मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रे बिछ्यान सुरु

बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रे बिछ्यान सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

बागलुङ, १३ फागुन– लामो समयदेखि सर्वसाधारणको चासोमा रहेको बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको काम सुरु भएको छ । स्तरोन्नतीको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्रे बिछ्याउन सुरु गरेको हो ।
बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्ड कालोपत्रे हुँदैछ । गण्डकी प्रदेश सरकारको लगानीमा यो सडक कालोपत्रे हुन थालेको हो । ‘पाग्जामा प्राईमकोट हाल्ने काम सकिएको छ, अब पहिलो चरणको कालोपत्र हुन्छ’ एमएस प्यासेफिक कर्ण विल्डर्सका साईड सुपरभाईजर सन्दिप श्रेष्ठले भने ‘तीन चरणमा काम हुने भएकाले डेढ महिनामा काम सकिन्छ ।’
यो सडक ट्रयाक खुलेको दुई दशकपछि कालोपत्रे हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्रे हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज हुनेछ । अहिले सडकमा सवारीको आवागमन रोकेर प्राईमकोट बिछ्याउने काम भैरहेको छ ।
‘पहिलो चरणको प्राइमकोट राखेपछि सवारी चल्न दिन्छौं’ श्रेष्ठले भने ‘प्राइमकोट (अलकत्रको घोल) नसुक्दासम्म धुलोले असर गर्ने भएकाले वैकल्पिक सडकबाट सवारी पठाईएको छ ।’ पहिलो चरणमा बागलुङ नगरपालिका वडा नं. १३ पाग्जादेखि वडा नं. १४ को पानी ट्याङ्कीसम्मको काम सकिने छ । दोस्रो चरणमा पानी ट्याङ्कीदेखि वडा नं. १२ को सरंगेसम्मको काम सकिने उनले बताए । २०७५ असारमा टेण्डर प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेबाट सुरु भएको थियोे ।
मालढुंगाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै ४ किलोमिटर सडक २०७३ सालमा कालोपत्रे भएको थियो । सडक विभागले पक्कि बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रेको काम सुरु भएको हो । पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघिनै कालोपत्रे भैसकेको छ ।
भौतिक पुर्वाधार मन्त्रालयको २६ करोडको लगानीमा यो सडक कालोपत्रे हुँदैछ । २०७८ साल असोज मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले पाँच महिना पहिलेनै काम सक्नेगरी धमाधम काम गरिरहेको हो । ‘अब अबरोधहरु छैनन्, दुई महिनाभित्रै हस्तान्तरण गर्छौं’ श्रेष्ठले भने ‘कोरोनाको अबरोध नभएको भए धेरै पहिला हस्तान्त्रण हुन्थ्यो ।’
सडक स्तरोन्नतीको काम दुई महिना पहिलै सकिएको भएपनि कालोपत्रेका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खनु परेको थियो । सडकमा कालोपत्रे बिछ्याउन थालेपछि स्थानीयमा खुसीयाली छाएको छ ।
तत्कालिन जिबिसले २०५४ मा निर्माण थालेको यो सडकखण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडकखण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांकसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआईडिपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->