बागलुङ, १७ फागुन– सरुवा भएर जान लागेका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नदी दोहन र अबैध रुपमा संचालित क्रसरलाई व्यवस्थित बनाउने काममा सफलता पाएको दावी गरेका छन् ।
बिदाइ हुनेक्रममा आयोजित पत्रकार भेटघाटमा न्यौपानेले वातावरणीय प्रभाव प्रतिवेदन बनाएपछि त्यही प्रतिवेदनले तोके अनुसारको सामाग्री उत्खनन् गर्ने काममा धेरै सफलता पाएको बताए । उनले बागलुङ नगरपालिकाबाट कतिपय बिषयमा सोचेजती सहयोग नपाएर अझै केही समस्या सुल्झाउन नसकेको पनि बताए ।
गलकोटका दुइ क्रसरलाई नियमत गरिएको, नदीजन्य बस्तुलाई एस्काभेटर लगाएर निकाल्ने काममा पूर्णरुपमा बन्देज गरिएको समेत उनले बताए । पर्वत खण्डमा भने अझैपनि दोहन भैरहेकोले पत्रकारको कलम निरन्तर चल्नुपर्ने धारणा राखे ।
गत साउन ४ गते बागलुङ आएका प्रजिअ न्यौपानेको छोटो समयमै सरुवा भएको हो । सरुवा भएर सिन्धुली पुगेका न्यौपानेले छोटो अवधिमै ३३ वटा मुद्दा फैसला गरेको बताए । कार्यकालमा लोकमार्गको निर्माणलाई तीब्रता दिन पहल गरेको बताए । कीर्ते नागरिकता छानविन समिति गठन, सबै कार्यालयमा सूचना अधिकारी राख्न पहल, अनुमतिले मात्रै ड्रोन उडाउने अनुमति जस्ता काम गरेको फेहेरिस्तपनि उनले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहायक प्रजिअ उपेन्द्रराज पौडेलले गुण्डागर्दी बिरुद्ध प्रशासन सधै सक्रिय रहने भन्दै शान्ति सुरक्षा चुस्त बनाउन पहल गर्ने बताए । प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले बिदाइ मन्तव्य राखेका थिए ।





