बागलुङ, १० फागुन– वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङको समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।
वैदेशिक रोजगारीको विषयमा पर्याप्त सुचनाको तथा प्रमाण संकलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो ।
बागलुङका चार स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायिक संस्था बिवाइसीको स्थानीय व्यवस्थापनमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत चार स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवाहरुलाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मिनप्रसाद उपाध्याले जानकारी दिए ।
वैदेशिक रोजगारीले देशमा गरिबी घटाउन ठुलो योगदान गरेको छ । यद्यपी वैदेशिक रोजगारीका फाईदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन् । वैदेशिक रोगजारीका क्रममा ठगीमा पर्ने, झुठो आश्वासन कबुल गरेभन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ ।
वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा संकलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदुतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानुनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ ।
बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम संचालन गरिएको संयोजक उपाध्याको भनाई छ । ‘विदेश जाँदा घरमा कागजात छोड्नु पर्ने विषयमा जानकारी थिएन’ बानपा–६ का देवेन्द्र ‘परियारले भने– ‘सानो सतर्कता अपनाउँदा ने, न्यायिक पहुँचमा जान सकिने जानकारी भयो ।’
वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धी मुलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका १५६ स्थानीय सरकारको नेतृत्वमा संचालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मंसिरदेखि सामी परियोजना संचालनमा रहेको छ ।
परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानुनी सेवा, निःशुल्क सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्थपनाको काम गर्दै आएको विवाईसीका अध्यक्ष मणी शर्माले जानकारी दिए ।





