बाबाले हरेक पटकको फोनमा सोध्ने गरेको प्रश्नको जवाफ मिलेको थियो ।
बाबू जागिर पाइस ? अँ पाए । तर त्यो सौभाग्य मेरा लागि धेरै दिन बचेन बाबा मेरो स्कुल बन्द भयो भन्नुनै पर्ने भयो । सुरु सुरुमा त शैक्षिकसत्र सकियो भनेर चित्त बुझाए तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कारण विश्व नै आक्रान्त बनेको थियो । हामी र हाम्रो देश पनि अछुतो रहन सकेन । अन्ततः ०७६ चैत्र ११ गतेबाट सरकारले देशव्यापी लकडाउन गर्यो । एकातर्फ लाखौ रुपैयाँ खर्च गरेर पढेको छोराले राज्यबाट संचालित नभएर प्राइभेट बोर्डिङमा पढाउन थालेको थियो । त्रैमासिक अवधिमा प्राप्त हुने जुन तलबले सहरमा बसी आफ्ना पारिवारीक समस्या सुझाएर सुकिलो कपडा लगाई उज्यालो अनुहार बनाएर फूर्ती साथ हिड्ने सामथ्र्य राख्दैनथ्यो । अर्कोतर्फ गाउँको झुप्रोमा छोराको अनुहार पर्खिएर रमिते बनेका बा–आमाका निर्दोष आँखाहरु थिए । पढाईकै सिलसिलामा लाखौ रुपैयाँ खर्चेका बा–आमाका अगाडि खाली हात लिएर म कसरी घर पुग्न सक्थे र ?
यस्तै विवशतामा परेर चैत ५ गते नै स्कुल बन्द भएपनि घरसम्म जाने निर्णय लिन सकेको थिइन् । दुइचार दिन यतै बस्छु सानोतिनो काम पाए स्कुल नखुलुन्जेल गरुला नत्र घर जानुपर्ला भनेर सहरमै बस्ने निर्णय गरे । कोही पनि आफन्तीहरु नभएको यो निस्सार सहरमा के पो हात लाग्थ्यो र ? डिग्री पढेको भनेर मात्रै भएन जमना राम्राका भन्दा पनि हाम्राका रहेछन् । सानो छँदा बाबाले भन्नुहुन्थ्यो कसैले केही गर्दैनन् बाबु ‘दिनको भविष्य बिहानले निक्र्याैल गर्छ’ सबै काममा आफ्नाको बल हुन्छ । सीप सिक आफ्नो गुजारा चल्छ तर मेरो बालमस्तिष्कले त्यो कुरा स्विकार गरेन । पढ्नमै ध्यान गयो । क्याम्पस पढ्दा साथीहरुले सोध्ने गर्थे खाना खाइस्, म के बोलु म भोकै क्याम्पस आएको हुन्थे । सबै कुरा थाहा पाएछन् भनेर निशब्द हुन्थे । सबैले मलाई हेर्दा लाग्थ्यो मेरा अर्धना कपडाले यिनीहरुका आँखा रमिते बनेका होलान् भन्ने तर होइन रहेछ । उनीहरुले त मेरो लगनशिलता र चलाखिपनलाई हेरेका रहेछन् । त्यो थाहा पाएपछि मेरो मन प्रफुल्लित भएको थियो ।
तर अहिले जागिर खाएर कोटपाइन्ट, टाइ र जुत्ता लगाएर हिँड्दा पनि मन प्रफुल्लित हुँदैन । किनकी परिवारको जिम्मेवारी र भविष्यको चिन्ताले होला । यतिकैमा सम्झिए मान्छेले पैसो कमाए भने बाबाआमालाई अर्गेलो बनाउँछ तर बाआमाको मन सन्तानप्रति त्यति कठोर बन्दैन भनेर मन बुझाए । अनि खाली हात भएपनि घर जाने निर्णय गरे । बेलुकीको ८ बज्नै लागेको थियो । टिभी त कल्पनाभन्दा बाहिरको कुरा मोबाइलमा रेडियोसम्म बझ्थ्यो । मधुरो आवाजमा रेडियो बजाए किनकी रेडियोका कारण घरबेटीले भाडाको किचलो नझिकुन भनेर घरबेटीसंग जम्का भेट नभएको धेरै समय भएको थियो । बिहान चुलोको बटन अठ्याउने औकात नभएकाले म झिसमिसे उज्यालोको पर्खाइमा थिए । त्यतिकैमा सरकारको निर्णय भोलीदेखि १८ गतेसम्मलाई लकडाउन भन्ने समाचार आयो मेरो शरीरमा रगतले तिब्ररुप लिन थाल्यो, म आत्तिए । अब कसरी घरसम्म पुग्ने ? यो समचारपछि बोल्दै गरेको समाचार वाचक पत्रकारको पनि आवाज मन्द भयो, सोचे यी पत्रकारको पनि मेरो जस्तै समस्या हुनुपर्छ । यस्तै यस्तै कुरा मनमा खेलाउदै खाली पेटमा हात राखेर गर्भिणी महिलाले झै सुम्सुम्याइ रहेको थिए । ए साची म जस्ता लाखौ शिक्षकहरु छन् यहाँ आफू चिन्तित बनेपनि चिन्तामुक्त विद्यार्थीहरुलाई चिन्तनशिल बनाउन सदावहार चिन्तन गर्ने । केही न केही त गर्लान नि ! यतिका संघ संस्था र मानव अधिकारकर्मीहरु पनि त छन् त्यस्तै शिक्षक संघ, प्याब्सन, एनप्याब्सन अनि हाम्रो लोकतान्त्रिक सरकार पनि त छ मन बुझाउन खोजे तर मन पटक्कै मानेन् । गर्मीले उखुम छुटाएको थियो । तर त्यो उखुम चैतको गर्मीका कारणले भन्दा पनि साँघुरो कोठामा राखिएका पुस्तकरुपी मेरा पाण्डुलिपीहरुलको थियो । ती पाण्डुलिपीहरुले मलाई त शैक्षिक नैतिकताले बाँधेका थिए नै, त्यतिले नपुगेर कोठामा प्रसस्त हावाको स्पर्श गर्ने अवसरबाट पनि बन्चित तुल्याएका थिए । त्यसैमा झन् लकडाउनको हावाले मेरो शरीर नै तताएको थियो । लाखौ पिडाहरुले छट्पट्याएको मेरो मन शान्त भएर आँखालाई निद्राको सौभाग्य दिने पत्तै थिएन । एक निमेषसम्म आँखा झिमिक्क नबनाउदै घरबेटीको लाडप्यारले हुर्केको कुकुर कराउन थाल्यो । घर जाने तरखरमा उज्यालो पर्खिएको म खुशी भए तर बेलुकी घरबेटीले पत्तो नपाउन भनेर बत्तीसमेत नबाली सुतेको म निराधार जीवन लिएर अध्यारोमा रुमलिन पुगे । अब कसरी घर बाहिर जाने ? कसरी गेट खोल्ने ?
फेरि एक पटक आफ्नै भाग्य र मनलाई धिक्कारे । जतिसुकै मनलाई धिक्कारे पनि मेरो गन्तव्य घरसम्म पुग्नु नै थियो । ढिलो भए घरबेटीले भेट्लान भन्ने डर मनभरि थियो । सुस्तरी गेट खोली बाहिर निस्केर धित मर्ने गरि श्वास फेरेर घरतर्फ लागे । करिब ३ घण्टाको हिडाईपछि घर नजिकै पुगेको के थिए मन फेरी गह्रौ भयो, घर पुगेर के भन्ने ? के गर्ने ? यी र यस्तै अन्न्योलताका बिच बाआमालाई ढोग गरेर सरासर शिर जोगिने गरि निहुरी परेर घरभित्र पसेको के थिए । घरभित्रको परिवेशले पुनः एक पटक सहरको कोठाको झल्को आयो । जुन सम्पत्तिको अभावमा मेरो कोठा अस्तव्यस्त थियो । त्यस्तै त्यहाँ पनि अस्तव्यस्त र निश्पट अँध्यारो छाइरहेको थियो । म अवाक भए आमाले सम्हालेर राखिदिएका एक जोर पुराना कपडा फेरेर बाहिर निस्किए । बाबाको छेउमा जाने साहस मलाई कहिल्यै आउँदैनथ्यो । आमाको नजिकै गएर बसे । एक मिनेटमै मेरा आँखाले सबै परिवेश नियाल्न पुगे । घरको भित्ताबाट पानीका धारा लागेका रहेछन् । बाबाले मेरा नजर इंकित गर्दै कति पटक टाले सधै चुहिन्छ । मेरो जीवन त टाल्दाटाल्दै बित्यो अब तैले टाल्नुपर्छ । म सक्दिन बा यो घर सम्हाल्न भन्दै हुनुहुन्थ्यो । म केही बोलिन् ।
मनमनै लाग्यो कत्तिन सम्हाल्नै नसकिने सम्पत्ती भएझै बाबाको यो प्रस्ताव सुनेर म झसङ्ग भए, बुढाले अब सहर नपठाउने भएछन् क्यारे भनेर, तर कथाले अर्कै रुप लियो आज तँ आइस भोलि घर टालेर नचुहिने बनाउनुपर्छ भन्नुभयो । मैले अलिक सहजताको अनुभुति गर्दै समर्थनमा मुन्टो हल्लाए । आमाले खाना पाकेको संकेत गरेसंगै बाबा र म खाना खान भित्र छिर्यौ । दुई तीन दिनदेखिको भोको भएकाले होला गुन्द्रुकको झोल र ढिडो मिठै लाग्यो । दिउँसो खास्सै काम नभएकाले होला थाकेको होलास सुत भन्नुभयो आमाले, केही समय यताउती गरेर बिताए । विदेश गएर अलिअलि पैसा कमाएर आएको भए गाउँलेहरु भेट्न आउथ्ये होलान, म अकिन्चन एउटा बोर्डिङको शिक्षक कोही कसैले घरसम्म हेरेनन् । मनमा सन्तोष नभएपछि को पो गाउँमा भेटघाट गर्न जान्छ र ? मलाइ पनि कहिँकतै जाने इच्छा लागेन घरैमा बसेर दिन बिताए । साँझ पर्यो सबै गाउँमा र पारिपारी बिजुली बत्ती बले मेरी आमाले टुकी मुनिको उज्यालोमा काम गर्दै हुनुहुन्थ्यो । म छेउमा बसेर उज्यालोमा खेलिरहनु भएको आमालाई हेरिरहेको थिए । बाबा रिसाउदै आउनु भो साढीले आज पनि दुध दिएन यस्लाई यो बर्खा राख्दिन भन्दै हुनुहुन्थ्यो । बेलुकीको खानामा दूध र मकैको बन्दोबस्त गर्नुभएको आमा केही बोल्नु भएन । दुध दुहुने ठेकी भुईमा राख्दै बाबाले रिसको झोकमा विगतदेखि वर्तमानसम्मका धेरै दुखकष्ठहरु मझेरीभरि पोख्नुभयो तर मेरो बोल्ने साहस आएन । भैसीले दूध नदिएपछि निश्चित बनेको खाना मोही र मकै खाएर हामी सुत्यौ । छिनभर मै दर्किएको पानीले घरको छाना चुहिएर पानी विस्तारासम्म आइपुग्दा आमाले भए भरका लुगा पोको पारेर म गोठमा जान्छु ओत लाग्न भन्दै हिड्नु भयो । आमाको यो बोलीले फेरि एकपटक मन भत्कियो । यस्तै यस्तै पारिवारिक समस्याहरुले मेरो जीवनमा डेरा जमाइरहेको परिवेशमा कोरोना कहरले म जस्ता लाखौ नेपालीहरुलाई बर्बादीको सूचीमा सुसूचित गरेको थियो । म एक्लो थिइन तर पारिवारिक समस्या र पढाइको खर्चका कारण मेरा दैनन्दिन कार्यहरु जटिल बनिरहेका थिए । पछिल्लो समयमा आएको शासन ब्यवस्था र राज्य प्रणालीले गरिखाने वर्गको उत्थानका नाममा निर्धारण गरेको प्रतिशतका आधारमा कोटा नीतिले म जस्ता लाखौ गरिब बाहुन जातिलाई झनै निरीह अवस्थामा पुर्याएको थियो । मृत्युवरण गर्न बाध्य तुल्याउदै थियो । उता लकडाउनको हप्ता दिन बितिसक्दा सरकारले अवधी थप गर्यो । यता गाउँमा भने राहत सामग्री वितरणको हल्ला चल्यो । गरिबका नाममा आएको दाल चामलले बलियाबाङ्गाहरुको दिमाग तताएको थियो भने गरिखाने वर्गहरुको मुख रसाएको थियो । हामी निरीह बाहुनहरु घरभित्रको अवस्था बिर्सिएर देखावटी हाँसोको भरमा सामाजिक बन्दै थियौ । जल्दबाजीमा सरकारले लिएका निर्णयले सरकार आफै पछि हट्दै थियो । समाचारले कोरोनाको मात्रै लेखाजोखा गरिरहँदा बेला बेलामा आउने कोरोनाका लक्षणहरुको उद्घोषले बाँच्ने आशा मर्दै थियो । प्रारम्भिक चरणमा कोरोनाले रुचाएको जिल्ला भएको हुनाले होला सबै मानिसहरु घरबाट बाहिर निस्किन आनाकानी गरिरहेका थिए तर हाम्रो परिवारलाई खास्सै फरक परेको थिएन । किनकी कोरोनाको अवज्ञा नगरी हातमुख जोर्न गाह्रो थियो । सधै जसो बिहानदेखि साँझसम्म कहिले आफ्नो त कहिले अर्काको खेतमै समय बित्ने गथ्र्याे । केही समयपछि हाम्रो जिल्लाका संक्रमितहरु निको भए भन्ने खबरले केही खुशी मिल्यो तर देशव्यापी संकटले गर्दा हामी सबै तवरबाट विक्षिप्त नै थियौ ।
पारिवारिक रूपमा छाना, माना र नानाको श्रेय बनेको कृषि पेशालाई भन्दा पनि आफ्नो रोजीरोटीको क्षेत्र शिक्षक पेशालाई बनाएको म विद्यालय र विद्यार्थीको गतिविधीभन्दा बाहिर बस्नु पर्दा न्यास्रो लागेको थियो । हुन त आफ्नो हातमुख जोर्न मध्यस्थताको भुमिका खेलिदिएकोमा बोर्डिङलाई पनि धन्यवादका शब्द बोल्नै पर्छ । तर त्यही आदरणीय संस्था बन्दाबन्दीको भुमरीमा पर्दा म पुर्णरुपमा विछिप्त भएको थिए । गरिबका लागि एकपछि अर्को समस्या आइरहदारहेछन् । म भाग्दा भाग्दै आफ्नै जीवनबाट थाकिसकेको थिए । लकडाउनले अस्तव्यस्त बनाएको हामी प्राइभेट विद्यालयका शिक्षकको जीवनलाई आर्थिक संकटले नराम्रोसंग गाँजेको थियो । यतिकैमा कहिलेकाहीँ साथीहरूसंग सम्पर्क हुँदा तलबी कुराहरु हुने गर्थे तर के गर्नु आ–आफ्ना संस्थागत नियम माग्नीले मागेर मात्रै भएन दिनेको पनि बाटो फराकिलो हुनुपर्ने बाध्यता थियो । विद्यार्थीहरुले केही शिक्षा आर्जन गर्थे र पो अभिभावक, विद्यालय र शिक्षकको सम्बन्धले मूर्तता पाएको थियो । जब हाम्रा शिष्यहरुलाई नै यो महामारीले हामीबाट अलग्याएको छ । कसरी बन्छ सुन्दर भविष्य, समाज र भान्सा उज्यालो ? बेला बखतमा यस्तै विषयमा हुने छलफल र विचारहरुले हामी लाखौ शिक्षकलाई सान्त्वना लिदै बाँच्न केही सहजता तुल्याएको थियो । उता भने सरकारले सरकारी तलबको सुचिमा सुचिकृत सरकारी शिक्षकलाई तामझामले चौमासिक तलबले सम्बोधन गरिरहेको थियो । यता आफ्नै सरकारी संयन्त्रभित्र रहेर वार्षिक करको पोको बुझाउने संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीप्रति अनुदार बनेको सरकारप्रति आक्रोशको भावना जागृत हुन्थ्यो ।
कोभिड–१९ र सरकारका गतिविधि समेटिएका प्रस्तुतिहरु रेडियोमा सुन्दासुन्दै महिनौ दिन बिते, कुनै निष्कर्ष निस्किएन । सरकारको जनता बचाउने मुल सहारा लकडाउन बन्दै गएको थियो । तर हामी गरिब जनता घरभित्र निसास्सिएका थियौ । भाइरसका नाममा हप्ता, दसदिन, पन्ध्रदिनका दरले घोषणा गरिएको बन्दाबन्दीले गरिब, निमुखा र पिडित नभनी सबैलाई एउटै भुमरीमा रुमलीरहेको थियो । यस्तै परिस्थितिको सबुत उदाहरण थियो मेरो परिवार जो दिनखान नपुग्ने, राहत समेत माग्न नसुहाउने, नेपाल सरकारको उच्च वर्गको तक्मा पाएको जाति थिए म बाहुन । त्यसैमा डिग्रीको फुली समाजमा तारो बनेको थियो । घरमै बसौ बरा यति पढेर बेरोजगार भन्छ समाजले, काम गर्न जोत्न हिडौ बिचरा त्यति पढेर उहीँ हालत भन्छ समाजले, देशमा रोजगारी छैन । एक दुई ठाउमा दरखास्त नदिएको होइन कहि हाम्राको पहिचान खोजिन्छ त कहि सर्वहारा वर्गको प्रगतिवादी नीति आरक्षण कोटाले बाजी मार्छ । हामी जस्ता निम्नवर्गिय बाहुनको लगनशीलता यो संसदिय प्रणालीमा हराएको महशुस हुन्थ्यो । अन्ततः प्राइभेट बोर्डिङले स्वामित्व ग्रहण गरेको मेरो जीवनलाई महामारीले चौपट बनाएको थियो । समयावधी व्यतीत हुँदै गयो महामारीले निरन्तरता पाएकै थियो । त्यतिकैमा प्रिन्सिपल सरको फोन आयो घण्टी बज्दासाथ केही डर र उत्सुकताका साथ फोन उठाए । सरले विनम्रतापुर्वक सहज भएसम्म विद्यालयमा उपस्थितिको लागि अनुरोध गर्नुभयो । फोनमा कुरा सुनिरहनु भएको आमाले हार्दिकताका साथ विदाइका भावहरु दर्साउनु भयो । भोलिपल्ट बिहानै हिड्नुपर्ने भएकाले विलम्ब नगरी विस्तारामा पल्टिए, महिनौ पुराना बनेका विद्यालयका गतिविधि र विद्यार्थीका अनुहार अनि चन्चले स्वभावहरु मानस्पटलमा नाच्न थाले । म नरमाइरहन सकिन । रोमान्चित बन्दै सुते । रात बितेको पत्तै भएन । बिहान सम्पर्क सम्भब रहेका साथीहरुलाई फोन गरेर स्कुलतर्फ लागे । सरस्वतीको मन्दिर भएर होला स्कुलमा पुग्दा छुट्टै भाव र आनन्द पैदा भएको थियो मेरो मनमा, विद्यालयका भवनहरुले पनि नयाँ शैलीमा उभिएर हाम्रो बाटो हेरिरहेका थिए । साथीहरूमा लकडाउन र कोरोना कहरले नविन रुप प्रदान गरेको थियो । छलफल अगाडि बढ्यो । तत्कालका लागि वार्षिक परिक्षाफल प्रकाशन गर्ने र केहि समयपछि भर्चुअल कक्षा सन्चालन गर्ने भनेर निर्णय भए । सबै साथीहरु घर फर्किने तरखरमा जुटे म भने घर जानू या डेरामा अन्योलमा परे । घर जाउ भने उहीँ उदास मुख लिएर के जानु, डेरामा जानु भने ४÷५ महिनाको भाडाले पर्खिरहेको थियो । जेनतेन मन सम्हालेर हप्ता दशदिनको लागि घर जाने निर्णय लिए । घरको बसाइ सकेर फेरि अनलाइन कक्षा संन्चालनका लागि नयाँ उर्जा र उत्साहका साथ सबै जना विद्यालयमा आइपुगियो । भौगोलिक अवस्थिती र दुर्गम भुभागका कारण देशमा बन्दाबन्दी भएलगत्तै आफ्ना लालाबाला लिएर गाउँ फर्किएका अभिभावकहरुलाई सम्पर्क भएसम्म फोन गरियो तर इन्टरनेटको पहुँचभन्दा टाढा रहेका हामी गाउँले परिवेशका जनताका लागि अनलाइन कक्षा सन्चालन, त्यसको प्रभावकारिता र कार्यान्वयन सरकारले भने जस्तो सजिलो थिएन । यस्तै यस्तै चुनौतीका बाबजुद कक्षा संचालन त भए तर दिनभरिमा २÷४ जना विद्यार्थीका धमिला अनुहार मात्रै देखिन्थे । कमजोर इन्टरनेटका कारण न शिक्षकको आवाज विद्यार्थीले सुन्थ्ये, न विद्यार्थीका उत्सुकता शिक्षकले मेटाउन सकिन्थ्यो । केही समय सरकारको आज्ञा पालना गरियो तर प्रभाकारी सिकाई नभएपछि अन्योलताका बिच हामीहरु दिन बिताइरहेका थियौ । हामी मात्र त के भन्नू यस्तै अनलाइन कक्षाका नाममा लाखौ शिक्षक र विद्यार्थीहरु पिरोलिरहेका थिए । सम्भावना नै नभएको भर्चुअल कक्षा नीतिलाई लिएर सरकारले सामुदायिक विद्यालयमा करोडौं रुपैयाँ लगानी गरेको देख्दा हामी भने मलिन मुख लगाएर हेर्न बाध्य थियौ । समय र परिस्थितिका अगाडि सरकारी संयन्त्र निकै कमजोर देखिदै थियो । ५० प्रतिशत जनता बिजुली बत्ति र इन्टरनेटको पहुँचमा पुगेका छैनन् टेलिभिजनबाट पढाउने कुरा गर्दैछ सरकार भनेर कतिले धिक्कार्दै थिए । तर के गर्नु देख्निले धनी देख्दिएपछि हातमुख जोर्न समेत कठिनाई भएका जनता अब कता जान्छन् ? रेडियो र टेलिभिजन अनि बिजुली र इन्टरनेट खोज्न लाजमर्दो निर्णय थियो सरकारको, उता प्यब्सन, एनप्याब्सन, अभिभावक संघ र शिक्षक संघले आआफ्ना विचार आमसन्चारका माध्यमबाट को भन्दा को कम भनेर देशभर फिजाई रहेका थिए । तर ठोस कदम कहिँकतैबाट अगाडि सारिएको थिएन, यसर्थ पनि शिक्षकहरुका आँखा ओबाना बन्न अझै समय लाग्ने निश्चित थियो ।
शिक्षा मन्त्रालयले दिनहुँ जसो निकाल्ने कार्यढाँचामा पनि बहस नहुने गरेका होइनन् तर काँचो र समाजसापेक्ष नभएको भनेर मुन्टो बाङ्गो पार्ने मनिसहरुको पनि कमी थिएन । बजारमा, यत्तिकैमा शैक्षिकसत्र खेर नफाल्ने, सामाजिक दुरीसहित स्वास्थ मापदण्ड अपनाएर दैनिक तीन घन्टा विद्यालय खोल्ने सरकारको निर्णय बमोजिम देशभरका विद्यालयहरु खुल्ने प्रायः निश्चित भयो । यो निर्णयसंगै शैक्षिक क्षेत्रका गतिविधीहरुले जिवन र विद्यालयहरुले रङ्गिविरङ्गी विद्यार्थीका अनुहारहरु दर्शन गरेर सजिलो श्वास फेर्ने अनुमती पाए । अन्ततः सडक, चौर र गाउँठाउँमा हात गाँसेर एकै ठाउँमा संगै खेल्ने बालबालिकालाई सामाजिक दुरी र मापदण्ड अनुसार निश्चित दुरीमा विद्यार्थीहरुलाई रोकेर शिक्षाको विगुल फुक्न हामी सबै साथीहरु उद्दत बनियो । तर उता सरकारी विद्यालयका शिक्षकहरु भने सरकारी जनप्रतिनिधि र विश्व स्वास्थ्य संगठनको अनुयायी बनिरहेका थिए । कति सजिलो स्वास्थ, सुरक्षा र कानुन सरकारी शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई विमा सरकारले गरिदिने, उपचार उसैको जिम्मामा अनि कोरोना लागेबापत प्राप्त हुने विमाङ्क शुल्क पनि सरकार र विमा कम्पनीले उनैको हातमा थमाइदिने तर हामी निजी विद्यालयका शिक्षक, कर्मचारी शरणार्थी जस्तो विमादेखि उपचारसम्मको यात्रा घरखेतबाट गर्नुपर्ने निरीह कानुन हुनेलाई सबै छ नहुनेलाई केही छैन भन्थे हो रहेछ भन्ने लाग्थ्यो तर के गर्नु नेपालको कानुन दैवले जानुन् भन्थे हो रहेछ । सरकारी संयन्त्र नै कमजोर भएपछि कस्को के नै लाग्छ र ? लोक, जनता, तन्त्र, शासन जनताको शासन भएको सरकार सुझ्बुझको हुनुपर्यो त्यो भएन नेपाल र नेपालीका लागि दुर्भाग्य यहि हो ।





