बागलुङ, १८ फागुन– राष्ट्रिय जनमोर्चा (राजमो) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ बागलुङको बुर्तिबाङ शाखा समिति गठन गरेको छ । संघको जिल्ला कार्य समितिले बागलुङ जिल्लाका तीन स्थानमा शाखा समिति गठन गर्ने निर्णय अनुसार, अहिलेसम्म दुई स्थानमा शाखाको समिति गठन गरिएको संघका जिल्ला अध्यक्ष राम सुवेदीले बताए । जिल्लाको पश्चिम क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका प्रगतिशील पत्रकारहरुको मंगलबार भएको भेलाले, मिलन हमालको अध्यक्षतामा ७ सदस्यीय बुर्तिबाङ शाखा गठन गरेको हो । जसको उपाध्यक्षमा तिलक बुढामगर, सचिवमा प्रशान्त घर्ति मगर, कोषाध्यक्षमा अशोक छन्त्याल, सह सचिवमा टिकाराम भट्टराई र अन्य सदस्यहरुमा रेशमलाल भट्टराई, प्रकाश बुढामगर रहेका छन् ।
शाखा समितिको सल्लाहकारमा लोकेन्द्र सुनार र राम सुवेदी रहेकाछन् । संघको निर्णय अनुसार यस अघि बरेङमा शाखा समिति गठन भइसकेको छभने बागलुङ र जैमिनीमा गठनको प्रक्रियामा रहेको जिल्ला समितिका सचिव विजय रानाले बताए । शाखा गठनपछि जिल्ला समितिको भेला आयोजना हुनेछ । जिल्ला कार्य समितिको समेत पदावधि सकिएकाले तत्काल जिल्ला भेलाबाट नयाँ कार्य समिति चयनहुने रानाले जानाकारी दिए । प्रगतिशील पत्रकार संघ बागलुङले जिल्लाका विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई संगठित गर्दै लैजाने गरि शाखा समिति गठन गर्न थालेको संघका अध्यक्ष सुवेदीले बताए ।





