
बागलुङ, १० माघ– बागलुङको गलकोटका तीन सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् ।
गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगलागी हुँदा करोडौको क्षति भएको पत्रकार थम्मन थापाले जानकारी दिए । भैंसे दान्सिङडाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वनसम्म फैलिएको छ ।
आगलागीको कारण दानसिङडाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायीक वनका सदस्य मान बहादुर भण्डारीले बताए । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरेपनि अहिले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।
सोही आगो छिमेकी वडा नं. ७ को ठुलाचौर सामुदायीक वनमा प्रवेश गरेसँगै उक्त सामुदायीक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन् ।
आगोको कारण दानसिंङ सामुदायीक वनसँगै जोडिएको गगनपानी सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ को झण्डै ५ हेक्टर क्षेत्रफल वनमा क्षति भएको छ । आगो अहिले पनि जंगलमा फैलिरहेको छ । आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानियबासी चिन्तित भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।
साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता सहानी थापाले जानकारी दिए ।





