बागलुङ, १४ फागुन– काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ ।
लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिएपनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका हुन् । देवघाटधामका संचालक ज्ञानानन्द सरस्वतीले लामो समयसम्म रामकोटको संरक्षण गरेका थिए । उनी देवघाट झरेपछि स्थानीय तह, प्रदेश र संघिय क्षेत्रको बजेट तथा कार्यक्रम नपरेको हो ।
ज्ञानानन्द सरस्वतीका गुरु प्रमानन्दसमेत यही जन्मेका थिए । बिहुँमा रहेको रामकोट र त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो मन्दिर भएको दाबी गरिएको छ । तर प्रवद्र्धनात्मक कार्यक्रम भने हुन सकेको छैन । ‘चालु बर्ष वडाको बजेटबाट सत्तल निर्माण र प्रमानन्द गुरुको शालिक राख्ने कार्यक्रम बनाएका छौं’ वडा अध्यक्ष शिवप्रसाद कंडेलले भने, ‘पालिकाबाट पनि बजेट पारेर पर्यटन प्रवद्र्धनका कार्यक्रम राख्ने भनेपनि बजेट परेको छैन ।’ शिवरात्री मेलामा यहाँ सयौं भक्तजन पुग्छन् ।
अग्लो स्थानमा भएकोले धेरै हिमाल र स्थानहरु देख्न सकिन्छ । यहाँ ५ हजार ५ सय ५५ केजीको शिवलिंगसमेत स्थापित छ । सयौं रोपनी जमिनको क्षेत्रमा रहेको यो मन्दिरसँगै जंगल र जंगली जनावर संरक्षित छन् । यहाँ चितुवा, मृग लगायतका जनावर र कालिज पंक्षी पनि पाइने स्थानीय भिष्म कंडेलले बताए । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा आवाधि पातालो भएकोले चोरी शिकारी बढेकोले संरक्षणका कार्यक्रम आवस्यक भएको उनले बताए ।
वडा तहको बजेटले सयौं रोपनी जमिनलाई घेराबार लगाउन नसकिने भएकोले गाउँपालिका र प्रदेश सरकारसम्म माग गर्नुपर्ने उनले बताए । ‘कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नैपर्ने भएको छ’ कंडेलले भने, ‘धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयोभने अर्बौको सम्पत्ती नष्ट हुनेछ ।’ यहाँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङगीलाई दिने गरेको जानकारहरु बताउँछन् । सयौं चराहरु मानिसझै आएर आश्रममै बस्ने गरेकोले त्यही दृश्य हेर्न पनि धेरै पुग्ने गरेका छन् ।
गाउँपालिका अध्यक्ष अमर थापाले पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने बताए । ‘प्रदेश तहबाट सहयोगको अपेक्षा गरिएकोले पालिकाको लगानी भएको छैन’ थापाले भने, ‘स्तरीय सडक बनाउने काममा काम थाल्छौं ।’ अहिले यहाँ पुग्ने कच्ची सडक छ । बेला बेला भत्कने भएकोले चाहेरपनि सबै सवारी साधन पुग्न सक्दैनन् ।
नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव पठाएकोमा सुनुवाइ नभएको थापाले बताए । रामकोट नजिकै शिवधुरी होमस्टे पनि संचालनमा छ । उक्त होमस्टेमा बस्ने गरी पर्यटक भित्राउने योजना सार्वजनिक गर्न स्थानीयले पनि पालिका तहमा आग्रह गरिरहेका छन् ।





