बागलुङ, १६ फागुन– ३९ औं मगर संघ स्थापना दिवश बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । शनिवार बागलुङ बजार, बुर्तिवाङ लगायतका स्थानमा मगर दिवशको विभिन्न क्रियाकलाप सम्पन्न भएका हुन् ।
सदरमुकाममा सयौंको ¥याली निस्केर बजार परिक्रमा गरेपछि सभामा परिणत भएको थियो । मगरसंघ बागलुङको भवनमा आयोजित सभामा संघका गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश थापा मगरले मगरको पहिचान अब सबैले खुलाउनुपर्ने आबस्यकतामा जोड दिए ।
‘मगर इतिहास भाषा संस्कृति, र धर्म संरक्षण सम्बद्र्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नाराका साथ आयोजित दिवशमा सहभागिले जातीय पहिचान बढाउन नसक्दा राज्यका हरेक निकायमा पछाडि परिएको टिप्पणी समेत गरेका थिए । मगर सेवा समाज गुठी बागलुङ,करबाकेली पुन समाज बागलुङ,मिलिजुली आमा समूह बागलुङ, देउराली आमा समूह बागलुङ, उद्यमशिल मगर महिला समूह बागलुङ, नेपाल मगर सास्कृतिक संघ र नेपाल मगर बिद्यार्थी संघले संयुक्त रुपमा दिवश मनाएका थिए ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवी राना मगरले सोझो भएकै कारण मगरहरु राज्यको पहुँचमा पुग्न नसकेको बताए । उनले दलमा समाहित भएकै कारण मगरको हित संरक्षण नभएको पनि टिप्पणी गरे । ‘मगरहरुकै संस्थाबाट अगाडि बढ्नुपर्नेमा कांग्रेस, कम्प्युनिष्ट भनेर लाग्दा मुद्दाहरु ओझेल परेका छन्’ उनले भने, ‘अब दलको झोला बोकेर नभइ आँफै अगाडि बढेर अधिकार स्थापित गर्नुपर्छ ।’ तर कार्यक्रममा सहभागि अन्य केहीले भने नीति निर्माणको तहमा दलकै सदस्य भएर जानुपर्ने र बरु दलभित्र पहुँच बिस्तार गर्नुपर्ने धारणा पनि राखेका थिए ।
राष्ट्रिय जनगणनामा मगरहरुको वास्तविक संख्या निर्धाणरणकालागि समयमै ध्यानदिन वक्ताहरुले सचेत गराए । थापा, घर्ती, राना लगायतका धेरै थर लेख्नेहरुले मगर नराख्दा जातीय पहिचानको संख्यामा फरक परेको उनीहरुको दावी थियो । त्यस्तै लोकसेवा आयोगले खुलाएको बिज्ञापनमा कोटा खोसिएको समेत उनीहरले टिप्पणी गरे । देशभरका पालिकामा बिभाजन गरेर कर्मचारी माग गर्दा थोरै संख्यामा कोटा दिन नसकिने भन्दै आरक्षण हटाएको उनीहरुको आरोप थियो । एकमुष्ट कर्मचारी माग गर्दा कोटामा आरक्षण समूहले लड्न पाउने अबस्था खोस्न नपाइने समेत उनीहरुले चेतावनी दिए ।
नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापा मरको अध्यक्षता, नेपाल मगर बिद्यार्थी संघका जिल्ला अध्यक्ष सागर घर्तीको संचालन र देउराली आमा समूहकी अध्यक्ष तनसरी रोकाको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्ती मगर, नेपाल मगर बिद्यार्थी संघ गण्डकीका अध्यक्ष बिष्णु आले, महिला अधिकारकर्मी कुशुम बुढा, काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शनिवारै बुर्तिवाङ स्थित नेपाल मगरसंघले निर्माण गरेको मगर सास्कृतिक संग्राहलयको उद्घाटन समेत गरिएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर लगायतका नेता सहभागि भएर संग्राहलय उद्घाटन गरेका हुन् । उनीहरुले संग्राहलय बनाउनु मात्र ठूलो नभइ संरक्षण गरेर भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सक्नु ठूलो भएको बताए ।





