बागलुङ, १६ फागुन– स्वस्थानी ब्रत समाप्त गर्दै कालीगण्डकी नुहाउन गएका युवाहरुले कलशमा पानी भरे । केहीले ती कलश बोके । महादेवको स्वरुपमा सिंगारिए ।
अर्को समूहले कोरा कपडा पनि लगेको थियो । नुहाएर स्वच्छ भएपछि शनिबार कालीगण्डकी नदीको निरयघाटदेखि बाटो नाप्ने पर्व मनाइएको छ । बागलुङका नेवार समुदायमा झण्डै २ सय बर्षदेखि चल्दै आएको यो पर्व पछिल्लो १६ बर्षदेखि रोकिएको थियो । युवाहरुले चासो दिएर फेरी यसलाई चलनमा ल्याएका छन् ।
अविवाहित युवतीले योग्य बरका लागि स्वस्थानीको ब्रत लिएका हुन्छन् । उनीहरुको ब्रत माघशुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । सोही दिन अविवाहित युवाहरुले नदीमा नुहाएर बाटो नाप्ने काम गर्छन् । त्यसमा सहभागि युवाले कठिन यात्रा गर्नुपर्छ । तीमध्ये पनि भुईमै सुतेर नमस्कार गर्दै उठ्दै फेरी सुतेर बाटो नाप्दै उनीहरु नेपाल भाषा मंकाखलले निर्माण गरेको कुलमन्दिरमा पुगेर यो ब्रत तथा पर्व पुरा गर्छन् । नेपाल भाषा मंकाखलले यो अभियानलाई साथ दिएको छ । कार्यक्रम नेवा ः ल्याम्ह पुचले आयोजना गरेको थियो ।
लामो समयपछि भएकोले यो पर्व देखेर बजारबासी अनौठो मानेर हेरेका थिए । शनिबार उनीहरुले कठिन यात्राकासाथ बाटो नाप्ने काम सम्पन्न गरे । असिनपसिन भएपनि उनीहरुले आफ्नो संस्कृति जोगाउने र योग्य बरको रुपमा देखिनका लागि यो काम गरेको संस्कृतिकर्मी तथा साहित्यकार प्रेम छोटाले बताए ।
‘युवाको क्षमता देखेर योग्य बधु भेटियोस भन्ने भित्री रहस्य लुकेको छ’ उनले भने, ‘स्वस्थानी ब्रत पूर्णताका लागि पनि यो धार्मिक कार्य हो ।’ नेवारी परंपरामा चलिआएकोले यो विशिष्ट प्रकारको संस्कृति पनि भएको उनले बताए ।
यस्ता पर्वहरुलाई निरन्तरता दिएर जोगाउनुपर्ने युवा व्यवसायी निलेश राजभण्डारीले बताए । ‘लामो समयदेखि यो काम भएको थिएन, तर अहिले गर्न सकियो’ उनले भने, ‘कठिन काम भएपनि नेवारी संस्कृति जोगाउन पाइयो ।’ यो अभियानमा स्वस्थानीको भजन गाउने, रथ यात्रा गर्ने, जल, फूलप्रसाद र भेटी चढाउने तथा किसोरहरुले नदीबाट ल्याएको जल सेचन गर्ने कामकालागि बाटो नाप्ने पर्वमा मानिसको भीड लागेको थियो ।






