बागलुङ, १२ फागुन– गलकोट नगरपालिका–७ मल्मको मुलपानी आमा समुहले यो बर्ष जोडेको सम्पत्ति चार मुरी आलु हो । कात्तिकमा लगाएको दश पाथी आलुले चार मुरी फसल दिएपछि समुहमा आबद्ध सबै आमाहरु खुसी छन् ।
घरको खर्च टार्नकै लागि हरेक बर्ष आफ्नो खेतबारीमा आलु खेती गर्दै आएका समुहका सदस्यहरुले यो बर्ष समुहमा खेती गरे । समुहको सक्रियतामा लगाईएको आलु राम्रो फलेपछि आम्दानी बढ्ने पक्का छ ।
स्थानीय सरकारले महिलाहरुको सशक्तिकरणका छुट्याएको बजेट सदुपयोग गर्दा यहाँका महिलाहरुले आलुको राम्रो फसल लिएका हुन् । मल्ममा १४ वटा समुहले दश पाथीका दरले आलु लगाएका छन् ।
बिगतमा महिलाको लागि भनेर छुट्याईएको बजेट, गोष्ठी, सेमिनार र बैठकहरुमा सकिन्थ्यो । हरेक बर्ष बजेट पाउँदा पनि महिलाको आर्थिक अवस्था उस्तै रहेपछि यस बर्ष महिला समुहले नयाँ प्रयास थालेका हुन् । वडाले महिलाका लागि छुट्याएको ७५ हजार रुपैयाँ बजेटले ताराखोलाको आलुको बिउ महिला जागरण केन्द्र मल्मले ल्याएर बाँडेको हो । सबै समुहले लगाएको आलु चारदेखि ६ मुरीसम्म फलेको छ ।
‘पहिले देखिने गरी केहि हुने थिएन्, यसपटक आलु लगाएको राम्रो आम्दानी हुने देखेका छौं’ मिलिजुली आमा समुहकी अध्यक्ष टिका सहानीले भनिन् ‘अहिले सबै बेचेर पैसा राख्छौं, अर्को बर्ष त्यहि पैसाले धेरै बिउ किनेर समुहमा लगाउँछौ ।’ समुहकै सदस्यका बाँझो रहने जमिनमा उनीहरुले खेती गरेका थिए । अहिले बिउपूँजी जम्मा गरेर अर्कोबर्ष व्यवसायीक उत्पादन गर्ने योजना रहेको उनले सुनाईन् ।
‘अभिमुखीकरण भनेर सकेको भएपनि थोरै पैसा यसै जान्थ्यो तर हामिले आम्दानीका लागि बिउ खोज्यौं’ महिला जागरण केन्द्र मल्मकी अध्यक्ष ललिता थापाले भनिन् ‘यो सामूहिक आम्दानीको सुरुवात हो, अहिले फलेको आलुको मुल्य सबै बिउमा लगाउँदा अर्को बर्षदेखि समुह आर्थिक रुपमा सवल हुन्छन् ।’ समुहमा जम्मा हुने रकम ऋणधन गर्ने भएकाले महिलाहरुको दैनिकी चलाउन सहज हुने थापाले बताईन् ।
ताराखोलाको आलु स्वादिलो हुने भएकाले बजारमा राम्रो माग छ । मल्मका केही आमा समुहले उत्पादित आलुलाई एक पाथीको २ सय रुपैयाँका दरले बिक्रीसमेत गरेका छन् । ‘अर्को बर्षको बजेट पनि आम्दानी हुने क्षेत्रमै खर्च गछौं’ थापाले भनिन् ‘महिलाहरुले सामूहिकतामा विश्वास गरेर आम्दानी बढाउनु छ ।’
मल्मका महिलाले थालेको आम्दानीसँग जोडिने अभियान अन्य क्षेत्रका महिलाका लागि सिकाई हुने महिला जागरण केन्द्र मल्मकी उपाध्यक्ष थुमकली थापाले बताईन् । वडा कार्यालयले लक्षित वर्गका लागि छुट्टाएको २ लाख ५० हजार बजेटमध्ये महिला र दलितका लागि ३०÷३० प्रतिशत र जनजाती तथा अपांगता भएकाहरुको लागि २०÷२० प्रतिशतका दरले बाडफाँड गरेका थिए । जनजातीका लागि छुट्याईएको रकमले च्याउ खेती तालिम दिईएको छ ।





