बागलुङ, १६ फागुन– स्वास्थ्य इकाईमा आएका बिरामीको सुविधाका लागि यहाँको एक वडाले प्रशासनिक खर्च कटाएर शौचालय र स्नानघर निर्माण गरेको छ । ढोरपाटन नगरपालिका–४ ले वडाको प्रशासनिक खर्च कटाएर स्नानघरसहितको शौचालय निर्माण गरेको हो ।
स्वास्थ्य संस्था नरहेको वडामा स्थापना भएको सामुदायीक स्वास्थ्य इकाईमा पूर्वाधारको अभावमा शौचालय थिएन । नयाँ भवन बनाएर शौचालय र स्नानघर निर्माणका लागि वजेट नभएपछि वडा कार्यालयको सञ्चालन खर्च कटौती गरेर शौचालय निर्माण गरिएको वडा अध्यक्ष तिलक पुनले बताए ।
नगरपालिकाबाट वडा कार्यालय सञ्चालन गर्न विनियोजन भएको १२ लाख रुपैयाँ मध्येबाट ४ लाख २० हजार शौचालय निर्माणमा खर्च गरिएको हो । स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर सञ्चालन हुने भएपनि, स्नान गृृहसहितको शौचालय अवश्यक रहेको अध्यक्ष पुनले बताए ।
स्वास्थ्य इकाई अहिले बर्थिङ सेन्टरसहित सुविधायुक्त भवनबाट सेवा प्रवाह भइरहेको छ । गण्डकी प्रदेश सरकारको १६ लाख ६३ हजार, ढोरपाटन नगरपालिकाको ५ लाख र जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको हो ।
दुर्गममा स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका जनतालाई सहज सेवा आफ्नो पहुँचसम्म पुगेको स्थानीय गनबहादुर फगामीले बताए । वडाको स्वास्थ्य चौकी जानुभन्दा, बुर्तिबाङ जान सजिलो हुने उनको भनाई थियो । अहिले गाउँमै सेवा प्रवाह भयो, सबैले सहज सेवा पाउँछन्, फगामीको भनाई छ ।
वडाको छोरेगाउँमा एउटा स्वास्थ्य चौकी छ । स्वास्थ्य सेवाका लागि लुकुरवन, फलामखानीलगायतका स्थानबाट पैदल हिंडेर ३ घण्टा लाग्ने गरेको फालामखानीका स्थानीय जीवन विश्वकर्माले बताए । स्थानीयको माग अनुसारनै इकाई स्थापना गरिएको हो ।
खुँगाको धिरीमा निर्माणधिन स्वास्थ्य इकाईबाट प्राथमिक उपचार, चेकजाँच र प्रसुति सेवासमेत सञ्चालनमा आएको छ । प्रसुति सेवा सञ्चालन गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजनाबाट २ लाख ३० हजार बरावरको उपकरण उपलब्ध भएको छ । दुर्गममा स्वास्थ्य सेवा विस्तार भएपछि जनताको सहजतामा रहने खुँगा स्वास्थ्य चौकीका डा. चन्द्रबहादुर विश्वकर्माले बताए ।





