बागलुङ, १८ फागुन– पूर्वि रुकुम र बागलुङको सिमानामा निर्माणाधिन संरचनाहरु रोकिएपछि बढेको विवाद समाधानका लागि दुई जिल्लाका पदाधिकारीबीच छलफल भएको छ ।
छलफलले सिमाना विवाद टुंगो लगाउने तयारी गरेको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि बागलुङ र रुकुम सिमानाको पातीहाल्ने नजिकै बन्न थालेका संरचना र सिमानाबारे विवाद उत्पन्न भएको थियो ।
केही समयदेखि बढेको विवाद समाधानका लागि संघिय सांसद कमला रोका, गण्डकी प्रदेशका सांसद खिम बिक्रम शाहीसहित दुवै जिल्ला समन्वय प्रमुख र उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका अधिकृतहरु, बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष तथा रुकुमको भूमे गाउँपालिकाका अध्यक्षसमेतले छलफल गरेर चैतभित्र विवाद समाधान गर्न अन्तिम प्रयास गरेका हुन् ।
भेलाले दुवै जिल्लाका सिमा जोडिएका पालिकाका अध्यक्ष, सिमानाका वडा अध्यक्ष, नापी अधिकृतसमेत रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले एक महिनाभित्रै प्रतिवेदन बनाएर दुवैको साझा सहमतिको बिन्दु पहिल्याउने जिम्मा पाएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
मध्यपहाडी लोकामार्गले दुई जिल्लालाई जोडेपछि सिमानाको देउराली क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । त्यसैले त्यहाँ पछिल्लो समय व्यवसायका लागि धेरै संरचनाहरु निर्माण हुने क्रम पनि बढेको छ । पहिला पाखो तथा जंगली क्षेत्र भएकोले चासो नभएपनि अहिले घरघडेरीको रुपमा बिक्री हुन थालेपछि सिमाना विवाद भएको हो ।
कार्यदललाई भूमे र निसीखोला गाउँपालिकाको समग्र वस्तुगत चित्र तयार गर्ने जिम्मा दिइएको छ । ‘साझा र समग्र विकास गर्ने योजनाहरु निर्माण गर्ने र दुवै जिल्लाबासीलाई अपनत्व हुने बनाउन लगाइएको छ’ ढुंगानाले भने, ‘पर्यटकीय क्षेत्रको विकासमा दुवै जिल्लाले संघिय सरकारसम्म योजना माग गरेर विकासका पूर्वाधार निर्माणमा साथ दिने भनिएको छ ।’
प्राविधिक रुपमा मान्य हुने बनाउन कार्यदलले दुवै पालिकको तर्फबाट एक÷एक जना बिज्ञ नियुक्त गर्नेछन् । बिज्ञ र नापीका अधिकृतहरुको अध्ययनले वास्तविक सिमाना पनि छुट्याउने छ । त्यसबाहेक पातीहाल्ने क्षेत्रलाई पर्यटकीय महत्वको क्षेत्र बनाउन चाहिने योजना पनि निर्माण गरिने बताइएको छ ।
केही समयअघि यहाँ निर्माण भएका संरचना भत्काउने घटना भएका थिए । सिमानामा परेकोले कुन जिल्ला वा पालिकाले हेर्ने, नक्सा पास कसले गर्ने जस्ता समस्या पनि उत्पन्न भएका थिए । त्यसैले छिट्टै समस्याको समाधान गर्ने भनेर टोली गएर रुकुमको भूगोलमा छलफल भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
आगामी बैठक भने बागलुङको निसीखोलामा आयोजना गर्ने टुंगो लागेको छ । ‘यसअघि अलि आक्रामक र चुनौती जस्तो देखिएको समस्या अहिले भने सहज हुने अवस्थामा पुगेको छ’ ढुंगानाले भने, ‘दुवै जिल्लाका सांसद र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तहबाट पनि छलफल गरिएकोले सहमतिको नजिक पुगेका हौं ।’ अबको बैठकले सिमाना विवाद अन्त्य गरेर सहज वातावरण बनाउने उनले बताए । वातावरण सहज भएपछि पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत संचालन हुने बताईएको छ ।
यो सिमानाको विवाद अन्त्य भएमा दुई जिल्लाका बासिन्दाबीच घाँसदाउरा गर्ने बेलामा समेत विवाद नहुने अवस्था आउने सहभागीले बताए । केही वर्षअघि पनि यो क्षेत्रमा घाँसदाउरा गर्ने क्रममा झगडा हुने गरेको थियो । वास्तविक सिमाना पत्ता नलाग्दा भएको समस्या प्राविधिक रुपमै टुंगोमा लैजानुपर्ने प्रजिअ न्यौपानेले बताए ।





