बागलुङ, १५ फागुन– नयाँ पुस्तालाई सामाजिक सेवामा लगाउने, दैबि प्रकोपमा परेकालाई राहत र उद्दार गर्ने तथा प्राथमिक उपचारको क्षेत्रमा निरन्तर खटिने काममा रेडक्रसले अभिभावकको भूमिका खेलेको सरोकारवालाले बताएका छन् ।
शनिवार आयोजित नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३१ औं अधिवेसनको अबसरमा बोल्दै सहभागीले बिशुद्व सेवामा लाग्ने संस्थालाई सामाजिक रुपमै स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चम्पा खड्काले जहाँ पीडा, त्यहाँ रेडक्रस भन्ने भनाइलाई सबैले मनन गर्नुपर्ने बताइन् । उनले संस्थामा सधै सामाजिक धारणाको बिकास गरी रेडक्रसलाई राजनीतिबाट माथि राख्नुपर्ने सुझाव दिइन् ।
रेडक्रसले एक बर्षमा जिल्लाभित्र भएका दैविप्रकोपका घटनाका २ सय ४७ पीडितलाई सहयोग गरेको छ । बाढीपहिरो, आगलागी, चट्याङ र अन्य घटनाका पीडितलाई त्रिपाल, भाँडाकुँडा र लत्ताकपडा वितरण गरिएको उपमन्त्री मेषलाल शर्माले जानकारी दिए ।
आगामी एक बर्षमा कम्तिमा ३ सय युनिट रगत संकलन गरी वितरण गर्ने, एम्बुलेन्स सेवा दिने, भूकम्प तयारी कक्षा संचालन गर्ने, निशुल्क स्वास्थ्य र आँखा शिविर संचालन गर्ने कार्यक्रम अधिवेसनबाट पास गराएको छ ।
कार्यक्रममा दुई महिनाअघि कोरोना संक्रमणबाट निधन भएका रेडक्रसका मन्त्री विकास पौडेलको परिवारलाई राहत हस्तान्तरण र उत्कृष्ट शाखालाई सम्मान गरिएको थियो ।
सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, उपमन्त्री मेषलाल शर्माको संचालन र उपसभापति उषा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा राप्रपाका सहअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेत्रज्योती संघका अध्यक्ष भरत पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





