नेपालमा अहिलेसम्म भएका तथाकथित राजनीतिक परिवर्तनको जरो बुझौं ! सात सालमा कथित प्रजातन्त्र इन्डियन सत्ताका नेहरुले राणाहरुसँग काम गर्न गाह्रो भएपछि आफ्नै आँगनमा जन्माइएको र हुर्काइएको कांग्रेसलाई सरकारमा साझेदारी गराएको घटनाबाहेक अरु केही थिएन ।
त्यसलगत्तै गण्डक र कोशी सम्झौता भयो । इन्डियन मुद्रा र पाठ्यक्रम चलाइयो । इन्डियनहरुलाई खुलेआम जग्गा लिन र बसोबास गर्न छुट दिईयो । त्यति मात्रै हैन, उन्नाइस ठाउँमा इन्डियन सेनाका चेकपोस्ट राख्न कांग्रेस सरकारले अनुमति दियो । यसको लागि सिआइएले नेहरु सरकारलाई दलाई लामाको नेतृत्वमा भैरहेको खम्पा विद्रोहको मुख्य आधार शिविर नेपाल बनाउने र सोबापत इन्डियन चेकपोस्ट नेपालमा स्थापना गर्न अमेरिकाले इन्डियालाई सहयोग र समर्थन गर्ने सहमति भएको थियो, जसलाई प्रजातन्त्रको ‘जननी र मसिहा’ भन्ने कांग्रेस सरकारले ल्याप्चे लगाएको थियो । सरकारमा आरोहण हुन पाएकोमा सो भेटी चढाएको थियो ।
वि. सं. २०१५ फागुनमा इन्डियन सत्ता, अमेरिका र तिनको कठपुतली नेपाली कांग्रेसको सरकारले खम्पा विद्रोहीहरुलाई नेपालका हिमाली जिल्लाहरुमा स्थापित गरे । एक चीन नीतिविरुद्ध लड्दै आएका तिब्बती खम्पाहरुले उत्तरी हिमाली जिल्लाहरु गोर्खा, सोलुखुम्बु, ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोटीलगायतका स्थानमा आफ्नो शिविर स्थापना गरी सैन्य तालिम शुरु गरे । तिनीहरुलाई हतियार, गोलीगट्ठा, बमबारुद आदि सप्लाई गर्न काठमान्डौको स्युचाटारमा एक विमानस्थल समेत बनाएका थिए, जहाँ इन्डियन जहाजहरुले आकाशबाट बोराका बोरा अमेरिकामा बनेका युद्ध सामग्री खसाल्थे र ती सामग्रीहरु खम्पा शिविरहरुमा पु¥याइन्थ्यो ।
सबै स्थिति बुझ्दै गएपछि र नेपालकै सुरक्षामा सबै कोणबाट सुरक्षा थ्रेट बढेपछि अनि इन्डियन सत्ताले नेपाल सिक्किम जस्तो बनाउने खुफिया चाल पाएपछि वि सं २०१७ मा महेन्द्रले संसद र सरकार विघटन गरि खम्पा विद्रोहविरुद्ध नेपाली सेना परिचालन गरेका थिए । सोही क्रममा अठार स्थानबाट इन्डियन चेकपोस्ट हटाइसकेका थिए, उन्नाइसौं चेकपोस्ट हटाउने काममा लाग्दा लाग्दै महेन्द्रको रहस्यमय निधन भयो ।
खम्पा बिद्रोहलाई पुरै निर्मूल गर्ने काम राजा विरेन्द्रले वि सं २०३२ मा गरेपछि सिआए र रअ ब्लकको सत्ता चिढिदैं आएको थियो । सोही क्रममा इन्डियन सत्ताले विरेन्द्रसंग परराष्ट्र र रक्षा मन्त्रालय इन्डियाको जिम्मा दिन गरेको आग्रहलाई लत्याइदिएपछि रुष्ट बनेको इन्डियन सत्ताले नाकाबन्दी लगायो र आफ्ना बफादार सेवकरुपी कांग्रेस र कम्युनिस्ट घटकहरुलाई गणेशमान सिंहको घरमा भेटेर उर्दि जारी ग¥यो– ‘तिम्रो राजाले हामीले भनेको मानेन्, तिमीहरू अब आन्दोलन गर, के चाहिन्छ हामी दिन्छौ !’
मालिकको आदेशको तामेली गर्दै २०४६ को घटना भयो जसलाई ‘प्रजातन्त्रको पुर्नबहाली’ र बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थाको सर्वोत्कृष्ट संविधान बनेको कुराको गोयबल्स शैलीमा प्रचार गरि अर्कोपटक आम नेपालीलाई मूर्ख बनाइयो । सरकार र सत्ताको गद्दीमा चढाइदिएबापत इन्डियन दलाल सत्ताले पहिलो प्रहार मित्र राष्ट्रहरुको सहयोगमा बनेका ठुला उद्योग कलकारखानाहरुलाई प्रहार गर्न शुरु गरे । अमेरिकी नवउदारवाद र आर्थिक उदारीकरण अनि भुमन्डलीकरणको विध्वंसकारी सुनियोजित योजनामा र इन्डियन रणनीतिमा ती सबै उद्योगहरु कौडीको भाउमा बेचियो, अधिकांश त इन्डियन आप्रवासी धनाढ्यहरुलाई नै बेचियो ।
प्रकारान्तले देशमा बेरोजगारको संख्या चरम हुन थाल्यो र वैदेशिक रोजगारको नाममा योजनावद्द ढंगले नेपाली युवा युवतीहरुलाई कौडीकै भाउमा विदेशमा दास सरह बेच्ने धन्दा चलाइयो । त्यतिले नपुगेर, अलिक देशभक्त र स्वाभिमानी सोच भएका नेपाली युवा युवतीहरुलाई ‘साम्यवाद’को सपना बांडेर, साम्राज्यवाद र विस्तारवादविरुद्ध राष्ट्रवादको नारामा युद्दको लागि तयार पारियो । बाहिर साम्राज्यवाद र विस्तारवादविरुद्ध तयार पारिए पनि मूल नेतृत्व सारमा उसैको नयाँ र बफादार सेवक थियो, यो सूचना योजनावद्द रुपमा लुकाइयो ।
मान्छे मार्नु र मर्नु मात्रै क्रान्ति हो भन्ने हिंसावादतर्फ उन्मुख सो युद्दलाई अन्ततः युरोपेली चर्च, रअ र पृष्ठभुमिमा सिआइएका एजेन्टमार्फत बाह्रबुँदे दिल्ली सम्झौतामार्फत सुरक्षित अवतरण गराइयो ।
त्यसपछि मधेशमा खेल्दै कहिले सिके राउत जन्माइयो र मधेश अलग देश हो भन्न लगाइयो, कहिले एनजिओ चलाउने उपेन्द्र यादवलाई मदेशको मुक्तिदाताको रूपमा खडा गराइदिएर गौरको नरसंहार मच्चाउन लगाइयो । साम्यवादको सपना बोकेका अठ्ठाइस माओवादी युवा युवतीहरुको नरसंहार भएको सो घटनापछि कैयौंपटक सरकार फेरियो, संविधान जारी भो, तर विद्रोहका नाइके र मुक्तिदाताहरु तिनै उपेन्द्र यादवहरुसंग घाँटी जोडेर सत्तासिन भए, माओवादका नाममा र आफ्ना मुक्तिदाता क्रान्तिनायकका नाममा मर्ने केवल मृतकबाहेक अरु केही भएनन् । यतिले पुगेन जात–जातबीच जर्बजस्त बिभाजन ल्याउन तालिमप्राप्त जासुस बाबुराम भट्टराईहरुमार्फत पश्चिम नेपालमा हिंसा भड्काइयो, देशका विभिन्न भागमा नेपाली–नेपाली मराउने, लखेट्ने घटनाहरु घटाइए ।
एनजिओ र आइएनजिओको फन्डिङ भएको एमाले झुन्डलाई ट्याप्प टिपेर र निरीह बन्दै गएका तथाकथित क्रान्तिनायकको खुस्कदो झुन्डलाई च्याप्प समाएर अनि ‘नयाँ एकता’को कथा रचियो र पृष्ठभुमिमा एमसिसिको खेल तयार पारियो ।
यि सबै चिजहरु अध्ययन गरेपछि सबै नेपालीले बुझ्नुपर्ने यी सारभूत कुरा निम्न छनः
१. अहिलेसम्मका दलिय अभ्यास र आन्दोलन प्रायोजित हुन् ।
२. नेपालको संकट विदेशीहरुको स्वार्थका कारण उत्पन्न संकट हुन् र ती सबै चीनविरुद्ध उनीहरुको रणनीतिका कारण थोपरिएका संकट हुन् ।
अहिलेको सघन संकट समाधान गर्नका लागि राष्ट्रिय स्तरमा सुगौली सन्धीदेखि अहिलेसम्मको नवदासत्व युगको अन्त्य, विदेशी भुमिमा विकसित विचारको यान्त्रिक प्रयोगको सट्टा आफ्नै माटो सुहाउँदो मौलिक नेपाली विचारमा आधारित रहेर सबै क्षेत्रमा पुर्नजागरण आन्दोलन र मौजुदा दलहरुको ‘अन्तिम लक्ष्य सत्ता र दल नै ठूलो’ भन्ने आत्मघाती सिद्दान्तका विपरीत ‘राष्ट्र सबैभन्दा पहिले’ भन्ने सिद्धान्तमा एकजुट भै नेपाल र नेपालीको भलो चाहने अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरुसंगको सहकार्य र आपसी सद्भावपूर्ण सम्बन्धको विकासद्वारा सबै देशभक्त र राष्ट्रवादी नेपालीहरु एकतावद्द हुन जरुरी छ ।





