बागलुङ, १२ फागुन– गत सोमबारदेखि बागलुङमा पेन्सन क्याम्प सुरु भएको छ । कोरोना भाईरस महामारीका कारण रोकिएको क्याम्प एक बर्षपछि सोमबारदेखि केही दिनका लागि सुरु भएको हो ।
यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भुपु सैनिकहरुको उल्लेख्य उपस्थिती रहेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प एक वर्षको अन्तरालमा चलेको हो । ‘कोभिड महामारीका कारण अघिल्लोपटक क्याम्प बस्न सकेन्’ भारतीय सेनाका ले. क. सशान्त त्रिपाठीले भने ‘अध्यावधिका लागि यसपटक क्याम्प सञ्चालन गर्ने निधोमा पुग्यौं ।’
केही वर्ष पहिले क्याम्पबाट भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर अहिले भने आँफु ज्यूदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सनपट्टा दाखिलाको काम भैरहेको छ । ‘कोरोना महामारी भनेर हामीले छ महिनामा हुने क्याम्प रोकेका थियौं, अहिले सडकभरी मान्छे भएपछि क्याम्प रोक्नुपर्ने देखिएन्’ त्रिपाठीले भने ‘यो नियमित प्रक्रिया हो ।’ लामो समयपछि क्याम्प चलेकाले अधिकांश भूतपुर्व सैनिकहरु भेला भएका छन् । बागलुङ नगरपालिका–३ गुठीमा भूपुहरुको ठुलो भिड लागिरहेको छ ।
एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निबृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भएपनि आर्थिक चाप छैन् । फागुनको १० गतेबाट सुरु भएको क्याम्प फागुनको १४ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी गोपाल सिंह थापाले बताए ।
सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट करिब ८० करोड वितरण हुन्थ्यो तर गत बर्षदेखि भने बैंक खातामै रकम जम्मा हुने भएकाले रकम वितरण भने क्याम्पमा हुने छैन । सैनिक बोर्डका अनुसार, साविकको धौलागिरी अञ्चलमा ८ हजारभन्दा धेरै पेन्सनर रहेका छन् ।
भारतीय सेना र भारतका विभिन्न संघसंस्थाबाट अवकाश प्राप्त भुपुलाई पेन्सन दिनका लागि हरेक वर्ष नविकरण गर्ने प्रक्रिया छ । बैंक खातामा पेन्सन आउने भएपनि पेन्सनरहरु भने लाईन लाग्ने गरेका छन् । ‘हरेक अंग्रेजी महिनाको अन्तिम दिन पेन्सन खातामा आउँछ’ थापाले भने ‘खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।’ पेन्सन खातामा जम्मा भएको रकममा व्याज प्राप्त हुने भएपनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाई छ ।
बागलुङमा क्याम्प बस्ने बेला नविकरण नभएमा पोखरा पुग्नुपर्ने भएकाले पनि धेरै भीड हुने गरेको त्रिपाठी बताउँछन् । ‘विशेष गरेर पेन्सनरको मृत्यु भयो र उहाँको श्रीमतीको नाममा नामसारी गर्नुपर्ने भएमा क्याम्पले धेरै सहयोग गर्छ’ उनले भने ‘कागजी सबै काम हामी मिलाउँछौं, पेन्सन सबैको खातामै जम्मा हुने व्यवस्था भएको छ ।





